Patan Dhoka Lalitpur-3, Nepal

५.१ आयकर ऐन, २०५८ मा व्यक्तिको मुनाफा वा लाभलाई आयको रूपमा उल्लेख गरिएको छ । ऐनमा बासिन्दा व्यक्तिको नेपाल तथा अन्य जुनसुकै मुलुक स्रोत भएको आयमा कर लाग्ने व्यवस्था रहेको छ । गैर बासिन्दा व्यक्तिको नेपाल स्रोत भएको आयमा मात्र कर लाग्ने व्यवस्था रहेको छ । व्यक्तिको सम्पूर्ण प्राप्तिमा कर नलगाई व्यक्तिले विभिन्न शीर्षकबाट गरेको आयलाई समेटी सो व्यक्तिको करयोग्य आय माथि कर लगाइने व्यवस्था रहेको छ । यस अर्थमा, कर प्रयोजनको लागि व्यक्तिले प्राप्त गरेका सबै रकमहरू आय मानिएका छैनन्। त्यस्तै नगदमा प्राप्त नगरी सुविधा वा अन्य तवरबाट प्राप्त गरिएको (Receipts in Kind) वा ऐन अनुसार आय मानिएका रकमहरू चारित्रीकरण (Characterize) गरी त्यस्तो प्राप्तिलाई परिमाणीकरण (Quantification) गरी आयमा समावेश गरिनु पर्दछ । व्यक्तिले रोजगारी, व्यवसाय वा लगानीबाट प्राप्त गरेको आय र यस ऐन बमोजिम गणना गरिएको सो आयको कुल रकमलाई आयमा समावेश गरिनुपर्ने व्यवस्था रहेको छ । आकस्मिक लाभबाट प्राप्त गरेको आयमा भने अन्तिम कर कट्टी विधिले कर लाग्दछ । प्रत्येक आयका शीर्षकहरूमा समावेश गर्नुपर्ने आयलाई समावेश गरी कट्टा गर्नुपर्ने सबै खर्च घटाई गरिएको आय निर्धारणयोग्य आय हुन्छ । त्यसरी व्यवसाय, रोजगारी तथा लगानीबाट गणना गरिएको निर्धारणयोग्य आयबाट ऐनको दफा १२ बमोजिमको चन्दा खर्च वा १२क.  बमोजिमकोसम्पदा संरक्षण र खेलकुदको विकासमा कम्पनीले गरेको खर्च वा दफा १२ख.  बमोजिमको प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोष र नेपाल सरकारले स्थापना गरेको पुनर्निर्माण कोषमा योगदान गरेको खर्च वा दफा ६३ बमोजिमको अवकाश योगदान वा चारैदफा बमोजिम कुनै दाबी योग्य रकम भए सो घटाई हुन आउने रकमलाई करयोग्य आय भनिन्छ । आयका शीर्षक, निर्धारणयोग्य आय तथा करयोग्य आयलाई विस्तृत रूपमा व्याख्या गर्नु यस परिच्छेदको उद्देश्य रहेकोछ ।

५.२ आय

ऐनको दफा २ को खण्ड (ज) बमोजिम“आय” भन्नाले कुनै व्यक्तिले रोजगारी, व्यवसाय,  लगानी वा आकस्मिक लाभबाट प्राप्त गरेको आय र यस ऐन बमोजिम गणना गरिएको सोआयको कुल रकम सम्झनु पर्छ ।

कर प्रयोजनको लागि व्यक्तिले प्राप्त गरेका सबै रकमहरू आय मानिएका छैनन् । त्यस्तै नगदमा प्राप्त नगरिएको भए तापनि ऐन अनुसार आय मानिएका रकमहरू चारित्रीकरण गरी त्यस्तो प्राप्तिलाई परिमाणीकरण गरी आयमा समावेश गरिनु पर्दछ । ऐनको दफा ५ मा आय र आयका शीर्षकहरूको वर्गीकरण निम्नानुसारगरिएको छ:–

