आयकर प्रयोजनको निमित्त प्रचलित कानुन बमोजिम दर्ता गरिएका सङ्गठित संस्था, जस्तै, प्राईभेट लिमिटेड कम्पनी, पब्लिक कम्पनी, संस्थान, संघ (Association), गैर सरकारी संस्था (NGOs), अन्तर्राष्ट्रिय गैर सरकारी संस्था (INGOs) जस्ता संस्थाहरू समेत कम्पनी मानिने छन् । अर्को शब्दमा एकलौटी फर्म र बीस भन्दा कम साझेदार रहेको साझेदारी फर्म बाहेकका जुनसुकै सङ्गठित संस्थाहरू कम्पनी मानिन्छन्।
ढ) कर
“कर” भन्नाले यस ऐन बमोजिम लाग्ने कर सम्झनु पर्छ र सो शब्दले देहाय बमोजिमका भुक्तानीलाई समेत जनाउँछ :–
(१) कर बक्यौता रहेको व्यक्तिको सम्पत्तिका सम्बन्धमा दाबी र लिलाम बिक्री बापत विभागले गरेका दफा १०४ को उपदफा (८) को खण्ड (क) मा उल्लिखित खर्चहरू,
(२) अग्रिम कर कट्टी गर्ने व्यक्ति वा कर कट्टी हुने व्यक्तिले दफा ९० बमोजिम बुझाउनु पर्ने रकम वा किस्ताबन्दीमा दाखिला गर्ने व्यक्तिले दफा ९४ बमोजिम बुझाउनु पर्ने रकम वा अग्रिम कर दाखिला गर्नुपर्ने व्यक्तिले दफा ९५क. बमोजिम बुझाउनु पर्ने रकम वा दफा ९९, १०० र १०१ बमोजिम कर निर्धारण भए अनुसार बुझाउनु पर्ने रकम,
(३) दफा १०७ को उपदफा (२), दफा १०८ को उपदफा (३) वा (४), दफा १०९ को उपदफा (१) र दफा ११० को उपदफा (१) बमोजिम तेस्रो पक्षको कर दायित्वको सम्बन्धमा विभागलाई बुझाउनु पर्ने रकम,
(४) शुल्क तथा ब्याज बापत बुझाउनुपर्ने परिच्छेद २२ बमोजिमको रकम, र
(५) विभागले आदेश दिए बमोजिम दाखिला गर्नुपर्ने दफा १२९ बमोजिमको जरिवाना रकम ।
- ऐनको दफा १०४ मा कर बक्यौता राख्ने व्यक्तिको सम्पत्तिमा नेपाल सरकारको दाबी रहने व्यवस्था रहेको र यस्ता सम्पत्ति दाबी र लिलाम बिक्री गर्दा विभागले गरेका खर्च सम्बन्धित कर बक्यौता राख्ने व्यक्तिबाट असुल गर्नसक्ने प्रावधान उपदफा (८) को खण्ड (क) ले व्यवस्था गरेकोले त्यस्ता खर्चहरूलाई समेत कर मानिने छ । लिलामीको सूचना सम्बन्धी खर्च, लिलामी गर्दा लागेका कानुनी खर्च आदि यस्ता खर्चको उदाहरण हुन्।
- ऐनको दफा ९० बमोजिम अग्रिम कर कट्टी गर्नुपर्ने व्यक्तिले अग्रिम कर कट्टी गरेको रकम र नगरेको भए पनि अग्रिम कर कट्टी गरेको मानिने कर कट्टी रकम सो महिना समाप्त भएको २५ दिनभित्र दाखिला गर्नुपर्दछ । यस्तो अग्रिम कर कट्टी भएको वा भएको मानिने रकम तोकिएको समयमा जम्मा नगरेमा वा अग्रिम कर कट्टी नगरी भुक्तानी प्राप्त भएको अवस्थामा भुक्तानीकर्ताले सो रकम सो महिना समाप्त भएको २५ दिनभित्र कर दाखिला नगरेमा प्रापकले भुक्तानीकर्ताले दाखिला गर्नुपर्ने म्याद (सो महिना समाप्त भएको २५ दिन) पश्चात २५ दिनभित्र अग्रिम करको रकम बुझाउनु पर्ने व्यवस्था छ । सो दफा बमोजिम दाखिला गर्नुपर्ने रकम समेतलाई कर मानिएको छ ।
- ऐनको दफा ९४ बमोजिम कुनै व्यवसाय वा लगानीबाट कुनै आय वर्षमा निर्धारणयोग्य आय भएको वा हुने व्यक्तिले किस्तामा कर दाखिला गर्नुपर्ने व्यवस्था गरेकोले त्यस्तो रकमलाई समेत कर मानिएको छ ।
- ऐनको दफा ९९ बमोजिम स्वयं कर निर्धारण गर्दा बुझाउनु पर्ने रकम, दफा १०० बमोजिम गरेको संशय कर निर्धारण गर्दा बुझाउनु पर्ने रकम एवम् स्वयं कर निर्धारण र संशय कर निर्धारणमा दफा १०१ बमोजिम विभागले संशोधित कर निर्धारण गरेको अवस्थामा बुझाउनु पर्ने रकमलाई समेत कर मानिएको छ ।
- ऐनको दफा १०७ को उपदफा (२) बमोजिम कुनै निकायले कर बुझाई सक्नुपर्ने मितिसम्म कर नबुझाएमा सो निकायका तत्काल बहाल रहेका वा ६ महिना अघिसम्म बहाल रहेका सो निकायका व्यवस्थापक वा सो हैसियतमा कार्य गर्ने प्रत्येक अधिकृतहरू संयुक्त वा छुट्टाछुट्टै रूपमा सो कर बुझाउन जिम्मेवार हुने व्यवस्था रहेको र यस्तो रकमलाई समेत कर मानिएको छ ।
- दफा १०८ को उपदफा (३) तथा (४) बमोजिम कुनै प्रापकले कब्जा गरेको सम्पत्ति बिक्री गरी प्राप्त गरेको रकमबाट सर्वप्रथम अग्रिम कर कट्टी गरिएको कर रकम छुट्याउनु पर्दछ । तत्पश्चात अग्रिम कट्टी गरिएको कर बाहेक अन्य बक्यौता करको हकमा कर भन्दा अग्राधिकार पाउने सुरक्षित ऋण (Secured Creditors) भए सो भुक्तान गरी विभागले कर दाखिला गर्ने सूचना दिएको त्यस्तो कर रकम छुट्याउन र कर बुझाउन प्रापक जिम्मेवार हुनेछ । प्रापकले प्राप्त गरेको त्यस्तो रकमबाट अग्रिम करको रकम नछुट्टयाई भुक्तानी भएको रहेछ भने सो रकम प्रापकबाट असुल गरिने छ । प्रापकबाट सिधै वा निकायबाट प्रापक मार्फत दाखिला गरिने यस्तो रकमलाई समेत कर मानिएको छ । उपर्युक्त व्यवस्था तलको उदाहरणमा खुलाइएको छ ।
उदाहरण २.४ः मानौं, युक्त प्रसाद भन्ने व्यक्ति कुनै सीमित दायित्व भएको कम्पनी (Limited Liability Company) को लिक्विडेटरको रूपमा नियुक्त भएका रहेछन् । उक्त कम्पनीको लिक्विडेसनको अवस्थासम्ममा रु.१० लाख अग्रिम कट्टी गरिएको कर र रु.३० लाख अन्य कर बक्यौता रहेछ । उक्त कम्पनीको कर बक्यौता रहेको र कर दाखिला गर्ने सूचना विभागले निज प्रापकलाई दिइसकेको रहेछ । उक्त कम्पनीको सम्पत्ति बिक्री गरी लिक्विडेसनको खर्च कटाउँदा रु.एक करोड बाँकी भएछ । कर बक्यौता बाहेकका सो कम्पनीको रु.३० लाख सोही सम्पत्ति धितो राखिएको कर भन्दा अग्राधिकार पाउने कर्जा (Secured Loan) रहेछ र रु.५० लाख अन्य असुरक्षित दायित्व (Unsecured Liabilities) रहेछ भने निज प्रापकले सम्पत्ति बिक्री गरी प्राप्त गरेको रकमबाट लिक्विडेशनको खर्च कटाउनु अगावै रु.१० लाख अग्रिम कट्टी गरिएको कर चुक्ता गर्नुपर्दछ । तत्पश्चात लिक्विडेशन खर्च र कर भन्दा अग्राधिकार प्राप्त रु.३० लाखको सुरक्षित ऋण चुक्ता गरी बाँकी रहेको रकमबाट पहिला रु.३० लाख अन्य कर बक्यौता र त्यसपछि बाँकी रकम अर्थात रु.३० लाखबाट दामासाहीले अन्य असुरक्षित दायित्व चुक्ता गर्नुपर्ने हुन्छ ।
- दफा १०९ को उपदफा (१) बमोजिम कुनै कर बक्यौता राख्ने व्यक्तिले कर बुझाइ सक्नुपर्ने मितिसम्म कर नबुझाई बाँकी राखेमा त्यस्तो व्यक्तिलाई भुक्तानी दिने व्यक्ति वा बक्यौता राख्ने व्यक्तिको सम्पत्ति राख्ने व्यक्ति वा कर बक्यौता राख्ने व्यक्तिलाई बुझाउने गरी कुनै तेस्रो व्यक्तिको तर्फबाट सम्पत्ति राख्ने व्यक्ति वा कर बक्यौता राख्ने व्यक्तिलाई रकम बुझाउने अख्तियारी पाएको जुनसुकै व्यक्तिलाई विभागले लिखित सूचना दिएर कर बक्यौता राख्ने व्यक्तिको तर्फबाट बुझाउनुपर्ने कर दाखिला गर्न आदेश दिन सक्दछ । यसरी विभागलाई बुझाउनु पर्ने रकमलाई समेत कर मानिएको छ ।
- दफा ११० को उपदफा (१) बमोजिम कुनै कर बक्यौता राख्ने गैर बासिन्दा व्यक्तिले कर बुझाई सक्नुपर्ने मितिसम्म कर नबुझाई बाँकी राखेमा विभागले त्यसरी कर बक्यौता राख्ने व्यक्तिको स्वामित्वमा रहेको कुनै पनि सम्पत्ति आफ्नो कब्जामा राख्ने कुनै व्यक्तिलाई लिखित सूचना दिएर सो सम्पत्तिको बजार मूल्य बराबरको रकमबाट त्यस्तोकर बक्यौता राख्ने व्यक्तिले बुझाउनुपर्ने करको रकमभन्दा बढी नहुने गरी सो तेस्रो पक्षको कर दायित्व सम्बन्धमा कर बक्यौता राख्ने व्यक्तिको तर्फबाट सो सूचनामा उल्लिखित मितिभित्र कर बुझाउन आदेश दिन सक्नेछ । यस्तो रकमलाई समेत कर मानिएको छ ।
(ण) कर कट्टी हुने व्यक्ति,
“कर कट्टी हुने व्यक्ति” भन्नाले रोजगारी, लगानी प्रतिफल, सेवा शुल्क तथा ठेक्का वा करार समेतको भुक्तानी गर्दा परिच्छेद–१७ बमोजिम कर कट्टी गरी भुक्तानी प्राप्त गर्ने वा भुक्तानी प्राप्त गर्ने अधिकार भएको व्यक्ति सम्झनु पर्छ ।
कर कट्टी हुने व्यक्ति भन्नाले भुक्तानी प्राप्त गर्दा स्रोतमै कर कट्टा भई भुक्तानी प्राप्त गर्ने व्यक्तिलाई जनाउँछ । यसरी भुक्तानीमा कर कट्टी गर्ने व्यक्तिका सम्बन्धमा यसै परिच्छेदको बुँदा २.२ (क) मा प्रकाश पारिसकिएको छ र भुक्तानीमा कर कट्टी गर्नुपर्ने प्रावधान सम्बन्धी विस्तृत व्याख्या यसै निर्देशिकाको परिच्छेद १६ मा गरिएको छ ।
(त) कर निर्धारण
“कर निर्धारण” भन्नाले यस ऐन बमोजिम गरिने कर निर्धारण सम्झनु पर्छ र सो शब्दले दफा १२२ बमोजिम गरिएको शुल्क तथा ब्याजको निर्धारण समेतलाई जनाउँछ । तर यस शब्दले दफा १०१ बमोजिम संशोधित कर निर्धारणले प्रतिस्थापन गरेको साविकको कर निर्धारणलाई जनाउँने छैन ।
ऐनमा तीन किसिमको कर निर्धारणको व्यवस्था रहेको छः
(१) दफा ९९ बमोजिम स्वयं कर निर्धारण अर्थात कर दायित्व भएको व्यक्ति स्वयंले आफ्नो कर निधारण गर्ने (Self Assessment) व्यवस्था,
(२) करदाताले आय विवरण दाखिला गर्न पाउने समय अगावै कुनै आय वर्षको वा आय वर्षको अंशको दफा १०० बमोजिम संशय कर निर्धारण (Jeopardy Assessment) गर्ने व्यवस्था,
(३) स्वयं कर निर्धारण (दफा ९९) वा संशय कर निर्धारण (दफा १००) भएको व्यक्तिको करको दायित्व यस ऐनको उद्देश्य बमोजिम न्यायोचित आधारमा समायोजन गर्न विभागले संशोधित कर निर्धारण गर्ने व्यवस्था ।