(क) व्यवसाय,

(ख) रोजगारी,

(ग) लगानी,

(घ) आकस्मिक लाभ।

ऐनको दफा ७ बमोजिम व्यवसायवाट भएको आय गणना गर्दा सेवा शुल्क, कृषि, उद्योग,  व्यापार, पेशा, व्यवसायबाट प्राप्त रकम (वस्तु वा सेवाको बिक्रीबाट प्राप्त आय), व्यावसायिक सम्पत्ति वा दायित्व निःसर्गबाट प्राप्त खुद लाभ, व्यवसायको सम्बन्धमा प्राप्त उपहार तथा व्यवसाय सञ्चालन गर्ने प्रतिबन्ध स्वीकार गरे बापत प्राप्त गरेको क्षतिपूर्ति रकम  (Compensation) तथा व्यवसायसँग प्रत्यक्षरूपले सम्बन्धित रकम समावेश गर्नु पर्दछ ।

ऐनको दफा ८ बमोजिम कुनै प्राकृतिक व्यक्तिले कुनै आय वर्षमा रोजगारीबाट प्राप्त गरेको पारिश्रमिक सो वर्षमा सो व्यक्तिको रोजगारीको आय मानी गणना गर्नु पर्दछ ।

ऐनको दफा ९ बमोजिम कुनै व्यक्तिले कुनै आय वर्षमा लगानीबाट गरेको मुनाफा र लाभहरू सो व्यक्तिको सो लगानीको सो वर्षको आय मानी गणना गर्नु पर्दछ ।

ऐनको दफा २ को खण्ड (ज१) बमोजिम आकस्मिक लाभ अन्तर्गत चिठ्ठा, उपहार, पुरस्कार, बक्सिस, जितौरी तथा अन्य कुनै पनि आकस्मिक रूपमा प्राप्त हुने लाभलाई समावेश गरिएको छ । उपर्युक्त बमोजिम व्यवसाय र लगानीको हकमा सो व्यक्तिले आयमा समावेश गरिनु पर्ने रकमहरूबाट खर्च कट्टा गर्न पाउने रकमहरू घटाई बाँकी रहने रकम अर्थात मुनाफा र लाभ,  सो व्यक्तिको आय हुन्छ भने पारिश्रमिक प्राप्त गर्ने व्यक्तिको हकमा कुल पारिश्रमिकमा समावेश गरिने रकमनै सो व्यक्तिको आय हुन्छ । त्यस्तै आकस्मिक लाभबाट प्राप्त गरेको कुल रकम नै सो व्यक्तिको आय हुन्छ र सोमा अन्तिम कर कट्टीको विधिले कर लाग्दछ । करदाताले प्राप्त गरेको वा प्राप्त गर्ने अधिकार सिर्जना भएको आय यस अन्तर्गत पर्दछ । करदाताले भुक्तानी प्राप्त गर्ने रकम नगदमा वा जिन्सी वा सेवाको रूपमा पनि हुन सक्तछ । यसरी आय गणना गर्दा आय प्राप्त गर्ने व्यक्ति अर्थात करदाताले नगद वा अन्य तवरले समेत भुक्तानी प्राप्त गर्न सक्दछन् । ऐनको दफा २२ को अधीनमा रही आयलाई नगद वा एक्रुअल आधारमा लेखाङ्कन गर्नु पर्दछ । कम्पनीको आय एक्रुअल आधारमा लेखाङ्कन गरिनु पर्दछ । प्राकृतिक व्यक्तिको रोजगारी एवम् लगानीको आय नगद प्राप्तिको आधार (Cash Basis) मा लेखाङ्कन गरिन्छ भने सामान्यतयाः व्यवसायको आय एक्रुअल आधारमा लेखाङ्कन गरिन्छ । तर,  प्राकृतिक व्यक्तिको व्यवसायकोआय भएमा नगदमा पनि लेखाङ्कन गर्न सकिन्छ ।