यस दफा अन्तर्गत गरिने कर निर्धारणले साविकको करलाई प्रतिस्थापन गर्ने हुँदा संशोधित कर निर्धारण भएको अवस्थामा सो संशोधन अघि गरिएको स्वयं कर निर्धारण (दफा ९९) वा संशय कर निर्धारण (दफा १००) कर निर्धारण मानिने छैन । उपर्युक्त बाहेक ऐनले तोकेको म्यादभित्र स्वयं कर निर्धारण गरी आय विवरण पेश नगर्ने करदाताको हकमा आय विवरण पेश गर्नुपर्ने अन्तिम दिनमा स्वतः कर निर्धारण भएको मानिने व्यवस्था ऐनको दफा ९९(२) ले गरेको छ ।
ऐनको दफा १२२ बमोजिम विभागले गणना गर्ने शुल्क तथा ब्याज समेतलाई कर निर्धारण मानिएको छ । शुल्क तथा ब्याज सम्बन्धी निम्नानुसारको व्यवस्था रहेको छ:
(१) दफा ११७ बमोजिम कागजात नराखेमा वा ढिलो विवरण बुझाए बापतको शुल्क ।
(२) दफा ११८ बमोजिम किस्ताबन्दीमा कर दाखिला गर्नेले अनुमानित कर कम हुने गरी बुझाएमा लाग्ने ब्याज ।
(३) दफा ११९ बमोजिम कर नबुझाएमा लाग्ने ब्याज ।
(४) दफा ११९क. अनुसार यस ऐन र यस ऐन अन्तर्गत बनेका नियमका कुनै व्यवस्थालाई पालना नगर्ने व्यक्तिलाई लाग्ने शुल्क ।
(५) दफा १२० बमोजिम झुठ्ठा वा भ्रमपूर्ण विवरण दाखिला गर्नेलाई लाग्ने शुल्क ।
(६) दफा १२१ बमोजिम यस ऐनमा उल्लिखित कुनै कसुर गर्ने व्यक्तिलाई जानाजान वा लापरवाही गरी मद्दत गर्ने वा सहायता दिने वा प्रोत्साहन गर्ने वा सल्लाह दिने मतियारलाई लाग्ने शुल्क ।
(त१) कारोबार
“कारोबार” भन्नाले कुनै आयवर्षको रोजगारी, व्यवसाय वा लगानीको आय गणना गर्ने प्रयोजनको लागि दफा ७, ८ वा ९ बमोजिम समावेश गरिने जम्मा रकम बराबरको कारोबार सम्झनु पर्छ ।
(थ) गैर बासिन्दा व्यक्ति
“गैर बासिन्दा व्यक्ति” भन्नाले बासिन्दा व्यक्ति बाहेकको व्यक्ति सम्झनु पर्छ ।
बासिन्दा व्यक्ति बाहेक अन्यलाई गैर बासिन्दा व्यक्ति मानिएको र बासिन्दा व्यक्तिको व्याख्या यसै परिच्छेदको बुँदा २.२ (कङ) मा गरिएकोछ ।
(द) गैर व्यावसायिक करयोग्य सम्पत्ति
“गैर व्यावसायिक करयोग्य सम्पत्ति” भन्नाले देहायका सम्पत्ति बाहेकका जग्गा, भवन तथा कुनै निकायमा रहेको हित वा सुरक्षण सम्झनु पर्छ:–
(१) व्यावसायिक सम्पत्ति, ह्रासयोग्य सम्पत्ति वा व्यापारिक मौज्दात,
(२) कुनै प्राकृतिक व्यक्तिको निम्न अवस्थाको निजी भवन:–
(क) अविच्छिन्न दश वर्ष वा सोभन्दा बढी अवधि स्वामित्वमा रहेको, र
(ख) सो व्यक्तिले अविच्छिन्न वा पटक पटक गरी कुल दश वर्ष वा दश वर्ष भन्दा बढी बसोबास गरेको,
स्पष्टीकरणः यस उपखण्डको प्रयोजनका लागि “निजी भवन” भन्नाले भवन र भवनले ओगटेको क्षेत्रफल बराबरको जग्गा वा एक रोपनी जग्गामध्ये जुन घटी हुन्छ त्यसलाई सम्झनु पर्छ ।
(३) कुनै हिताधिकारीको अवकाश कोषमा रहेको हित,
(४) कुनै प्राकृतिक व्यक्तिकोदश लाखरूपैयाँभन्दा कम मूल्यमा निःसर्ग गरेको जग्गा, घरजग्गा तथा निजी भवन, वा
(५) तीन पुस्ताभित्र भएको खरिद बिक्रीबाहेक अन्य किसिमले हस्तान्तरण गरी निःसर्ग गरेको सम्पत्ति ।
कर प्रयोजनका लागि ३ वर्गका ५ प्रकारका सम्पत्ति मानिएका हुन्छन्।
- व्यवसायमा प्रयोग भएका सम्पत्ति: व्यापारिक मौज्दात, ह्रासयोग्य सम्पत्ति तथा व्यावसायिक सम्पत्ति (Trading Stock, Depreciable Assets and Business assets)
- लगानीमा प्रयोग भएका सम्पत्ति: गैर व्यावसायिक करयोग्य सम्पत्ति तथा ह्रासयोग्य सम्पत्ति
- व्यक्तिगत सम्पत्ति: प्राकृतिक व्यक्तिको व्यक्तिगत प्रयोजनका सम्पत्तिहरू
- प्राकृतिक व्यक्तिको स्वामित्वमा रहेको भवन निःसर्ग भएमा देहायका अवस्थामा मात्र गैर व्यावसायिक करयोग्य सम्पत्ति मानिन्छ:
१. अवधि: स्वामित्व अवधि र आफू बसोबास गरेको अवधि दश वर्षभन्दा कम भएको भवन
उदाहरण २.५ः मानौं, प्रेम प्रसाद आचार्यले काठमाडौंमा २०६२ साल कार्तिक २३ गते दुई करोड रूपैयाँ पर्ने एक भवन खरिद गरेका रहेछन् । निजले सो भवन २०७२ साल पुष २६ गते तीन करोड रूपैयाँमा बिक्री गरेका रहेछन् । निज २०६२ साल कार्तिक २३ गतेदेखि २०७२ साल पुष २६ गतेसम्म पटक पटक गरी कुल १२० दिन विदेश गएका रहेछन् । यस सम्पत्तिका सन्दर्भमा निज प्रेम प्रसाद आचार्य सो भवनको दश वर्षभन्दा बढीको स्वामी (Owner) भए तापनि सो भवनमा निज अविच्छिन्न वा पटक पटक गरी दश वर्षभन्दा कम बसोबास गरेको कारण उपर्युक्त भवन गैर व्यावसायिक करयोग्य सम्पत्ति मानिन्छ । तर निज प्रेम प्रसाद आचार्यलेउक्त भवन दुई महिनापछि बिक्री गरेको भए निजले पटक पटक गरी दश वर्षभन्दा बढी बसोबास गरेको अवस्था पनि पूरा हुने हुँदा सो भवन गैर व्यावसायिक करयोग्य सम्पत्ति मानिदैंनथ्यो ।
२. क्षेत्रफल: भवन मात्र बिक्री भएको वा जग्गासहितको भवन बिक्री भएको अवस्थामा जग्गाको क्षेत्रफल भवनले ओगटेकोक्षेत्रफल बराबर मात्र वा बढीमा १ रोपनी (५,४७६ वर्गफिट वा ५०८.७४ वर्ग मिटर) भन्दा बढी भएको।
उदाहरण २.५.१ः माथिको उदाहरणमा भवनमात्र भएको भए सो भवन र जग्गा सहितको भवन भएको भए भवनले ओगटेकोजग्गा वा एक रोपनीसम्मको जग्गामध्ये जुन घटी हुन्छ सो हदसम्मको सम्पत्ति गैर व्यावसायिक करयोग्य सम्पत्ति मानिदैंनथ्यो ।
३. रकम सीमा: निःसर्गको समयमा निःसर्ग बापत प्राप्त गरेको रकम वा प्राप्त गरेको मानिने रकम रु.दश लाख वा सोभन्दा बढी भएको।
उदाहरण २.५.२ः माथिको उदाहरणको भवन रु.दश लाखकममा बिक्री भएको भए पनि गैर व्यावसायिक करयोग्य सम्पत्ति मानिदैंनथ्यो ।
४. पुस्ता: निःसर्ग गरिएको भवन निःसर्ग गर्ने व्यक्ति र निःसर्गबाट प्राप्त गर्ने व्यक्तिबीचमा तीनपुस्ते सम्बन्ध रहेको र निःसर्ग केवल निःशुल्क हस्तान्तरण (पारिवारिक हस्तान्तरण) भएमा सो सम्पत्ति गैर व्यावसायिक करयोग्य सम्पत्ति हुदंैन । यहाँ हस्तान्तरण भन्नाले सामान्यतयाः अंशबण्डा, अपुताली, बकसपत्र, मृत्युपछिको हस्तान्तरण आदि पर्दछन् । तीनपुस्ता बाहेक अन्यबाट बकसपत्र जस्ता प्रक्रियाबाट हस्तान्तरण गरिएको सम्पत्तिको हकमा भने त्यस्ता सम्पत्तिलाई गैर व्यावसायिक करयोग्य सम्पत्ति मानिन्छ ।
उदाहरण २.५.२ः माथिको उदाहरणको भवन रु.दश लाखकममा बिक्री भएको भए पनि गैर व्यावसायिक करयोग्य सम्पत्ति मानिदैंनथ्यो ।
प्राकृतिक व्यक्तिको स्वामित्वमा रहेको जमिन निःसर्ग भएमा देहायका अवस्थामा मात्र गैर व्यावसायिक करयोग्य सम्पत्ति मानिन्छ:
१. रकम सीमा: निःसर्गको समयमा निःसर्गबापत प्राप्त गरेको रकम वा प्राप्त गरेको मानिने रकम रु.दश लाख वा सोभन्दा बढी भएको जग्गा गैर व्यावसायिक करयोग्य सम्पत्ति मानिन्छ ।
उदाहरण २.६ः मानौं, लक्ष्मी रिमाल भन्ने व्यक्तिले काठमाडौंमा २०७० मार्ग ३ गते बीस लाख रूपैयाँ पर्ने जग्गा खरिद गरेका रहेछन्। निजले सो जग्गा २०७५ आश्विन ६ गते पैंतालिस लाख रूपैयाँमा बिक्री गरेका रहेछन्। उपरोक्त जग्गाको बिक्री मूल्य दश लाख रूपैयाँभन्दा बढी भएको हुँदा उपरोक्त जग्गा गैर व्यावसायिक करयोग्य सम्पत्ति हो ।
उदाहरण २.७ः मानौं, युवराज बस्नेत भन्ने व्यक्तिले एक वर्षअघि खरिद गरेको आफ्नो नाममा रहेको पाँच करोड रूपैयाँ पर्ने जग्गा आफ्नो छोराको छोरानाती) लाई बकसपत्रद्वारा हस्तान्तरण गरिदिएका रहेछन् । हस्तान्तरणको समयमा उक्त सम्पत्तिको बजार मूल्य छ करोड रूपैयाँ रहेछ भने पनि उक्त सम्पत्ति गैर व्यावसायिक करयोग्य सम्पत्ति मानिदैंन ।
२. पुस्ता: निःसर्ग गरिएको जग्गा निःसर्ग गर्ने व्यक्ति र निःसर्गबाट प्राप्त गर्ने व्यक्तिबीचमा तीनपुस्ते सम्बन्ध रहेको र निःसर्ग निःशुल्क हस्तान्तरणबाट (पारिवारिक हस्तान्तरणबाट) भएमा सो सम्पत्ति गैर व्यावसायिक करयोग्य सम्पत्ति हुदैंन । यहाँ हस्तान्तरण भन्नाले सामान्यतयाः अंशबण्डा, अपुताली, बकसपत्र, मृत्युपछिको हस्तान्तरण आदि पर्दछन् । तीन पुस्ताबाहेक अन्यबाट बकसपत्र जस्ता प्रक्रियाबाट हस्तान्तरण गरिएकोसम्पत्तिको हकमा भने त्यस्ता सम्पत्तिलाई गैर व्यावसायिक करयोग्य सम्पत्ति मानिन्छ ।
प्राकृतिक व्यक्तिको स्वामित्वमा रहेको सेक्युरिटी (शेयर, बण्ड, डिवेन्चर) तीन पुस्ताभित्रको निःशुल्क हक हस्तान्तरण बाहेक तीन पुस्ताभित्र वा बाहिरको खरिद बिक्री वा अन्य हक हस्तान्तरणद्वारा निःसर्ग भएका अवस्थामा सो सम्पत्ति गैर व्यावसायिक करयोग्य सम्पत्ति मानिन्छ ।
(ध) छुट पाउने संस्था
“छुट पाउने संस्था” भन्नाले देहायका निकाय सम्झनु पर्छ: –
(१) कर छुट पाउने संस्थाको रूपमा विभागमा दर्ता भएका देहाय बमोजिमका निकायः–
(क) नाफा नकमाउने उद्देश्यले स्थापना भएका सार्वजनिक प्रकृतिका सामाजिक, धार्मिक, शैक्षिक वा परोपकारी संस्था,
(ख) सदस्यहरूले लाभ नलिने गरी सामाजिक वा खेलकूद सम्बन्धी सुविधा प्रवद्र्धन गर्ने उद्देश्यले गठन भएका अव्यवसायी (एमेच्योर) खेलकूद संस्था,
(२) निर्वाचन आयोगमा दर्ता भएको राजनीतिक दल,
तर छुट पाउने संस्थाको उद्देश्य अनुसार कार्य सम्पन्न हुँदा वा कुनै व्यक्तिद्वारा त्यस्तो संस्थालाई प्रदान गरिएका सम्पत्ति वा सेवा बापतको कुनै भुक्तानी गर्दा बाहेक त्यस्तो संस्थाको सम्पत्ति र त्यस्तो संस्थाले प्राप्त गरेको रकमबाट कुनै व्यक्तिलाई कुनै फाइदा पु¥याएको भए त्यस्तो संस्थालाई यस खण्ड बमोजिम कर छुट हुने छैन ।