५.३ निर्धारणयोग्य आयः 

ऐनको दफा ६ मा निम्नानुसारको आयलाई निर्धारणयोग्य मानिएको छ:–

यस ऐनको अधीनमा रही कुनै व्यक्तिको कुनै आय वर्षमा कुनै रोजगारी, व्यवसाय, लगानी वा आकस्मिक लाभबाट भएको देहायका आयहरूलाई निर्धारणयोग्य आय मानिनेछः–

(क) बासिन्दा व्यक्तिको आयको स्रोत जहाँसुकै भएपनि त्यस्तो व्यक्तिको रोजगारी, व्यवसाय,  लगानी वा आकस्मिक लाभबाट भएको आय, र

(ख) गैरबासिन्दा व्यक्तिको आयको स्रोत नेपालमा भएको रोजगारी, व्यवसाय, लगानी वा आकस्मिक लाभबाट भएको आय ।

तर निर्धारणयोग्य आयमा दफा ११ वा ६४वा दुवै दफा बमोजिम कर छुट दिइएको कुनै पनि आय समावेश हुने छैन ।

प्रत्येक आयका शीर्षकहरूमा समावेश गर्नुपर्ने आयलाई समावेश र कट्टा गर्नुपर्ने सबैखर्च घटाई गणना गरिएको आयबाट ऐनको दफा ११ को उपदफा (१) तथा (२) बमोजिम कृषि र सहकारी व्यवसायबाट प्राप्त आय र दफा ६४ को उपदफा (२) बमोजिम स्वीकृत अवकाश कोषमा कर छुट भएकोले त्यस्ता आय घटाउँदा बाँकी रहने रकम निर्धारणयोग्य आय हुन्छ । बासिन्दा व्यक्तिको आयको स्रोत जहासुकै भएपनि सबै आय (Global Income)मा आयकर लाग्दछ भने गैर बासिन्दा व्यक्तिको नेपाल स्रोत भएको आयमा मात्र नेपालमा कर लाग्दछ । नेपाल स्रोत मानिने आय एवम्अन्तर्राष्ट्रिय कर सम्बन्धी कानुनी व्यवस्था र तिनीहरूको अवस्था अनुसारको विस्तृत व्याख्या यस निर्देशिकाको परिच्छेद ३ तथा परिच्छेद १४ मा गरिएको छ ।

 ५.४ करयोग्य आय 

करयोग्य आय भन्नाले व्यवशाय, रोजगारी तथा लगानीबाट गणना गरिएको निर्धारणयोग्य आयको कुल जम्मा रकमबाट ऐनको दफा १२, १२क., १२ख. बमोजिमको चन्दा खर्च, सम्पदा संरक्षण र खेलकुदको विकासमा कम्पनीले गरेको खर्च एवम् प्रधानमन्त्री दैवी प्रकोष उद्धार कोष र नेपाल सरकारले स्थापना गरेको पुनःनिर्माण कोषमा योगदान गरेको खर्च वा दफा ६३ बमोजिमको अवकाश योगदान वा चारै दफा बमोजिम कुनै दाबी योग्य रकम भए सो घटाई हुन आउने रकमलाई करयोग्य आय भनिन्छ । ऐनको दफा ५ बमोजिम करयोग्य आय र आयका शीर्षकहरूको वर्गीकरण निम्नानुसार गरिएको छ:–

 

५ कुनै व्यक्तिको कुनै आय वर्षको करयोग्य आय सो वर्षमा देहायका प्रत्येक आयका शीर्षकहरूको निर्धारणयोग्य आयको कुल जम्मा रकमबाट दफा १२, १२क., १२ख., ६३वा यी सबै बमोजिम कुनै दाबी गरेको रकम भए सो रकम घटाई गणना गरिएको रकम बराबर हुनेछः–

(क) व्यवसाय,

(ख) रोजगारी,

(ग) लगानी,

(घ) आकस्मिक लाभ ।

करदाताको कर दायित्व गणना करयोग्य आयका आधारमा गरिन्छ । करदाताको करयोग्य आय गणना गर्दा निर्धारणयोग्य आयको कुल जम्मा रकमबाट ऐनको दफा १२, १२क., १२ख.  बमोजिमको चन्दा खर्च,सम्पदा संरक्षण र खेलकुदको विकासमा कम्पनीले गरेको खर्च एवं प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोष र नेपाल सरकारले स्थापना गरेको पुनर्निर्माण कोषमा योगदान गरेको खर्चवा दफा ६३ बमोजिमको अवकाश योगदान वा चारै दफा बमोजिम कुनै दाबी गरेको रकम भए सो रकम घटाई करयोग्य आय गणना गर्नु पर्दछ । करयोग्य आय गणना सम्वन्धी व्यवस्था तलको तालिकामा खुलाइएको छः

विवरण व्यवसायको आय रोजगारीको आय लगानीको आय
कारोबार (Inclusions) दफा ७ बमोजिम आयमा समावेश गर्नुपर्ने रकम (उपदफा ३ मा उल्लेख भएका रकम बाहेक) दफा ८ बमोजिम आयमा समावेश गर्नुपर्ने रकम (उपदफा ३ मा उल्लेख भएका रकम बाहेक) दफा ९ बमोजिम आयमा समावेश गर्नुपर्ने रकम ( उपदफा ३ मा उल्लेख भएका रकम बाहेक)
कट्टी हुने रकम घटाउनेः
दफा १३ देखि २१ बमोजिम दाबी योग्य रकमहरू कट्टी (Deduction) दाबी गर्न पाउने लागूनहुने कट्टी (Deduction) दाबी गर्न पाउने
दफा ५९(१क)/ (१ख) बमोजिम जोखिम ब्यहोर्ने कोषमा सारेको रकमहरू बैंकिङ व्यवसाय तथा सहकारी संस्थालेकट्टी (Deduction) दाबी गर्न पाउने लागूनहुने लागूनहुने
दफा ६०(२)(ख)(३) बमोजिम दाबी योग्य रकमहरू सामान्य बीमा व्यवसायमा कट्टी (Deduction) दाबी गर्न पाउने लागूनहुने लागूनहुने
दफा ७१(४) कर मिलान दाबी कर मिलान दाबी कर मिलान दाबी
विवरण व्यवसायको आय रोजगारीको आय लगानीको आय
बमोजिमको विदेशमा तिरेको कर छोडेको अवस्थामा खर्च दाबी गर्न सक्ने छोडेको अवस्थामा खर्च दाबी गर्न सक्ने छोडेको अवस्थामा खर्च दाबी गर्न सक्ने
निर्धारणयोग्य आयमा समावेश नहुने रकम घटाउनेः आय आय आय
ऐनको दफा ११ बमोजिम छुट हुने रकमहरू कर छुट हुने रकम आयबाट घटाउने लागूनहुने कर छुट हुने रकम आयबाट घटाउने
ऐनको दफा ६४ बमोजिम स्वीकृत अवकाश कोषको कर नलाग्ने आय कर छुट हुने रकम आयबाट घटाउने लागूनहुने लागूनहुने
निर्धारणयोग्य आय निर्धारणयोग्य आय निर्धारणयोग्य आय
ऐनको दफा १२ बमोजिमको चन्दा रकम घटाउन दाबी गर्न पाउने
ऐनको दफा १२क. बमोजिम सम्पदा संरक्षण र खेलकुदको विकासमा गरेको खर्च कम्पनीले मात्र घटाउन दाबी गर्न पाउने
ऐनको दफा १२ख. बमोजिम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र नेपाल सरकारले स्थापना गरेको पुनर्निर्माण कोषमा योगदान गरेको खर्च प्राकृतिक व्यक्ति तथा निकायले घटाउन दाबी गर्न पाउने
ऐनको दफा ६३ बमोजिमको अवकाश योगदान रकम प्राकृतिक व्यक्तिले मात्र घटाउन दाबी गर्न पाउने