आयकर नियमावली, २०५९ को नियम ३ मा विभागमा कर छुटको लागि निवेदन दिने प्रक्रिया सम्बन्धी व्यवस्था रहेको छ । नियम ५क.लेयस्ता निकायले आय विवरण पेश गरी नवीकरण गर्नुपर्ने व्यवस्था गरेको छ । कर छुट पाउने संस्थाले कर छुट पाउनको लागि निम्नानुसार व्यवस्था गरिएको छः–
(क) कर छुट प्राप्त गर्ने संस्थाहरू, नाफा नकमाउने उद्देश्यले स्थापना भएका, सार्वजनिक प्रकृतिका सामाजिक, धार्मिक, शैक्षिक वा परोपकारी संस्था एवम् सामाजिक वा खेलकूद सम्बन्धी सुविधा प्रवद्र्धन गर्ने उद्देश्यले सो संस्था वा त्यसका सदस्यहरूले लाभ नलिने गरी गठन भएको अव्यवसायी (एमेच्योर) संस्था हुनपर्ने छ ।
उदाहरण २.८ः मानौं, कुनै कर छुट पाएको संस्थाले कुनै सामाजिक कार्यको अनुसन्धान गर्न एउटा व्यावसायिक निकायसँग एक लाख रूपैयाँ प्राप्त गरेको रहेछ । यदि उक्त अनुसन्धान गर्ने कार्य सो संस्थाको उद्देश्यमा नभएको खण्डमा त्यस्तो रकम भुक्तानी दिने निकायले सो भुक्तानीमा १५ प्रतिशतले हुने रकम रु.१५,०००।– कर कट्टी गरी बाँकी रकम मात्र सो संस्थालाई भुक्तानी दिनुपर्नेछ ।
(ख) कर छुट पाउने संस्थाले पाएको चन्दा, उपहार, वा उक्त संस्थाबाट प्रतिफल प्राप्त गर्ने वा प्रतिफलको आश नगरी त्यस्तो संस्थाको कार्यसँग प्रत्यक्ष रूपले सम्बन्धित अन्य योगदानहरू मात्र कर छुटका लागि योग्य हुने छन्।
(ग) कर छुट प्राप्त गर्ने संस्थाले प्राप्त गरेको कुनै रकम कर लाग्ने भुक्तानी भएमा भुक्तानी दिने निकायले अग्रिम कर कट्टी गर्नुपर्ने हुन्छ ।
(घ) करयोग्य कारोबार गर्ने व्यक्ति तथा संस्थासँग प्रतिस्पर्धा गरी कुनै कर छुट प्राप्त गरेको संस्थाले प्राप्त गरेको रकमलाई कर छुटको सुविधा प्राप्त हुन सक्दैन ।
उदाहरण २.९ः मानौं, कुनै अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाले कर छुट प्रमाणपत्र प्राप्त गरेको एक गैरसरकारी संस्थालाई सडक बालबालिकालाई कम्प्युटर शिक्षा प्रदान गर्ने तालिम सञ्चालन गर्नको लागि व्यावसायिक संस्था लगायत मध्येबाट प्रतिस्पर्धा गराई छनौट गरेको रहेछ । तालिम कार्यका लागि सो गैरसरकारी संस्थालाई दिएको रकम कर छुट प्रमाणपत्र प्राप्त भएको निकायलाई उपलब्ध गराएको अनुदान नभई सेवा शुल्क भएकोले यस्तो रकममा कर छुट हुँदैन ।
(ङ) कर छुट प्रमाणपत्र प्राप्त गरेको संस्थाले आफ्नो विधानमा उल्लेख भएको उद्देश्य विपरित कार्य गरेमा त्यसरी कार्य गरेबापत प्राप्त भुक्तानीमा कर छुट हुँदैंन ।
(च) सो संस्थाको लेखापरीक्षण गर्ने लेखापरीक्षकले आफ्नो लेखापरीक्षण प्रतिवेदनमा सो संस्थाले आयकर ऐन, २०५८ बमोजिम अग्रिम कर कट्टी गरेको नगरेको र संस्थाको उद्देश्य अनुसारको मात्र कार्य गरेको वा नगरेको विषयमा किटानीसाथ उल्लेख गर्नु पर्दछ । निर्वाचन आयोगमा दर्ता भएको राजनीतिक दलऐन बमोजिम नै कर छुट पाउने निकायको रूपमा रहेका छन्। यी निकायहरू विभागमा छुट पाउने निकायको रूपमा दर्ता हुनु पर्दैन । यसको अलावा ऐनको दफा १० को खण्ड (ञ) मा नेपाल राष्ट्र बैङ्कले आफ्नो उद्देश्य अनुरूप आर्जन गरेको रकम एवम्खण्ड (झ) मा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको जुनसुकै प्रकारको आयमा समेत कर नलाग्ने व्यवस्था गरेको हुँदा यी निकायहरू समेत छुट पाउने निकायको रूपमा रहेका छन् । त्यसैगरी जलस्रोत ऐन, २०४९ बमोजिम दर्ता भएका खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आफ्नो उद्देश्य अनुरूप आर्जन गरेको रकम पनि कर छुट हुने रकममा पर्ने भएको हुँदा यस्ता निकाय पनि कर छुट हुने निकायको रूपमा रहेका छन्। तर छुट पाउने संस्थाको उद्देश्य अनुसार कार्य सम्पन्न हुँदा वा कुनै व्यक्तिद्वारा सो संस्थालाई प्रदान गरिएका सम्पत्ति वा सेवा बापतको कुनै भुक्तानी गर्दा बाहेक सो संस्थाको सम्पत्ति र सो संस्थाले प्राप्त गरेको रकमबाट कुनै व्यक्तिलाई कुनै फाइदा पु¥याएको भए त्यस्तो संस्थालाई कर छुट हुने छैन । उदाहरणको लागि, कुनै कर छुट प्राप्त संस्थाको अध्यक्षले सो संस्थाको सञ्चित रकम आफ्नो निजी कार्यमा प्रयोग गरेको रहेछ भने त्यस्तो संस्था कर छुट हुने संस्थाको रूपमा रहदैंन ।
(न) ट्रष्ट
“ट्रष्ट” भन्नाले ट्रष्टीले सम्पत्ति धारण गर्ने प्रबन्ध सम्झनु पर्छ ।
तर यस शब्दले साझेदारी, संगठित संस्था वा खण्ड (ड) को उपखण्ड (३) बमोजिम उल्लिखित संस्थालाई जनाउने छैन ।
शारीरिक वा मानसिक रूपले असक्षम व्यक्ति वा मृत व्यक्तिमा रहेको निकायको सम्पत्ति धारण गरी सहयोग गर्ने प्रबन्धलाई ट्रष्ट भनिएको छ । केही असामान्य अवस्थाका करदाताले कर तिर्ने प्रयोजनमा स्वतः खडा हुने निकाय ट्रष्ट हो । उदाहरणका रूपमा भजन ब्रदर्शको प्रोपाइटरको माघ २४ गते मृत्यु भयो । यो अवस्थामा कर तिर्ने प्रयोजनका लागि निजले श्रावण १ गतेदेखि माघ २४ गतेसम्म फर्मबाट गरेको कार्य तथा दफा ४४ बमोजिम मृत्युको तत्काल अघि फर्मका सबै सम्पत्ति बजार मूल्यमा बिक्री भएको मानी गरिने लाभ सहितको आय विवरण कसैले बुझाइ दिनुपर्दछ र निजको सम्पत्ति पनि कसैले जिम्मा लिनु पर्दछ । मृत व्यक्तिको कर लाग्ने अवधिको कर तिर्न जसको सहयोग लिइन्छ वा यस्तो अवस्थामा सो सम्पत्ति जिम्मा लिने व्यक्ति वा व्यक्तिको समूह कर प्रयोजनका लागि ट्रष्ट हो । आयकर ऐन, २०५८ मा दुई थरी ट्रष्टको व्यवस्था गरिएको छ: दर्ता भएको वा नभएको ट्रष्ट र अर्कोको सम्पत्ति रेखदेख गरिदिने व्यक्ति । पहिलो प्रकारको ट्रष्टको कर निर्धारण कम्पनीको सरह गरिन्छ । दोस्रो प्रकारको ट्रष्टमा जसको सम्पत्ति धारण गरी व्यवस्थापन गरिदिएको हो सोही व्यक्तिलाई कर लगाई कर तिर्ने प्रयोजनका लागि मात्र ट्रष्टको अवधारणा कायम गरिएको छ ।
(प) ट्रष्टी
“ट्रष्टी” भन्नाले एक्लै वा अन्य प्राकृतिक व्यक्ति, गुठी वा अन्य संगठित संस्थासँग मिली संयुक्त रूपमा सम्पत्ति अमानतको रूपमा राख्ने प्राकृतिक व्यक्ति, गुठी वा अन्य संगठित संस्था सम्झनु पर्छ र सो शब्दले देहायको व्यक्ति समेतलाई जनाउँछ: –
(१) मृतक व्यक्तिको जायजेथाको सञ्चालनकर्ता वा प्रशासक,
(२) लिक्विडेटर, प्रापक वा ट्रष्टी,
(३) निजी वा आधिकारिक हैसियतमा असक्षम व्यक्तिको सम्पत्तिको संरक्षक, निर्देशन, नियन्त्रण वा व्यवस्थापन गर्ने कुनै व्यक्ति,
(४) निजी प्रतिष्ठान वा यस्तै प्रतिष्ठान अन्तर्गत सम्पत्तिको व्यवस्थापन गर्ने कुनै व्यक्ति, र
(५) उपखण्ड (१), (२), (३) र (४) मा उल्लिखित व्यक्ति सरहको जस्तै स्थितिमा रहेको अन्य कुनै व्यक्ति ।
ट्रष्टी भन्नाले कुनै ट्रष्टको व्यवस्थापन गर्न जिम्मेवारी सुम्पिएको व्यक्तिलाई जनाउँछ । ट्रष्टीले एक्लै वा अन्य व्यक्तिसँग संयुक्त रूपमा कार्य सम्पादन गर्न जिम्मेवारी प्राप्त गर्न सक्दछन्। उदाहरणको लागि, ट्रष्टका सञ्चालकहरू, नाबालक (वा यस्तै असक्षम व्यक्ति) को संरक्षक, आदि ।
(फ) दीर्घकालीन करार
“दीर्घकालीन करार” भन्नाले करारको बहाली अवधि बाह्र महिनाभन्दा बढी भएको दफा २६ बमोजिमको करार सम्झनु पर्छ ।
ऐनको दफा २६ मा उल्लेख गरिएको स्पष्टीकरण बमोजिम करारको बहाली अवधि बाह्र महिना भन्दा बढी भएको र सो करार उत्पादन, जडान वा निर्माणका लागि वा त्यस्तो प्रत्येक कामका सम्बन्धमा सम्बद्ध सेवाको सम्पादनका लागि गरिएको वा समावेश नभएको करार (लगानी बीमा करार, अवकाश कोष करार तथा निकायमा हित निहित रहेको करार) बाहेकको प्रतिफल विलम्बित हुने करारलाई दीर्घकालीन करार मानिएको छ । उदाहरणको लागि, एक वर्ष भन्दा बढी समय लाग्ने कुनै जलविद्युत आयोजना निर्माण गर्न कुनै निर्माण कम्पनीलाई दिइने करार दीर्घकालीन करार अन्तर्गत पर्दछ । दीर्घकालीन करार एवम् त्यस्तो करारको आय गणनाका सम्बन्धमा यसै निर्देशिकाको परिच्छेद २० मा व्याख्या गरिएको छ ।
(ब) नातेदार
“नातेदार” भन्नाले प्राकृतिक व्यक्तिको पति, पत्नी, छोरा, छोरी (धर्मपुत्र, धर्मपुत्री समेत), बावु, आमा, बाजे, बज्यै, दाजु, भाई, भाउजु, बुहारी, दिदी, बहिनी, सासु, ससुरा, साला, जेठान, साली, जेठीसासु, काका, काकी, भतिजा, भतिजी, नाती र नातिनी सम्झनु पर्छ ।
(भ) निकाय (इन्टिटी)
“निकाय (इन्टिटी)” भन्नाले देहायका संस्था वा संगठन सम्झनु पर्छ:–
(१) साझेदारी, ट्रष्ट वा कम्पनी,
(२) गाउँपालिका, नगरपालिका वा जिल्ला समन्वय समिति,
(३) नेपाल सरकार,प्रदेश सरकार वा स्थानीय तह,
(४) कुनै विदेशी सरकार वा सो सरकार अन्तर्गतका प्रान्तीय वा स्थानीय सरकार वा कुनै सन्धिद्वारा स्थापना भएको सार्वजनिक अन्तर्राष्ट्रिय संगठन, वा
(५) आफू बासिन्दा भएको मुलुकमा अवस्थित नरहेको उपखण्ड (१), (२), (३) र (४) मा उल्लेख भएको संस्था वा संगठनको स्थायी संस्थापन ।
सामान्यतयाः निकाय (Entity) भन्नाले प्राकृतिक व्यक्तिबाहेक अन्य व्यक्ति अर्थात कानुनी व्यक्तिलाई बुझाउँछ । यस सम्बन्धी विस्तृत व्याख्या यसै निर्देशिकाको परिच्छेद १३ मा व्याख्या गरिएको छ ।
(म) निकायमा रहेको हित
“निकायमा रहेको हित” भन्नाले कुनै निकायको आय वा पुँजी प्राप्त गर्ने सांयोगिक (कन्टिन्जेन्ट) अधिकार समेतको अधिकार सम्झनु पर्छ ।