प्राकृतिक व्यक्तिको व्यवसाय, रोजगारी तथा लगानीको शीर्षकबाट आय हुन सक्दछ भने प्राकृतिक व्यक्तिबाहेक अन्य व्यक्ति (निकाय) को व्यवसाय तथा लगानीको शीर्षकबाट आय हुन सक्दछ । कुनै व्यक्तिको एक भन्दा बढी आयका शीर्षकबाट आय भएको खण्डमा ती सबै आयका शीर्षकहरूको कुल निर्धारणयोग्य आय सो आय वर्षको सो करदाताको निर्धारणयोग्य आय हुन्छ । सो आय वर्षको करयोग्य आय गणना गर्न जुनसुकै स्रोतको निर्धारणयोग्य आयबाट कर छुट हुने संस्थालाई दिएको चन्दा, उपहार र अवकाश योगदान घटाउन पाइन्छ ।

५.५ करको गणना र करको दर:
५.५.१ ऐनको दफा ४ मा करको गणना गर्ने र त्यसरी गणना गरिएको रकममा लाग्ने करको दर सम्बन्धमा निम्नानुसारको व्यवस्था गरिएको छ:
(१) कुनै आय वर्षका लागि दफा ३ मा उल्लिखित कुनै व्यक्तिले दाखिला गर्नुपर्ने करको रकम सो दफाको खण्ड (क), (ख) र (ग) मा उल्लिखित कुनै एक वा एक भन्दा बढी व्यक्तिको हैसियतले सो व्यक्तिले दाखिला गर्नुपर्ने करको जम्मा रकम बराबर हुनेछ ।

ऐनको दफा ३ बमोजिम कुनै आय वर्षमा करयोग्य आय भएको व्यक्तिले दाखिला गर्नुपर्ने कर,  नेपालमा रहेको वैदेशिक स्थायी संस्थापनले विदेशमा पठाएको आयमा दाखिला गर्नुपर्ने कर तथा अन्तिम रूपमा कर कट्टी हुने भुक्तानीमा दाखिला गर्नुपर्ने कर सो व्यक्तिको कर दायित्व हुनेछ । यदि कुनै व्यक्तिको यस्ता कर सम्बन्धमा एक वा एक भन्दा बढी हैसियत भएको अवस्थामा यस्ता कुल रकम बराबर सो व्यक्तिले दाखिला गर्नुपर्ने कर हुनेछ ।

उदाहरण ५.५.१ः मानौं, Global Life Insurance Company को शाखा कार्यालय नेपालमा सम्बन्धित निकायबाट ईजाजत लिई व्यवसाय सञ्चालन गरी रहेको गैर बासिन्दा व्यक्तिको नेपाल स्थित स्थायी संस्थापन हो । उक्त निकायले नेपालमा बीमा व्यवसायको करयोग्य आयमा दाखिला गर्नुपर्ने कर, उक्त निकायले अर्को कम्पनीको शेयर खरिद गरे बापत प्राप्त लाभांशमा कट्टी भएको कर रकम तथा सो निकायले मुनाफा आफ्नो Parent Company लाई पठाएको खण्डमा त्यस्तो विदेशमा पठाएको आयमा अनुसूची–१ को दफा २ को उपदफा (६) बमोजिम दाखिला गर्नुपर्ने कर सो निकायको फरक फरक हैसियतले दाखिला गर्नुपर्ने जम्मा कर रकम हुनेछ ।

(२) दफा ३ को खण्ड (क) बमोजिमको कुनै व्यक्तिले दाखिला गर्नुपर्ने करको गणना गर्दा सो आय वर्षका लागि सो व्यक्तिको करयोग्य आयमा अनुसूची–१ मा उल्लिखित सम्बन्धित दरहरू लगाई गणना गर्नु पर्नेछ । यसरी करको गणना गर्दा दफा ५१ वा ७१ वा दुवै दफा बमोजिम सो व्यक्तिले दाबी गरेको कुनै कर मिलान गर्न पाउने रकम कटाई गणना गर्नु पर्नेछ ।
प्राकृतिक व्यक्तिले दाखिला गर्नुपर्ने कर रकमबाट सो व्यक्तिले ऐनको दफा ५१ बमोजिम दाबीयोग्य औषधि उपचार बापत कर मिलान (Medical Tax Credit)वा ऐनको दफा ७१ बमोजिम दाबी योग्य वैदेशिक कर मिलान (Foreign Tax Credit) वा दुवै रकम कर मिलान गरी कर दायित्वबाट घटाउन सक्नेछ ।
उपर्युक्त अवस्था खुल्ने उदाहरण तल प्रस्तुत गरिएको छ ।

उदाहरण ५.५.२ः मानौं, संकल्प थापा भन्ने बासिन्दा व्यक्तिको आ.व.२०७६।७७ मा विदेश स्रोत भएको रोजगारी आय रु.७,००,०००।– रहेछ र निजले सो आयको स्रोत भएकै मुलुकमा रु.५५,०००।– आयकर समेत तिरेका रहेछन् । निजले सो वर्ष औषधि उपचार बापत रु.५,०००।– खर्च गरेका रहेछन् । यदि निज एकल व्यक्ति रहेको अवस्थामा निजको सो आय वर्षको करको दायित्वको गणना निम्नानुसार गर्नुपर्दछ ।
निर्धारणयोग्य विदेशी स्रोत भएको आय रु.                                                                       ७,००,०००/-
छुट रकम                                                                                                                                                          -
करयोग्य आय रु.                                                                                                            ७,००,०००/-
करको गणना
रु.४००,०००।–मा १% ले                                                                                                ४,०००/-

बाँकी रु.२,००,०००।–मा २०% ले                                                                                                             ४०,०००/-
जम्मा कर दायित्व रु.                                                                                                                               ५४,०००/-
विदेशी कर मिलान गर्नु अगाडि दाखिला गर्नुपर्ने करको  रकम रु.                                                                ५४,०००/-
नेपालको करको औसत दर                                                                                                                      ७.७१%
(विदेशी कर मिलान गर्नु अगाडि दाखिला गर्नुपर्ने करको रकम/करयोग्य आय)
दाबी योग्य वैदेशिक कर मिलान रकम रू                                                                                                  ५३,९७०/-
(नेपालको करको औसत दर ह निर्धारणयोग्य विदेशी आय) विदेशमा तिरेको कर रू                                     ५५,०००/-
आगामी वर्ष सारी दाबी गर्न मिल्ने रकम (दाबी गर्न बाँकी विदेशमा तिरेको कर) रु.                                         १,०३०/-
जम्मा कर दायित्वमा विदेशमा तिरेको कर मिलान गर्दा कर दायित्व बाँकी नरहेकोले गर्दा यस वर्ष गरेको औषधि उपचार खर्चको कर मिलान यस वर्ष मिलान हुन नसकेको मानी आगामी वर्ष सारी दाबी गर्न पाइनेछ ।
दफा (२) मा जुनसुकै कुरा लेखिएको देहायका सबै अवस्थाहरू पूरा गरेका दफा ३ को खण्ड (क) बमोजिमको बासिन्दा प्राकृतिक व्यक्तिले दाखिला गर्नुपर्ने कर त्यस्ता बासिन्दा प्राकृतिक व्यक्तिलाई सो आय वर्षमा रोजगारदाताबाट दिइएका भुक्तानीबाट दफा ८७ बमोजिम कट्टी भएको कर रकमको जम्मा रकम बराबर हुनेछः–
(क) सो आय वर्षको आयमा नेपालमा स्रोत भएको कुनै रोजगारीको आयमात्र समावेश भएको,
(ख) सो आय वर्षमा सबै रोजगारदाता बासिन्दा व्यक्ति भएको र एक पटकमा एउटामात्र रोजगारदाता भएको, र
(ग) रोजगारदाताले भुक्तानी गरेको औषधि उपचार खर्च बापतको कर मिलान र रोजगारदाताले नै भुक्तानी गरिदिएको अवकाश योगदान मात्र घटाउन दाबी गरेको तथा दफा १२ बमोजिम चन्दा बापत खर्च घटाउन दाबी नगरेको ।
यस्तो अवस्थामा सो व्यक्तिले दाखिला गर्नुपर्ने कर त्यस्ता व्यक्तिलाई सो आय वर्षमा रोजगारदाताबाट दिइएका भुक्तानीबाट ऐनको दफा ८७ बमोजिम स्रोतमा कर कट्टी भएको कर रकमको जम्मा रकम बराबर हुनेछ ।
ऐनको दफा ४(३) अनुसार एकपटकमा एउटा मात्र रोजगारदाता भएको र रोजगारदाताले भुक्तानी गरेको औषधि उपचार खर्च बापत कर मिलान र रोजगारदाताले नै भुक्तानी गरिदिएको अवकाश योगदान मात्र घटाउन दाबी गरेको तथा चन्दा बापत खर्च घटाउन दाबी नगरेको अवस्थामा निजले तिरेको र तिर्नुपर्ने रोजगारी आयको कर ऐनको दफा ८७ अनुसार कट्टी गरेको भएमा निजले आय विवरण भर्न नपर्ने हुन्छ । आय वर्षको बीचमा रोजगारदाता परिवर्तन भएका करदाताले यस्तो सुविधा प्राप्त गर्न पहिलो रोजगारदाताबाट प्राप्त गरेको भुक्तानी, सो भुक्तानीमा कट्टी भएको करसमेत खुलेको कर कट्टीको प्रमाणपत्र दोस्रो रोजगारदाता समक्ष पेश गरेको हुनु पर्दछ । दोस्रो रोजगारदाताले पनि पहिलो रोजगारदाताले गरेको भुक्तानी र सो भुक्तानीमा गरेको कर कट्टी समायोजन गरी आफूले गरेको भुक्तानीमा कर गणना गरी दफा ८७ बमोजिम भुक्तानीमा कर कट्टी गरेको हुनु पर्दछ । एकै पटकमा एकभन्दा बढी रोजगारदाता भएको अवस्थामा भने निजले आय विवरण भर्नु पर्दछ ।