निकायमा रहेको हित (Interest on Entity) भन्नाले साझेदारी फर्मको हकमा सो फर्मको मुनाफा लगायत सो फर्मको सम्पत्तिमा साझेदारको अधिकारलाई जनाउँछ । कम्पनीका हकमाशेयरहोल्डरले उक्त कम्पनीमा गरेको लगानीको प्रतिफल लगायत उक्त कम्पनी खारेजी (Liquidation) हुँदाको अवस्थामा प्राप्त गर्ने नियमित वा थप रकम प्राप्त गर्न सक्ने सांयोगिक अधिकार (Contingent Right) लाई जनाउँछ । अवकाश कोषमा सो कोषमा लगानीकर्ता (हिताधिकारी) ले लगानी गरे बापत लगानी गरिएको रकम तथा सोको प्रतिफललाई जनाउँछ । त्यसैगरी ट्रष्टमा हिताधिकारीको हित रहन्छ भने विदेशी स्थायी संस्थापनमा सो संस्थापनको मालिकको हित रहेको हुन्छ ।
(य) निःसर्ग
“निःसर्ग (डिस्पोजल)” भन्नाले दफा ४० मा उल्लेख भए बमोजिम कुनै सम्पत्ति वा दायित्वको बिक्री वा हस्तान्तरण समेतको निःसर्ग सम्झनु पर्छ ।
सम्पत्तिको हकमा बिक्री वा किस्ताबन्दीमा बिक्री गरी, अन्य सम्पत्ति वा दायित्वमा गाभिई, नासिई, हराई, अंशबण्डा वा हक हस्तान्तरण गरी, साटासाट गरी वा कुनै तवरबाट आफ्नो स्वामित्व हट्ने माध्यमलाई सम्पत्तिको निःसर्ग (Disposal) मानिन्छ । त्यस्तै, दायित्वको हकमा, दायित्व भुक्तान गरी, दायित्वबाट मुक्त भई, अन्य सम्पत्ति वा दायित्वमा गाभिई, दायित्व रद्द भई वा कुनै पनि माध्यमबाट दायित्व मुक्त भएको खण्डमा दायित्वको निःसर्ग (Disposal) मानिन्छ । सम्पत्ति तथा दायित्वको निःसर्गका सम्बन्धमा विस्तृत व्याख्या यसै निर्देशिकाको परिच्छेद २२ मा गरिएको छ ।
(र) निहित स्वामित्व
“निहित स्वामित्व” भन्नाले देहायको स्वामित्व सम्झनु पर्छ: –
(१) कुनै निकायको सम्बन्धमा कुनै प्राकृतिक व्यक्ति वा प्राकृतिक व्यक्तिको हित नरहेको निकायले सो निकायमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा एक वा बढी मध्यस्थ निकायहरूद्घारा राखेको हितका आधारमा सिर्जित स्वामित्व, वा
(२) कुनै निकायको स्वामित्व रहेको सम्पत्तिको सम्बन्धमा सो निकायमा निहित स्वामित्व रहेका व्यक्तिहरूको स्वामित्वको समानुपातको आधारमा निर्धारण भएको सम्पत्तिको स्वामित्व ।
निहित स्वामित्वका सन्दर्भमा विस्तृत व्याख्या यसै निर्देशिकाको परिच्छेद १३ मा गरिएको छ ।
(ल) पट्टा
“पट्टा” भन्नाले कुनै व्यक्तिले अर्को व्यक्तिको नगदी सम्पत्ति बाहेकको सम्पत्ति प्रयोग गर्ने अस्थायी अधिकार सम्झनु पर्छ र सो शब्दले इजाजतपत्र, भाडा सम्झौता, छनौट, रोयल्टी सम्झौता वा बहालवालाको हक समेतलाई जनाउँछ ।
एउटा व्यक्तिको स्वामित्वमा रहेको सम्पत्ति माथिको प्रयोग गर्ने अधिकार अर्को व्यक्तिलाई दिनुलाई पट्टा (Lease) भनिन्छ । पट्टा दुई थरीको हुन्छ – भाडा वा रोयल्टी बुझाउने आवधिक पट्टा (Operating Lease) र वित्तीय पट्टा (Finance Lease) ।
(व) प्राकृतिक व्यक्ति
“प्राकृतिक व्यक्ति” भन्नाले प्राकृतिक व्यक्ति विशेष सम्झनु पर्छ र यस ऐनको प्रयोजनको लागि सो शब्दले दर्ता भई वा नभई प्राकृतिक व्यक्तिको स्वामित्वमा रहेको एकलौटी फर्म तथा एउटै प्राकृतिक व्यक्तिको रूपमा मानिने गरी दफा ५० बमोजिम छनौट भएको दम्पती समेतलाई जनाउँछ ।
प्राकृतिक व्यक्ति (Natural Person) भन्नाले प्राकृतिक रूपबाट नै सिर्जिएका अर्थात कानुनी रूपमा कृत्रिम तवरले खडा नगरिएको व्यक्ति विशेषलाई बुझाउँछ । प्राकृतिक व्यक्ति भन्नाले प्राकृतिक व्यक्तिको एकलौटी फर्म, ऐनको दफा ५० बमोजिम छनौट गरेको अवस्थाको दम्पती तथा आश्रितलाई भरणपोषण गर्नुपर्ने अवस्थाका विधुर र विधवालाई समेत मानिएको छ ।
(श) प्राकृतिक स्रोत बापतको भुक्तानी
“प्राकृतिक स्रोत बापतको भुक्तानी” भन्नाले देहायको कुनै भुक्तानीको रकम सम्झनु पर्छ:–
(१) जमिनबाट पानी, खनिज पदार्थ वा अन्य जीवित वा निर्र्जीव स्रोत निकाल्ने अधिकार प्राप्त गरे बापतको भुक्तानी, वा
(२) जमिनबाट समग्र वा आंशिक रूपमा निकालिएको प्राकृतिक स्रोत र खनिज पदार्थको जीवित वा निर्जीव स्रोतको परिमाण वा मूल्यका आधारबाट गणना गरिएको रकम ।
(ष) बजार मूल्य
“बजार मूल्य” भन्नाले कुनै सम्पत्ति वा सेवाका सम्बन्धमा असम्बन्धित व्यक्तिहरूबीच सामान्य बजार व्यवहारको सिलसिलामा सेवा वा सम्पत्तिको सामान्य कारोबार मूल्य सम्झनु पर्छ ।
(स) भाडा
“भाडा” भन्नाले घर बहाल समेतका मूर्त सम्पत्तिको बहालमा लगाएको पट्टा अन्तर्गत गरिएका प्रिमियम लगायतका सबै भुक्तानी सम्झनु पर्छ ।
तर यस शब्दले प्राकृतिक स्रोत बापत भएको भुक्तानीवाएकलौटी फर्म बाहेकको प्राकृतिक व्यक्तिले घर बहाल बापत प्राप्त गरेको रकमलाई जनाउँने छैन ।
(ह) भुक्तानी
“भुक्तानी” भन्नाले देहायको काम कारबाही सम्झनु पर्छ:–
(१) कुनै एक व्यक्तिको रकम वा सम्पत्ति अर्को व्यक्तिको नाउँमा र कुनै अर्को व्यक्तिको दायित्व सो व्यक्तिको नाउँमा हस्तान्तरण भएमा,
(२) कुनै एक व्यक्तिवाट सिर्जित सम्पत्ति सो सम्पत्तिको सिर्जनापछि अर्को व्यक्तिको स्वामित्वमा भएमा वा कुनै एक व्यक्तिको दायित्वको भार अर्को व्यक्तिले बहन गरेमा,
(३) एक व्यक्तिले अर्को व्यक्तिलाई सेवा प्रदान गरेमा,
(४) कुनै एक व्यक्तिको स्वामित्वमा रहेको सम्पत्ति अर्को व्यक्तिले प्रयोग गरेमा वा प्रयोगको लागि उपलब्ध भएमा ।
ऐनको दफा २४ को उपदफा (१) मा व्यवसाय वा लगानीबाट भएको आयको गणनाको लेखाङ्कन एक्रुअल आधारमा गर्दा भुक्तानी प्राप्त गर्ने अधिकार सिर्जना हुनासाथ त्यस्तो भुक्तानी प्राप्त गरेको मानी आयको गणनामा समावेश गर्नुपर्ने व्यवस्था गरेकोछ । नेपाल लेखामान १ (Nepal Accounting Standard on Presentation of Financial Statements) मा समेत Accrual आधारमा लेखाङ्कन गर्नुपर्ने व्यवस्था गरेको छ । व्यक्तिको आय गणना गर्दा तथा खर्च कट्टी दाबी गर्दा “भुक्तानी” को भूमिका महत्वपूर्ण हुन्छ । भुक्तानी (Payment) शब्दले यथार्थमा कुनै व्यक्तिले अर्को व्यक्तिलाई लाभान्वित गराउन सक्ने हरेक माध्यमलाई समावेश गरेको छ ।
तलको उदाहरणबाट यस सम्बन्धमा थप प्रकाश पारिएको छ ।
उदाहरण २.१०ः मानौं, वुद्धि आचार्य भन्ने व्यक्तिले स्कट नेपाल प्रा.लि.नामको संस्थालाई रु.५०,०००।– मूल्य बराबरको सेवा उपलब्ध गराएका रहेछन् । उक्त संस्थाले निजलाई सो सेवाको मूल्य नगदमा भुक्तानी नदिई निजको छोरासँग सो संस्थाले लिनुपर्ने रकमसँग मिलान गरेको रहेछ भने सो अवस्थामा निज आचार्यले रकम भुक्तानी नलिए पनि भुक्तानी प्राप्त गरे सरह मानिनेछ ।
उदाहरण २.११ः एक मेडिकल डाक्टर एउटा कम्पनीको कर्मचारीको नियमित स्वास्थ्य उपचारको लागि नियुक्त भएका रहेछन्। सो कम्पनीले निज डाक्टरलाई उपरोक्त सेवा बापत कुनै भुक्तानी दिने गरेको रहेनछ तर सो कम्पनीले रु.२०,०००।– आफैले भाडा तिरी एउटा कोठा निज डाक्टरलाई उपलब्ध गराएको रहेछ । उक्त कोठाबाट निज डाक्टरले आफ्नो पेशा समेत सञ्चालन गर्दा रहेछन् । सो कम्पनीले आफूले सिर्जना गरेको सम्पत्ति (Lease Right) निज डाक्टरलाई उपलब्ध गराएको हुँदा रु.२०,०००।– निज डाक्टरले भुक्तानी प्राप्त गरेको मानिनेछ ।
उदाहरण २.१२ः एउटा गाडी मर्मत गर्ने संस्थामा एक जना वकिल कानुनी परामर्शदाताको रूपमा नियुक्त भएका रहेछन् । निज वकिलले सो संस्थाबाट कुनै पारिश्रमिक लिने नगरेको तर आफ्नो सवारी साधनको नियमित मर्मत संभार सोही संस्थाबाट बिना मूल्यमा गराउने गरेका रहेछन्। यस्तो अवस्थामा सो संस्थाले उपलब्ध गराएको मर्मत सम्बन्धी सेवाको मूल्य निज वकिलले भुक्तानी पाएको मानिनेछ ।
(क्ष) मुनाफाको वितरण
“मुनाफाको वितरण” भन्नाले मुनाफाको पुँजीकरण समेत दफा ५३ बमोजिम भएको कुनै निकायको मुनाफाको वितरण सम्झनु पर्छ ।
ऐनको दफा ५३ मा निकायबाट आफ्नो कुनै हिताधिकारीलाई कुनै पनि हैसियतले गरिएको भुक्तानी वा मुनाफाको पुँजीकरणलाई वितरण मानिएको छ । निकायले आफ्ना हिताधिकारीलाई बोनस शेयर वितरण गरेको अवस्था समेत मुनाफाको वितरण भएको मानिन्छ । तर, निकायले हिताधिकारीबाट कुनै प्रतिफल प्राप्त गरेको रहेछ र त्यस्तो प्रतिफल बापत बजार मूल्यका आधारमा सो निकायले हिताधिकारीलाई गरेको भुक्तानी भने मुनाफाको वितरण
मानिने छैन ।
उदाहरण २.१३ः मानौं, नेपाल घडी कम्पनी लि.ले साधारण सभामा आफ्ना शेयरधनीलाई नगद लाभांश नदिई रु.१५,०००।– मूल्य पर्ने घडी रु.५,०००।– मूल्य लिई आफ्ना शेयरधनीलाई वितरण गरेको रहेछ भने बजार मूल्य र हिताधिकारीबाट प्राप्त मूल्यबीचको फरक, अर्थात रु.१०,०००।– लाई मुनाफाको वितरण मानिने छ ।
उदाहरण २.१४ः मानौं, नेपाल कम्पनी लि.ले आफ्नो एक शेयरधनीको भवन कार्यालय प्रयोजनको निमित्त भाडामा लिएको रहेछ । उक्त भवनको चलनचल्ती भाडा रु.१०,०००।– प्रति महिना सो कम्पनीले निज शेयरधनीलाई भुक्तान गर्ने गरेको रहेछ भने मुनाफाको वितरण मानिदैंन ।
निकायबाट मुनाफाको वितरण सम्बन्धी थप व्याख्या यसै निर्देशिकाको परिच्छेद १३ मा गरिएको छ ।
(त्र) यूनिट ट्रष्ट
“यूनिट ट्रष्ट” भन्नाले कम्तीमा बीस जना व्यक्तिहरूका लाभको लागि ट्रष्टीले सम्पत्ति धारण गर्ने व्यवस्था भई आय वा पुँजीमा सहभागी हुन पाउने व्यक्तिहरूको अधिकारलाई धारण गरेको इकाईहरूको संख्याद्वारा निर्धारित आधारमा विभाजन हुने व्यवस्था गरिएको ट्रष्ट सम्झनु पर्छ ।
(ज्ञ) रोजगारी
“रोजगारी” भन्नाले कुनै पनि किसिमको विगत, वर्तमान वा भावी रोजगारी सम्झनु पर्छ ।
सामान्यतया Contract of Service ले रोजगारी बुझाउँछ भने Contract of Service ले परामर्शदाता (Consultant) तर्फ ईंगित गर्दछ । “रोजगारी” शब्दले काम गर्ने (Employee) तथा काम लगाउने (Employer) बीचको सम्बन्ध खुल्ने एवम्रोजगारीको शर्त अनुसार आफ्नो ज्ञान, अनुभव, सिप, जाँगर तथा श्रम प्रयोग गरी व्यवस्थापकीय, सुपरीवेक्षण, प्रशासकीय, प्राविधिक वा यस्तै अन्य कुनै काम गरी सो व्यक्ति वा निकायको लिखित वा अलिखित कर्मचारी सेवा सर्त तथा सुविधा वा यस्तै अन्य सर्त तथा सुविधा सम्बन्धी प्रावधान लागूहुने गरी सो निकायबाट काम गर्ने व्यक्तिले तलब वा ज्याला वा यस्तै अन्य भुक्तानी पाउन सक्ने प्रबन्धलाई जनाउँछ । यस्तो काममा लगाउने व्यक्ति बासिन्दा वा गैर बासिन्दा हुन सक्छ । ऐनको दफा २२ को उपदफा (२) बमोजिम प्राकृतिक व्यक्तिले निजको रोजगारी तथा लगानीबाट प्राप्त हुने आयको गणना गर्दा कर प्रयोजनको लागि नगद आधारमा लेखाङ्कन गर्नु पर्नेछ । तसर्थ रोजगारीकोसन्दर्भमा जतिखेर नगद भुक्तानी हुन्छ सोही समयमा, अर्थात विगत वर्षको रोजगारी, वर्तमान रोजगारी वा भविष्यमा रोजगारी गर्ने गरी हाल प्राप्त भएको नगद भुक्तानीलाई हालको आयमा समावेश गर्नुपर्दछ ।
उदाहरण २.१५ः विगत रोजगारीको उदाहरणः मानौ ललित भन्ने व्यक्तिले एउटा कम्पनीमा २०५३ सालदेखि रोजगारी गर्दै आएका रहेछन्। २०६१ सालदेखि निजले काम गर्ने संस्थाको व्यवसाय बिग्रन गई आर्थिक अवस्था खराब भएको र सो कम्पनीले आफ्ना कर्मचारीलााई खाइपाई आएको तलबको ५०५ मात्र तलब भुक्तान गरी आएको रहेछ । आ.व.२०६५।६६ सालमा उक्त कम्पनीको व्यवसाय उल्लेख्य रूपमा वृद्धि भएको कारण विगत २०६१ साल देखि बाँकी रहेको ५०५ तलब निज ललितलाई २०६५ साल माघ महिनामा भुक्तान गरेको रहेछ । यस अवस्थामा सो कम्पनीले Accrual आधारमा हुन आउने तलब सम्बन्धित आय वर्षमा नै खर्च लेख्न सक्ने भए पनि निज ललितले भने विगतको रोजगारीको भुक्तानी २०६५ साल माघमा नगद प्राप्त गरेको हुँदा नगद भुक्तानीका आधारमा आ.व.२०६५।६६ को आयमा समावेश गर्नुपर्दछ ।
उदाहरण २.१६ः भविष्यको रोजगारीको उदाहरणः मानौ, सुवर्ण भन्ने व्यक्तिले एक कम्पनीमा काम गर्ने गरेका रहेछन् । निजलाई रकमको आवश्यकता परेको र आगामी वर्ष तलब भुक्तानी नलिने शर्तमा सो कम्पनीबाट एक वर्षको तलब अग्रिम भुक्तानी लिएका रहेछन् । निजले सो रकम भविष्यमा रोजगारी गर्ने शर्तमा प्राप्त गरेको हुँदा यस्तोरकम निजले सो रकम प्राप्त गरेको आय वर्षको रोजगारीको आयमा गणना गर्नुपर्दछ ।
रोजगारी सम्बन्धी विस्तृत व्याख्या यसै निर्देशिकाको परिच्छेद १७ मा गरिएको छ ।
(कक) रोयल्टी
“रोयल्टी” भन्नाले अमूर्त सम्पत्तिको पट्टा अन्तर्गत गरिएको कुनै भुक्तानी सम्झनु पर्छ र सो शब्दले देहायका उद्देश्यका लागि गरिने कुनै भुक्तानी समेतलाई जनाउँछ: –
(१) प्रतिलिपि अधिकार, पेटेन्ट, डिजाइन, मोडेल, योजना, गोप्य सूत्र वा प्रक्रिया वा टे«डमार्कको प्रयोग वा प्रयोग गर्ने अधिकार राख्ने ,
(२) प्रविधिको ज्ञान प्रदान गर्ने,
(३) चलचित्रजन्य फिल्म, भिडियो टेप, ध्वनि रिकर्डिङ वा कुनै अन्य यस्तै माध्यमको प्रयोग वा प्रयोग गर्ने अधिकार र औद्योगिक, व्यापारिक वा वैज्ञानिक अनुभव प्रयोग गर्ने वा प्रदान गर्ने,
(४) उपखण्ड (१), (२) वा (३) बमोजिमका कुरामा सहायक हुने किसिमले कुनै सहयोग प्रदान गर्ने, वा
(५) उपखण्ड (१), (२), (३) वा (४) बमोजिमका कुराका सम्बन्धमा पूर्ण वा आंशिक बन्देज मान्ने ।
तर यस शब्दले प्राकृतिक स्रोतबापतको भुक्तानीलाई जनाउँने छैन ।
रोयल्टी शब्दले अमूर्त सम्पत्तिको पट्टा अन्तर्गतका भुक्तानी वा अमुर्त सम्पत्तिको उपयोग बापतका भुक्तानीलाई बुझाउँछ । जस्तोः Trade Name प्रयोग गर्ने अधिकार दिए बापत प्राप्त हुने भुक्तानी, गायक, गीतकार वा संगीतकारका गीत कुनै रेडियो स्टेशनले बजाए बापत दिइने भुक्तानी आदि ।
(कख) लगानी
“लगानी” भन्नाले देहाय बमोजिम बाहेक एक वा एक भन्दा बढी सम्पत्ति धारण गर्ने वा त्यस्तो सम्पत्ति लगानी गर्ने कार्य सम्झनुपर्छ:–
(१) सम्पत्तिमा स्वामित्व राख्ने व्यक्तिबाट निजी प्रयोगमा ल्याइएको सम्पत्ति राख्ने कार्य,
(२) रोजगारी वा व्यवसाय ।
तर गैर व्यावसायिक करयोग्य सम्पत्ति राख्ने कार्य लगानी मानिने छ ।
सम्पत्ति धारण (Hold) गरी आयआर्जन गर्ने कार्यलाई लगानी भनिन्छ । सम्पत्तिमा स्वामित्व राख्ने व्यक्तिबाट निजी प्रयोगमा ल्याइएको सम्पत्ति राख्ने कार्य वा रोजगारी वा व्यवसायमा प्रयोग गरिएका सम्पत्ति बाहेकका सम्पत्तिमा स्वामित्व राख्ने एवम् गैर व्यावसायिक करयोग्य सम्पत्ति राख्ने कार्य जस्ता कार्यलाई लगानी भनिन्छ । सामान्यतयाः लगानीको आय आर्जन गर्ने कार्यमा आय आर्जन गर्ने व्यक्तिको निरन्तर सहभागिता (Active Engagement) रहँदैन । लाभांश, ब्याज, प्राकृतिक स्रोत बापतको भुक्तानी, भाडा, रोयल्टी, लगानी बीमाबाट प्राप्त लाभ, स्वीकृति प्राप्त नगरेको अवकाश कोषको हितबाट प्राप्त लाभ, स्वीकृत अवकाश कोषबाट गरिएको अवकाश भुक्तानी वा गैर व्यावसायिक करयोग्य सम्पत्तिको निःसर्ग (Disposal) बाट प्राप्त खुद लाभ जस्ता आय लगानीको आय वा प्रतिफल हुन्छ । लगानी मानिन सम्पत्ति धारणको प्रकृतिलाई ध्यान दिनुपर्छ । सामान्तया लगानीको प्रयोजनको लागि धारण गरिएको सम्पत्ति लामो समयसम्म धारण गरिन्छ । लगानीमा सोही सम्पत्तिबाट आय हुने तथा व्यवसायमा सो सम्पत्ति किनबेच वा अन्य तवरले प्रयोग गरी आयआर्जन गरिने हुन्छ । लगानी तथा लगानीको आयका सम्बन्धमा विस्तृत व्याख्या यसै निर्देशिकाको परिच्छेद २१ मा गरिएको छ ।
(कग) लगानी बीमा
“लगानी बीमा” भन्नाले देहायका कुनै बीमा सम्झनु पर्छ:–
(१) बीमित व्यक्ति वा बीमित व्यक्तिको सम्बद्ध व्यक्तिको मृत्यु सम्बन्धी घटनाका हकमा गरिएको बीमा,
(२) बीमित व्यक्ति वा निजको सम्बद्घ व्यक्तिको व्यक्तिगत चोटपटक वा कुनै खास तवरमा असक्षम हुने घटना सम्बन्धी बीमा,
तर बीमाको बीमा सम्झौता कम्तीमा पाँच वर्षसम्म बहाल रहने वा बहालीको समय सीमा नभएको र करारमा उल्लिखित विशेष परिस्थितिहरूमा बाहेक पाँच वर्षको अवधि भुक्तान हुनु अगावै बीमकबाट अन्त्य गर्न नसकिने गरी गरिएको हुनु पर्नेछ ।
(३) कुनै रकम वा श्रृखलाबद्ध रकमहरू भविष्यमा बीमितलाई भुक्तानी हुने गरी गरिएको बीमा,
(४) उपखण्ड (१), (२), वा (३) अन्तर्गतका बीमाको पुनर्बिमा, र
(५) उपखण्ड (४) मा उल्लिखित पुनर्बीमाको पुनर्बीमा ।
लगानी बीमाको उदाहरणको fLife Insurance, Superannuation, Endowment Policy, आदि जस्ता कारोबारलाई लिन सकिन्छ । जीवन सम्बन्धी जोखिमसँग सम्बन्धित बीमा भए पनि Accidental Insurance को सम्झौता (जोखिम) अवधि पाँच वर्षभन्दा कम अवधिमा समाप्त हुने भए त्यस्तो सम्झौता भने लगानी बीमा अन्तर्गत पर्दैनन्। लगानी बीमा सम्बन्धी विस्तृत व्याख्या यसै निर्देशिकाको परिच्छेद १९ मा गरिएको छ ।
(कघ) लाभांश
“लाभांश” भन्नाले निकायबाट हुने वितरण सम्झनु पर्छ ।
लाभांश (Dividend) भन्नाले निकायले आफ्ना हिताधिकारी (Shareholders) लाई वितरण गर्ने मुनाफाको अंशलाई बुझाउँछ । उक्त शब्दले मुनाफाको पँुजीकरण अर्थात बोनस शेयर समेतलाई जनाउँछ ।लाभांश सम्बन्धी थप व्याख्या यसै निर्देशिकाको परिच्छेद १३ मा गरिएको छ ।
(कङ) बासिन्दा व्यक्ति
“बासिन्दा व्यक्ति” भन्नाले कुनै आय वर्षका सम्बन्धमा देहायका व्यक्ति सम्झनु पर्छ:–
(१) प्राकृतिक व्यक्तिको सम्बन्धमा, –
(क) सामान्य बसोबासको स्थान नेपालमा रहेको,
(ख) ............अविच्छिन्न ३६५ दिनको अवधिमा १८३ दिन वा सो भन्दा बढी नेपालमा रहेको, वा
(ग) नेपाल सरकारबाट आय वर्षको कुनै समयमा विदेशमा खटाइएको ।
(२) साझेदारी फर्म,
(३) ट्रष्टको सम्बन्धमा त्यस्तो ट्रष्ट जुन,–
(क) नेपालमा स्थापना भएको,
(ख) ट्रष्टको ट्रष्टी आय वर्षमा बासिन्दा व्यक्ति भएको, वा
(ग) ट्रष्टलाई आय वर्षमा बासिन्दा व्यक्ति वा निज संलग्न भएको व्यक्तिहरूको समूहले प्रत्यक्ष वा एक वा बढी मध्यस्थ निकाय (इन्टरपोज्ड इन्टिटी) हरूको माध्यमद्वारा नियन्त्रण गरेको ।
(४) कम्पनीको सम्बन्धमा त्यस्तो कम्पनी जुन, –
(क) नेपालको कानुन अन्तर्गत संस्थापित भएको, वा
(ख) कुनै आय वर्षमा नेपालमा सो कम्पनीको व्यवस्थापन प्रभावकारी रहेको ।
(४क) नेपाल सरकारवा प्रदेश सरकार,
(५) गाउँपालिका, नगरपालिका वा जिल्ला समन्वय समिति,
(६) कुनै विदेशी सरकार वा सो सरकार अन्तर्गतका प्रान्तीय वा स्थानीय सरकारको त्यस्तो निकायको सम्बन्धमा जुन, –
(क) नेपालको कानुन अन्तर्गत स्थापित भएको, वा
(ख) कुनै आय वर्षमा नेपालमा त्यस्तो निकायको व्यवस्थापन प्रभावकारी रहेको ।
(७) कुनै सन्धि सम्झौता अन्तर्गत स्थापित संस्था वा निकाय, र
(८) गैर बासिन्दा व्यक्तिको नेपालमा रहेको विदेशी स्थायी संस्थापन ।
आयकर ऐन, २०५८ मा बासिन्दा व्यक्तिको अवधारणा महत्वपूर्ण रहेको छ । बासिन्दा व्यक्तिको अवस्थाबारे निम्नानुसार व्याख्या गरिएको छः–
प्राकृतिक व्यक्तिको सामान्य बसोबासको स्थान नेपालमा रहेको, अविच्छिन्न ३६५ दिनको अवधिमा १८३ दिन वा सो भन्दा बढी नेपालमा रहेको वा नेपाल सरकारबाट आय वर्षको कुनै समयमा विदेशमा खटाइएको जुनसुकै अवस्था भए पनि त्यस्तो व्यक्ति नेपालको बासिन्दा मानिन्छ ।
(क) सामान्य बसोबासको स्थान (Habitual Place of Abode)नेपालमा रहेको भन्नाले सम्बन्धित व्यक्तिको मुख्य Economic Activity हुने स्थानलाई जनाउँदछ । नेपालमा स्थायी ठेगाना वा घर (Permanent Address) हुनुले मात्र सामान्य बसोबासको स्थान नेपाल मानिदैंन । सामान्यतयाः निजको अर्थोपार्जनको मुख्य स्थललाई सामान्य बसोबासको स्थान भनिन्छ । यस्तो अवस्था तलको उदाहरणबाट प्रष्ट पारिएको छ ।
उदाहरण २.१७ः मानौं, चितवनमा स्थायी घर भएको ओम बहादुर थापा भन्ने व्यक्ति विगत तीन वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका रहेछन् । निज ओम बहादुर वर्षको एक पटक आफ्नो परिवारलाई भेट्न नेपाल आउने गरेका रहेछन्। निजले आफूले विदेशमा रहँदा कमाएको पचास प्रतिशतभन्दा बढी रकम नेपालमा आफ्नो परिवारलाई पठाउने गरेका रहेछन्। यस अवस्थामा निजको स्थायी घर नेपाल भए तापनि मुख्य रूपमा निजको बसोबासको निरन्तरता र आर्थिक गतिविधि नेपालमा नभएको कारण निजको सामान्य बसोबास नेपाल भएको मानिदैंन ।
उदाहरण २.१८ः माथि उदाहरण २.१७ मा यदि निज ओम बहादुर थापाको व्यवसाय नेपालमा भएको र सोही व्यवसायको सन्दर्भमा वा अन्य निजी कारणले सो वर्ष १८३ दिनभन्दा बढी नेपाल बाहिर विभिन्न मुलुकहरू भ्रमण गरेका रहेछन् भने त्यस्तो अवस्थामा निजकोMajor Economic Activities नेपाल भएको कारण निजको सामान्य बसोबासको स्थान नेपाल भएको मानिन्छ ।
(ख) अविच्छिन्न ३६५ दिनको अवधिमा १८३ दिन वा सो भन्दा बढी नेपालमा रहेको दिन गणना गर्दा नेपालभित्र आएको दिनदेखि नेपालबाट प्रस्थान गरेको दिनसम्म गणना गरिनुपर्छ । यस अवस्थालाई तलको उदाहरणबाट थप प्रष्ट पारिएको छ ।
उदाहरण २.१९ः माथि उदाहरण २.१८ मा यदि निज ओम बहादुर थापा भाद्र ६, २०६३ मा वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका रहेछन् र भदौ ५, २०६५ मा नेपाल फर्की सो पश्चात लगातार स्थायी रूपले नेपालमा नै बसोबास गरिरहेका रहेछन् । निज ओम बहादुर भाद्र ६, २०६३ मा नेपाल छोडेको कारण आय वर्ष २०६३र६४ र आय वर्ष २०६४र६५ को निमित्त निज ओम बहादुर नेपालमा अविच्छिन्न ३६५ दिनको अवधिमा १८३ दिनभन्दा कम बसेको हुँदा निज उक्त आय वर्षहरूको लागि गैर बासिन्दा व्यक्ति मानिन्छ । एवम् प्रकारले आय वर्ष २०६५।६६ को लागि निज १८३ दिनभन्दा बढी नेपालमा बसेको हुँदा उक्त आर्थिक वर्षको लागि निज नेपालको बासिन्दा मानिन्छ । यस उदाहरणमा निज ओम बहादुर २०६३ भाद्र ६ गतेदेखि २०६४ आषाढ मसान्तसम्म १८३ दिन भन्दा घटी नेपालमा रहेकोले निज आय वर्ष २०६३।६४ कोलागि गैर बासिन्दा हुन जान्छन्। त्यस्तै, आय वर्ष २०६४।६५ मा पूरै अवधि नेपालमा नबसेकाले गैर बासिन्दा हुन जान्छन् । त्यसैगरी निज आय वर्ष २०६५।६६ मा ३३० दिन नेपालमा बसेकाले यो आय वर्षका लागि बासिन्दा व्यक्ति मानिन्छन्।
(ग) नेपाल सरकारबाट आय वर्षको कुनै समयमा विदेशमा खटाइएको खण्डमा त्यस्तो खटाइएको व्यक्ति नेपालको बासिन्दा हुने अवस्था तलको उदाहरणबाट प्रष्ट हुन्छ ।
उदाहरण २.२०ः माथि उदाहरण २.१७ मा यदि निज ओम बहादुर थापा अन्य वैदेशिक रोजगारीको बदला विदेशस्थित नेपाली राजदूतावासमा नेपाल सरकारद्वारा काजमा खटाइएको र विगत चार वर्षदेखि सोही स्थानमा कार्यरत कर्मचारी रहेछन् भने त्यस्तो अवस्थामा निज नेपालको बासिन्दा भएको मानिन्छ ।
नेपालमा स्थापना भएको ट्रष्टको ट्रष्टी सम्बन्धित आय वर्षमा बासिन्दा व्यक्ति भएको, वा ट्रष्टलाई आय वर्षमा बासिन्दा व्यक्ति वा निज संलग्न भएको व्यक्तिहरूको समूहले प्रत्यक्ष वा एक वा बढी मध्यस्थ निकाय (इन्टरपोज्ड इन्टिटी)हरूको माध्यमद्वारा नियन्त्रण गरेको ट्रष्टलाई पनि नेपालको बासिन्दा मानिन्छ । यस अवस्थालाई तलको उदाहरणबाट प्रष्ट पारिएको छ ।
उदाहरण २.२१ः मानौं, भारतको कोलकातामा एउटा ट्रष्ट सञ्चालनमा रहेछ । उक्त ट्रष्टलाई नेपालका बासिन्दाहरूले नियन्त्रण गर्ने गरेका रहेछन्भने त्यस्तो ट्रष्टलाई पनि नेपालको बासिन्दा मानिन्छ ।
गैर बासिन्दा व्यक्तिको नेपालमा रहेको विदेशी स्थायी संस्थापनलाई नेपालको बासिन्दा मानिन्छ । स्थायी संस्थापन भन्नाले ऐनको दफा २ को खण्ड (कद) बमोजिम कुनै व्यक्तिले पूर्ण वा आंशिक रूपमा व्यवसाय सञ्चालन गर्ने स्थानलाई बुझाउँछ । उदाहरणको लागि, विदेशमा दर्ता भएका निर्माण कम्पनीले नेपालमा कुनै परियोजना सञ्चालन गर्ने उद्देश्यले स्थापना गरेको नेपालस्थित कार्यालय ।
(कच) व्यक्ति
“व्यक्ति” भन्नाले प्राकृतिक व्यक्ति वा निकाय सम्झनु पर्छ ।
व्यक्ति शब्दले Natural Person (जस्तै, राम, जोन, रहिमआदि) तथा कानुनी व्यक्ति अर्थात Artificial Person (जस्तै, कम्पनी, ट्रष्ट, संस्थानआदि) दुवैलाई बुझाउँछ । यस सम्बन्धी विस्तृत व्याख्या यसै निर्देशिकाको परिच्छेद ४ मा उल्लेख गरिएको छ ।
(कछ) व्यवस्थापक
“व्यवस्थापक” भन्नाले कुनै निकायको व्यवस्थापकीय निर्णयहरू गर्ने काममा संलग्न हुने व्यक्ति सम्झनु पर्छ र सो शब्दले कुनै ट्रष्टको ट्रष्टी र विदेशी स्थायी संस्थापनमा स्वामित्व भएको व्यक्ति समेतलाई जनाउँछ ।
(कज) व्यवसाय
“व्यवसाय” भन्नाले कुनै पनि प्रकारको उद्योग, व्यापार, पेशा वा यस्तै अन्य प्रकृतिका व्यावसायिक कारोबार सम्झनु पर्छ र सो शब्दले त्यस्तै प्रकारका विगत, वर्तमान वा भावी व्यवसायहरूलाई समेत जनाउँछ ।
तर यस शब्दले रोजगारीलाई जनाउँने छैन ।
रोजगारीका सम्बन्धमा सामान्यतयाः श्रमको उपभोग हुन्छ । त्यस्तै व्यवसाय तथा लगानीमा श्रम तथा पुँजी उपभोग हुन्छ । लगानीमा सामान्यतया सम्पत्ति धारण गर्ने तथा आयआर्जन गर्ने सन्दर्भमा सो व्यक्तिको सक्रिय सहभागिता (Active Engagement) हँुदैन । व्यवसायको सन्दर्भमा भने सो व्यक्तिको आयआर्जन गर्ने कार्यमा सक्रिय सहभागिता (Active Engagement) हुन्छ । माथि लगानीको व्याख्या गर्ने सन्दर्भमा दिइएको उदाहरणमा सम्पत्ति धारण गरी सक्रिय सहभागी नभई भाडामात्र आर्जन गर्ने कार्यलाई लगानी मानिन्छ भने सो व्यक्ति सक्रिय सहभागी भई सम्पत्ति एवम् बहाल आयलाई व्यवस्थापन गर्ने गरेको रहेछ भने सोलाई व्यवसाय मानिन्छ । यस अर्थमा निकायको सामान्यतया लगानीको आय हुँदैन । व्यवसाय अन्तर्गत उद्योग (Industry) अर्थात कुनै वस्तु उत्पादन गरी बिक्री गर्ने, व्यापार (Trading) अर्थात कुनै Tangible वा Intangible वस्तुको खरिद बिक्री गर्ने, पेशा (Profession) वा यस्तै अन्य प्रकृतिका व्यावसायिक कारोबार पर्दछन्।
(कझ) ब्याज
“ब्याज” भन्नाले देहायका भुक्तानी वा लाभ सम्झनु पर्छ: –
(१) साँवा बाहेक ऋण दायित्व अन्तर्गतको भुक्तानी,
(२) छुट, ऋण दायित्व अन्तर्गतको छुट, प्रिमियम, अदलबदल भुक्तानी वा त्यस्तै भुक्तानीको माध्यमबाट प्राप्त गरिएको लाभ, र
(३) वार्षिक वृत्ति वा किस्ताबन्दी बिक्री अन्तर्गत सम्पत्ति प्राप्त गर्ने व्यक्तिबाट वा वित्तीय पट्टा अन्तर्गत कुनै सम्पत्तिको प्रयोग बापत कुनै व्यक्तिलाई गरिने भुक्तानीमध्ये ब्याजको रूपमा लिइने दफा ३२ बमोजिमका रकमहरू ।
ब्याज भन्नाले सामान्यतयाः पुँजी वा लगानीको प्रतिफललाई लिन सकिन्छ । कुनै लगानी फिर्ता आउँदा लगानी गरिएको पुँजी भन्दा बढी रकम फिर्ता भएको खण्डमा यसरी प्राप्त हुने थप रकमलाई ब्याज मानिन्छ । ऋण दायित्व अन्तर्गतको छुट, प्रिमियम वा अदलबदल भुक्तानी (Discount, Premium or Swap)लाई पनि ब्याज मानिन्छ । वार्षिक वृत्ति वा किस्ताबन्दीमा हुने बिक्री वा वित्तीय संस्थाले तोकिएको किस्ताबन्दी (Fixed Installment) का आधारमा प्रदान गर्ने कर्जाको हकमा निश्चित गरिएको किस्तामा पुँजी तथा ब्याज समावेश हुन्छ र यस्तो किस्ता प्राप्त गर्ने व्यक्तिले सो किस्तामा पुँजी फिर्ता भएको रकमलाई पुँजी (अर्थात सम्पत्ति) मा समायोजन गर्नुपर्छ भने ब्याजको अंशलाई आम्दानी गणना गर्नुपर्दछ । त्यस्तै, यसरी किस्ता भुक्तानी गर्ने व्यक्तिले तिर्ने किस्तामा समावेश भएको पुँजीको अंशलाई दायित्वमा समायोजन गर्नुपर्छ भने ब्याजको अंशलाई ऐनको अधीनमा रही खर्च दाबी गर्नुपर्दछ । कर्जा वा निक्षेपमा नियमित प्राप्त हुने ब्याजको अलावा अन्य तवरबाट गणना गरिने ब्याजको उदाहरण तल प्रस्तुत गरिएको छ ।
उदाहरण २.२२ः मानौं, एउटा बैङ्कले नेपाल राष्ट्र बैङ्कले जारी गरेको रु.१ करोडको ९० दिनमा भुक्तानी प्राप्त हुने ट्रेजरी बील, रु.९८ लाख ५० हजारमा खरिद गरेको रहेछ । लगानी गर्दा रु.९८ लाख ५० हजार लगानी गरेको भए तापनि भुक्तानीको समयमा सो बैङ्कलाई रु.१ करोड प्राप्त हुने हुँदा यसरी बढी प्राप्त भएको रकम रु.१,५०,०००।– लाई ब्याज मानिन्छ ।
उदाहरण २.२३ः मानौं, एउटा वित्तीय संस्थाले बार्षिक रु.११,४८,०३७।–Fixed Installment मा तिर्ने गरी रु.५० लाखको कर्जा एकजना ग्राहकलाई प्रदान गरेको रहेछ । उक्त कर्जामा ब्याज दर १० प्रतिशत रहेछ भने सो प्राप्त गरिने किस्तालाई निम्नानुसार पुँजी फिर्ता तथा ब्याज आम्दानी गणना गर्नुपर्दछ:
साँवा बाँकी रु. |
किस्ता रकम रु. |
साँवा फिर्ता रु. |
ब्याज रकम रु. |
५००००० |
११४८०३७ |
६४८०३७ |
५००००० |
४३५१९६३ |
११४८०३७ |
७१२८४१ |
४३५१९६ |
३६३९१२२ |
११४८०३७ |
७८४१२५ |
३६३९१२ |
२८५४९९७ |
११४८०३७ |
८६२५३७ |
२८५५०० |
१९९२४६० |
११४८०३७ |
९४८७९१ |
१९९२४६ |
१०४३६६९ |
११४८०३७ |
१०४३६७० |
१०४३६७ |
|
६८८८२२२ |
५०००००० |
१८८८२२२ |
ब्याज गणना तथा पुँजी फिर्ता सम्बन्धी विस्तृत व्याख्या यसै निर्देशिकाको परिच्छेद ७ मा गरिएको छ ।
(कञ) व्यापारिक मौज्दात“व्यापारिक मौज्दात” भन्नाले कुनै व्यक्तिको स्वामित्वमा रहेको निजद्वारा सञ्चालित नियमित व्यवसायको क्रममा बिक्री गरिने सम्पत्ति, कार्य प्रगतिमा रहेको सम्पत्ति र सम्पत्तिमा समाविष्ट हुने सामाग्रीहरूको मौज्दात सम्झनु पर्छ ।तर यस शब्दले विदेशी मुद्रामा रहेको सम्पत्तिलाई जनाउँने छैन ।
व्यवसायमा प्रत्यक्ष वा अप्रत्यक्ष्य रूपमा बिक्रीको प्रयोजनको लागि राखिएका सम्पत्तिहरूलाई व्यापारिक मौज्दात भनिन्छ । व्यक्तिको व्यवसायको आधारमा यस्तो वस्तुको उदाहरण फरक फरक हुन सक्दछ । जस्तै, फर्निचर किनबेच गर्ने व्यक्तिको लागि फर्निचर व्यापारिक मौज्दात हुन्छ भने अन्य व्यक्तिको लागि भने सो ह्रासयोग्य सम्पत्ति मानिन्छ । उत्पादनको सिलसिलामा कार्य प्रगति (Work-in-progress) मा रहेका सम्पत्ति पनि व्यापारिक मौज्दात अन्तर्गत पर्दछन् ।कुनै बैङ्कले विदेशी मुद्रा र यात्रुचेक आफ्नो मौज्दातमा राखेका रहेछन्भने यस्तो विदेशी मुद्रा रयात्रुचेकलाई व्यापारिक मौज्दात नमानी वैदेशिक सम्पत्ति (Foreign Currency Assets) मानिन्छ ।
(कट) व्यावसायिक सम्पत्ति
“व्यावसायिक सम्पत्ति” भन्नाले कुनै व्यवसायमा प्रयोग गरिएको कुनै सम्पत्ति सम्झनु पर्छ ।
तर यस शब्दले व्यापारिक मौज्दात वा व्यवसायको ह्रासयोग्य सम्पत्तिलाई जनाउँने छैन ।
व्यावसायिक सम्पत्तिमा व्यापारिक मौज्दात वा व्यवसायको ह्रासयोग्य सम्पत्ति बाहेक अन्य सम्पत्ति, जस्तै शेयर, जग्गा, लिनुपर्ने रकम, पेश्की हिसाब, नगद तथा बैङ्क मौज्दात आदि पर्दछन्। स्पष्ट शब्दमा भन्नुपर्दा व्यवसायको स्वामित्वमा रहेको व्यापार मौज्दात र ह्रासयोग्य सम्पत्ति बाहेकको सबै सम्पत्ति व्यावसायिक सम्पत्ति हुन्छ । व्यावसायिक सम्पत्ति तथा अन्य सम्पत्तिको तुलनात्मक अवस्था यसै परिच्छेदको बुँदा ३ (कध) मा उल्लिखित सम्पत्तिको प्रकार (Category) दर्शाउने व्याख्या चित्रबाट समेत स्पष्ट पारिएको छ ।
(कठ) वितरण
“वितरण” भन्नाले दफा ५३ मा उल्लेख भए बमोजिम कुनै निकायवाट हुने वितरण सम्झनु पर्छ ।
सामान्यतयाः हिताधिकारी तथा निकायबीच ब्चArms Length को सिद्धान्तका आधारमा गरिने कारोबार (लेनदेनको व्यावसायिक कारोबार) र सोसँग सम्बन्धित भुक्तानीबाहेक अन्य भुक्तानीलाई निकायबाट हुने वितरण मानिन्छ । ऐनको दफा ५३ मा निकायको मुनाफाको वितरण तथा पुँजी फिर्ताको अवस्था स्पष्ट पारिएको छ । त्यस्तै सामान्यतया कुनै निकायको वितरणले सो निकायको सम्पत्ति र दायित्वको मूल्य घटाउने भएमा मात्र त्यस्तो वितरण मुनाफाको वितरण वा पुँजीको फिर्ता मानिन्छ । यसै परिच्छेदको बुँदा २.२ (क्ष) मा निकायबाट हुने मुनाफाको वितरणका अवस्था व्याख्या गरिएको छ । निकायबाट हुने वितरण सम्बन्धी थप व्याख्या यसै निर्देशिकाको परिच्छेद १३ मा गरिएको छ ।
(कठ१) विद्युतीय माध्यम
“विद्युतीय माध्यम” भन्नाले कम्प्यूटर, फयाक्स, इमेल, इन्टरनेट, विद्युतीय क्यास मेशिन, फिस्कल प्रिन्टर सम्झनु पर्दछ र सो शब्दले विभागले तोकेका अन्य स्वीकृत माध्यमलाई समेत जनाउँछ ।
(कड) विदेश पठाएको आय
“विदेश पठाएको आय” भन्नाले गैर बासिन्दा व्यक्तिको नेपालस्थित दफा ६८ बमोजिमको विदेशी स्थायी संस्थापनले विदेश पठाउनु पर्ने आय बैङ्क मार्फत विदेश पठाएको वा अन्य कुनै पनि तरिकाले भुक्तानी गरेको रकम सम्झनु पर्छ ।
व्यवसाय वा लगानीका सन्दर्भमा गैर बासिन्दा व्यक्तिको नेपालमा स्थायी संस्थापन हुन सक्दछन्। गैर बासिन्दा व्यक्तिको नेपालस्थित कुनै विदेशी स्थायी संस्थापनको आयमा लाग्ने कर दाखिला गर्ने जिम्मेवारी सोही संस्थापनको हुनेछ । यस्ता संस्थापन नेपालको प्रचलित कानुन बमोजिम स्वतन्त्र निकाय हुने यस्ता संस्थापनले आफै स्वतन्त्र रूपमा मुनाफा आदि वितरण गर्न सक्दैनन् र आफूले कमाएको मुनाफा सम्बन्धित एबचभलत ऋयmउबलथ (गैर बासिन्दा) मा पठाउने गर्छन्। त्यस्तो रकमलाई विदेश पठाएको आय मानिन्छ । गैर बासिन्दा व्यक्तिको नेपालस्थित विदेशी स्थायी संस्थापनले कुनै आय वर्षमा विदेश पठाएको आय सो विदेशी स्थायी संस्थापनले सो वर्षमा वितरण गरेको लाभांश रकम बराबर हुनेछ ।
उदाहरण २.२४ः मानौं, Global Life Insurance Company को शाखा कार्यालय नेपालको सम्बन्धित निकायबाट ईजाजत लिई नेपालमा व्यवसाय सञ्चालन गरिरहेको गैर बासिन्दा व्यक्तिको नेपालस्थित स्थायी संस्थापन हो । उक्त निकायले नेपालमा लगानी बीमा व्यवसाय गरी आर्जेको मुनाफा सो कम्पनी आफैले वितरण गर्न नमिलेको कारण त्यस्तो रकम आफ्नो Parent Company लाई पठाएको खण्डमा उक्त रकम विदेशमा पठाएको आय मानिन्छ र त्यस्तो विदेशमा पठाउने आयमा ५ प्रतिशतका दरले कर कट्टी गरी बाँकी रकम मात्रै भुक्तानी गर्नुपर्दछ ।
(कढ) विदेशी आयकर
“विदेशी आयकर” भन्नाले कुनै विदेशी मुलुकले लगाएको दफा ६९ को उपदफा (८) मा उल्लिखित विदेशी आयकर सम्झनु पर्छ र सो शब्दले कुनै विदेशी मुलुकले लगाएको अन्तिम रूपमा कट्टी हुने कर समेतलाई जनाउँछ ।
(कण) विदेशी स्थायी संस्थापन
“विदेशी स्थायी संस्थापन” भन्नाले खण्ड (भ) को उपखण्ड (५) बमोजिमको निकाय सम्झनु पर्छ ।
विदेशी स्थायी संस्थापन भन्नाले आफू बासिन्दा भएको मुलुकमा अवस्थित नरहेको निकायलाई बुझाउँछ । जस्तै, American Life Insurance Company, USA को नेपालस्थित शाखा विदेशी स्थायी संस्थापनका सम्बन्धमा थप व्याख्या यसै निर्देशिकाको परिच्छेद १४ मा गरिएको छ ।
(कत) विभाग
“विभाग” भन्नाले आन्तरिक राजस्व विभाग सम्झनु पर्छ ।
ऐनको दफा ७२ बमोजिम ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, आन्तरिक राजस्व कार्यालयहरू र करदाता सेवा कार्यालयहरू समेत विभागकै अङ्गका रूपमा लिइएको छ र विभाग भन्नाले ती कार्यालयहरूलाई समेत जनाउँदछ ।
(कथ) वैदेशिक मुद्रामा रहेको सम्पत्ति
“वैदेशिक मुद्रामा रहेको सम्पत्ति” भन्नाले नेपाली रूपैयाँबाहेक अन्य विदेशी मुद्रामा रहेको सम्पत्ति सम्झनु पर्छ ।
(कद) स्थायी संस्थापन
“स्थायी संस्थापन” भन्नाले कुनै व्यक्तिले पूर्ण वा आंशिक रूपमा व्यवसाय सञ्चालन गर्ने स्थान सम्झनु पर्छ र सो शब्दले देहायका स्थान समेतलाई जनाउँछ: –
(१) व्यवसाय सञ्चालन गर्ने सामान्य क्रममा स्वतन्त्र हैसियतले कार्य गर्ने साधारण एजेण्ट बाहेक कुनै एजेण्ट मार्फत कुनै व्यक्तिले पूर्ण वा आंशिक रूपमा व्यवसाय गर्ने स्थान,
(२) कुनै व्यक्तिको मुख्य उपकरण वा मुख्य मेशिनरी रहेको वा प्रयोग गरेको वा जडान गरेको स्थान,
(३) कुनै बाह्र महिनाको अवधिमा एकै पटक वा पटक–पटक गरी नब्बे दिनभन्दा बढी कुनै व्यक्तिले कर्मचारी मार्फत वा अन्य प्रकारले प्राविधिक, व्यावसायिक वा परामर्श सेवा प्रदान गरेको कुनै देशको एक वा एकभन्दा बढी स्थान, वा
(४) कुनै व्यक्तिले नब्बे दिन वा सोभन्दा बढी समयसम्म निर्माण गर्ने, जडान गर्ने वा स्थापना गर्ने आयोजनामा संलग्न रहेको स्थान तथा सो आयोजनाको सुपरीवेक्षण सम्बन्धी क्रियाकलापहरू सञ्चालन गरेको स्थान ।
व्यक्तिले आफ्नो व्यवसाय सञ्चालन गर्ने स्थान (Fixed Place) लाई स्थायी संस्थापन (Permanent Establishment) भनिन्छ । स्थायी संस्थापनको कर व्यवहारका लागि विदेशी स्थायी संस्थापनको रूपमा हेरिनु पर्दछ । विदेशी व्यक्तिका लागि निम्न अवस्थामा कारोबार गर्ने स्थान विदेशी स्थायी संस्थापनको रूपमा रहन्छः
व्यवसाय गर्ने स्थान (Fixed Place): गैर बासिन्दाले नेपालमा व्यवसाय सञ्चालन गर्ने गरी जुनसुकै प्रकारले स्थापना गरेको संरचना स्थायी संस्थापन हो । यस्तो संरचनामा शाखा, फ्याक्ट्री, वर्कसप, व्यवस्थापन स्थल, तेल कुवा, खानी, ग्याँस कुवा, कृषि वा वनस्पती फार्म, आदि पर्दछन् । गैर बासिन्दाको नेपालमा रहेको व्यवसाय गर्ने स्थान (Fixed Place) बाट गरिएको व्यवसाय स्थायी संस्थापन हुन उसको बसाई अवधि गणना गर्नुपर्दैन ।
उदाहरण २.२५ः मानौं, American Sport Inc ले आफ्नो सामान नेपालमा बिक्री वितरण गर्ने उद्देश्यले दरवारमार्गमा शाखा कार्यालय खोलेको रहेछ । आयकर ऐन, २०५८ मा निकाय वा प्राकृतिक व्यक्तिलाई कर लाग्ने व्यवस्था गरिएता पनि गैर बासिन्दाको शाखामात्र भएपनि स्थायी संस्थापनको रूपमा कर लाग्दछ । स्थान प्रधान रहेको अवस्थामा सो संरचना कति दिन नेपालमा प्रभावकारी रह्यो गणना गरिरहन पर्दैन ।
माथि उल्लेख गरिएका Fixed Place Based स्थायी संस्थापन बाहेक निम्न कार्यमा संलग्न रहेका गैर बासिन्दा समेत नेपालमा स्थायी संस्थापन रहेको मानिन्छ ।
एजेन्सी स्थायी संस्थापन (Agency PE): व्यवसाय सञ्चालन गर्ने सामान्य क्रममा स्वतन्त्र हैसियतले कार्य गर्ने साधारण एजेण्ट बाहेक कुनै एजेण्टमार्फत कुनै व्यक्तिको पूर्ण वा आंशिक रूपमा व्यवसाय गर्ने स्थान नेपालमा भएमा सो एजेन्टमार्फत गरिएको कामको स्थान स्थायी संस्थापन हो । स्वतन्त्र एजेन्टले गरेको काम भने स्थायी संस्थापन मानिदैन । अन्तर्राष्ट्रिय व्यवसायमा सो विदेशीले कुनै करार गर्न अधिकार दिएको स्थानीय एजेन्टले सो अधिकार सामान्य स्वरूपमा नै आफ्नो Principal को नाममा करार गरी प्रयोग गर्ने गरेको अवस्थामा त्यस्तो एजेन्सी स्वतन्त्र हैसियत बाहेकको एजेन्ट (Dependent Agent) मानिन्छ ।
उदाहरण २.२६ः मानौं, American Sport Inc ले आफ्नो सामान नेपालमा बिक्री वितरण गर्ने उद्देश्यले नेपालको बासिन्दा Amco Sports Pvt. Ltd लाई वितरक नियुक्त गरेको रहेछ र Amco Sports Pvt. Ltd ले आफ्नो सामान सो अमेरिकी कम्पनीबाट आयात गरी आफ्नै जोखिम र दर विश्लेषणमा आफै दर निर्धारण गरी सामान बिक्री गर्ने गरेको छ । बिक्रीका लागि नेपालमा आयात गरिएको सो सामानमा अमेरिकी कम्पनीको स्वामित्व, बिक्री मूल्य वा सम्भाव्य ग्राहकका सम्बन्धमा कुनै प्रतिबन्ध वा विशेष सहयोग हुँदैन, केवल सो अमेरिकी कम्पनीले नेपालमा सामान पठाउँदा Amco Sports Pvt. Ltd मार्फत पठाइदिन्छ । यस्तो अवस्थामा Amco Sports Pvt. Ltd को व्यवसायमा अमेरिकी कम्पनीको सहयोग देखिएता पनि आफ्नो कारोबार सञ्चालनमा पूर्ण रूपमा स्वतन्त्र भएकाले सामान्य आयातकर्ता मात्र हो । यस अवस्थामा Amco Sports Pvt. Ltd अमेरिकी कम्पनीको नेपाली स्थायी संस्थापन होइन ।
सोही उदाहरणमा Amco Sports Pvt. Ltd ले गर्ने बिक्रीको दर अमेरिकी कम्पनीले तोक्ने र नाफा घाटा अमेरिकी कम्पनीले व्यहोर्ने गरी कारोबार गर्ने एजेन्सी Dependent Agent को रूपमा स्थायी संस्थापन मानिन्छ । Dependent Agent हुन घोषणा वा कागजातभन्दा पनि व्यवहार प्रधान हुन्छ । Dependent Agent ले आफ्नो मूल कम्पनीको स्थायी संस्थापनको कारोबार र सो कारोबारबाट आफूले पाउने कमिशन वा अन्य प्रकारको प्रतिफल सहितको आफ्नो कारोबारको बेग्लाबेग्लै आय विवरण बुझाउनु पर्दछ ।
सेवा प्रदान गर्ने स्थायी संस्थापन (Service PE): गैर बासिन्दा व्यक्तिले नेपालमा सेवा प्रदान गर्ने गरेकोमा आय वर्षको केही अवधि आफ्ना कर्मचारी पठाई वा अन्य प्रतिनिधिद्वारा सेवा प्रदान गरेको हुन सक्तछ । कर्मचारी वा प्रतिनिधि पठाएको अवस्थामा सामान बिक्री वा उत्पादन जस्तो तोकिएको एकै आधार खडा भई व्यवसाय सञ्चालन भएको पनि देखिदंैन । तर गैर बासिन्दाले आफ्नै कर्मचारी पठाई वा अन्य प्रतिनिधित्वको तरिकाबाट नेपालमा सेवा व्यवसाय (प्राविधिक, व्यावसायिक वा परामर्श सेवा वा त्यस्तै प्रकारका सेवा) गरेको अवस्थामा निज कर्मचारी वा प्रतिनिधिको बसाई जम्मा अवधि हरेक बसाई रहेका दिनको विगत १२ महिनाको अवधिको ९० दिन (90 days stay in moving 365 days )पुगेमा सो बसाईको आधारमा सेवा प्रदान गर्ने व्यक्ति स्थायी संस्थापन हुन्छ ।
उदाहरण २.२७ः मानौं, American Sport Inc ले नेपालमा खेलकुदको अन्तर्राष्ट्रिय अवसर सम्बन्धी अनुसन्धानको काम पाएको रहेछ । उसले सो काम सम्पन्न गर्न २ कर्मचारी पठाई जनवरी १ देखि ३५ दिन काम गरेछन्। बाँकी काम सम्पन्न गर्न जुलाईमा ३० दिन र डिसेम्बरमा ६० दिन २ जना कर्मचारी नेपालमा बसि काम गरेका रहेछन् । American Sport Inc को कर्मचारीहरूले काम सम्पन्न गर्न नेपाल बसाई विगत १२ महिनाको अवधिको ९० दिन (90 days stay in moving 365 days ) पुगेकाले सो American Sport Inc स्थायी संस्थापन भएको मानिन्छ ।
निर्माण र जडान सम्बन्धी स्थायी संस्थापन (Construction PE) : गैर बासिन्दा व्यक्तिले नेपालमा कुनै निर्माण, जडान वा स्थापना गर्ने सम्बन्धी काम गरेको वा सोसँग अनुसांगिक सेवा प्रदान गरेकोअवस्थामा सो निर्माण, जडान वा स्थापना गर्ने स्थानमा सो गैर बासिन्दाको उपस्थिति निरन्तर ९० दिन वा सोभन्दा बढी भएमा सो निर्माण, जडान वा स्थापना स्थान नै स्थायी संस्थापन हुन्छ ।
उदाहरण २.२८ः मानौं, Singapore Construction Company ले मेलम्ची आयोजनाको टनेलको लेदो सुकाउने कार्यका लागि १०० दिनको कार्यादेश पाएछ । उक्त कम्पनीले आफ्नो कार्य सम्पादन गर्न ५ जना कर्मचारी पठाएको रहेछ र ती कर्मचारीहरूले तोकिएको कार्य ९५ दिनभित्र सम्पन्न गरेका रहेछन् । यस अवस्थामा Singapore Construction Company ले नेपालमा लगातार ९० दिनभन्दा बढी संलग्न रही कार्य सम्पादन गरेकोले स्थायी संस्थापन मानिन्छ ।
(कध) सम्पत्ति
“सम्पत्ति” भन्नाले कुनै पनि किसिमको मूर्त वा अमूर्त सम्पत्ति सम्झनु पर्छ र सो शब्दले मुद्रा, ख्याति, प्रविधि ज्ञान, जायजेथा, कुनै व्यक्तिको विदेशी शाखामा रहेको स्वामित्व वा हित, आम्दानी गर्ने वा भविष्यमा आम्दानी प्राप्त गर्ने अधिकार र कुनै त्यस्तो सम्पत्तिको कुनै भाग समेतलाई जनाउँछ ।
सम्पत्तिको अवस्था एवं आयकर प्रयोजनको निमित्त ती सम्पत्तिको सामान्य कारोबार तथा निःसर्गमा हुने व्यवस्था तलको तालिकाबाट प्रष्ट पारिएको छ ।
प्रकार |
व्यापारिक मौज्दात दफा २ (कञ) होइन भने |
ह्रासयोग्य सम्पत्ति दफा २ (कर) होइन भने |
व्यावसायिक सम्पत्ति दफा २ (कट) होइन भने |
गैर व्यावसायिक करयोग्य सम्पत्ति दफा २ (द) होइन भने |
अन्य सम्पत्ति |
सामान्य अवस्था |
प्राप्त रकम आयमा समावेश गरिने दफा ७ (२) (ख) |
ह्रासखर्च (दफा १९ र अनुसूचि २) र ह्रासकट्टी आधारभन्दा बढी भएको खर्च (अनुसूचि २ को ४ (२) (ख)) कट्टी गर्न पाइने |
खुद लाभलाई आय मानिने दफा ७ (२) (ग) |
खुद लाभलाई आय मानिने दफा ९ (२)(ख) |
आयकरमा कुनै असर पार्दैन |
निःसर्ग हुँदा गरिने व्यवहार |
व्यापारिक मौज्दातकोलागत खर्च बापत कट्टा गरिने, दफा १५ |
ह्रासकट्टी आधारभन्दा बढी भएको आय (दफा ७ (२) (घ), ९ (२) (ग), अनुसूची २ को अनु. ४(२) (क)) लाई आयमा समावेश गरिने |
खुद नोक्सान बापत खर्च कट्टा गर्न नपाइने |
खुद नोक्सान बापत खर्च कट्टा गर्न नपाइने |
(कन) सम्बद्ध व्यक्ति“सम्बद्ध व्यक्ति” भन्नाले एक अर्को व्यक्तिको मनसाय अनुसार काम गर्ने एक वा एकभन्दा बढी व्यक्ति वा त्यस्ता व्यक्तिहरूको समूह सम्झनु पर्छ र सो शब्दले देहायका व्यक्तिहरू समेतलाई जनाउँछ:–(१) प्राकृतिक व्यक्ति र सो व्यक्तिको नातेदार वा कुनै व्यक्ति वा सो व्यक्तिको साझेदार,(२) विदेशी स्थायी संस्थापन र सो संस्थापनमा स्वामित्व भएको व्यक्ति, र(३) कुनै निकाय आफै वा आफूसँग सम्बन्धित अन्य व्यक्ति वा सहयोगी निकाय वा त्यस्ता सहयोगी निकायसँग सम्बन्धित अन्य कुनै व्यक्ति वा निकायसँग मिलेर कुनै निकायको आय, पुँजी वा मताधिकारको पचास प्रतिशत वा सोभन्दा बढी हिस्सा नियन्त्रण गर्ने वा सोबाट फाइदा प्राप्त गर्ने निकाय ।तर देहायका व्यक्ति सम्बद्ध व्यक्ति हुने छैन:–(१) कर्मचारी,(२) विभागले सम्बद्ध व्यक्ति होइन भनी तोकेको व्यक्ति । एक व्यक्तिको मनसाय अनुसार अर्को व्यक्तिले कारोबार गर्ने वा गरेको मानिने प्रबन्ध भएको अवस्था भएमा त्यस्तो व्यक्तिलाई सम्बद्ध व्यक्ति ९ब्ककयअष्बतभम एभचकयल०भनिन्छ । आयकर प्रयोजनको निमित्त कुनै व्यक्तिलाई गर्नुपर्ने भुक्तानी निजको सम्बद्ध व्यक्तिलाई गरेको छ भने त्यस्तो भुक्तानी निजलाई नै गरे सरह मानिने व्यवस्था छ । निम्न अवस्थाका व्यक्तिहरू एक आपसमा सम्बद्ध व्यक्ति हुन्ः
नातेदार : सबै नातेदारहरू सो प्राकृतिक व्यक्तिकालागि सम्बद्ध व्यक्ति हुन्।
साझेदार : साझेदारी फर्म र सो साझेदारी फर्मका साझेदारहरू एक आपसमा सम्बद्ध व्यक्ति हुन्।
उदाहरण २.२९: मानौं, रामविनोद साझेदारी फर्मका साझेदार राम र बिनोद हुन । यस्तो अवस्थामा अन्य सम्बन्ध नभए तापनि सो साझेदारीका लागि राम र बिनोद दुवै सम्बद्ध व्यक्ति हुन् । साझेदारीका कारण नातेदार नभए तापनि राम र विनोद परस्परमा पनि सम्बद्ध व्यक्ति हुन्।
स्थायी सस्थापन : विदेशी स्थायी संस्थापन र सो संस्थापनमा स्वामित्व भएको गैर बासिन्दा व्यक्ति परस्पर सम्बद्ध व्यक्ति हुन्।अन्तर सम्बन्धित नियन्त्रक : कुनै निकाय आफै वा आफूसँग सम्बन्धित अन्य व्यक्ति वा सहयोगी निकाय वा त्यस्ता सहयोगी निकायसँग सम्बन्धित अन्य कुनै व्यक्ति वा निकायसँग मिलेर कुनै निकायको आय, पुँजी वा मताधिकारको पचास प्रतिशत वा सोभन्दा बढी हिस्सा नियन्त्रण गर्ने वा सोबाट फाइदा प्राप्त गर्ने निकाय ।