उदाहरण ५.५.३: मानौं, हरिश माथेमा भन्ने एक जना कर्मचारी आ.व. २०७०।७१ मा ने.बै.लि. मा कार्यरत रहेछन् । निजको ने.वै.लि. बाहेक अन्यत्र रोजगारी लगायत अन्य कुनै आय रहेनछ । निजले सो आ.व.मा ने.बै.लि. बाट रु.५,००,०००।– तलब तथा भत्ता प्राप्त गरेका रहेछन् । ने.बै.लि.ले सो वर्ष निजको लागि ने.बै.लि. अवकाश कोषमा रु.८०,०००।– जम्मा गरिदिएको तथा निजको तलबबाट कटाई संस्थाले नै नागरिक लगानी कोषमा रु.२०,०००।–जम्मा गरिदिएको रहेछ । निजले अवकाश कोषमा जम्मा गरेको योगदान बापतको रकम घटाउन दाबी गरेको तर निजले चन्दा खर्च तथा औषधि उपचार बापत कर मिलानको लागि दाबी नगरेको खण्डमा निजले आय विवरण पेश गर्नु पर्दैन । यस अवस्थामा पारिश्रमिक भुक्तान गर्दा ऐनको दफा ८७ अनुसार ने.बै.लि. ले कट्टा गरेको कर रकम नै निजको कर दायित्व हुन्छ ।

(४) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको देहायका सबै अवस्थाहरू पूरा गरेका दफा ३ को खण्ड (क) बमोजिमको बासिन्दा प्राकृतिक व्यक्तिले कुनै आय वर्षमा दाखिला गर्नुपर्ने कर अनुसूची–१ को दफा १ को उपदफा (७) मा उल्लिखित रकम बराबर हुनेछ ।
(क) सो आय वर्षमा सो व्यक्तिको नेपालमा स्रोत भएको व्यवसायबाट प्राप्त आय मात्र भएको,
(क१) औषधि उपचार खर्च बापत दफा ५१ बमोजिम तथा अग्रिम कर कट्टी बापत दफा ९३ बमोजिम कर मिलान गर्न दाबी नगरेको,
(ख) व्यवसायबाट प्राप्त आय दुई लाख रूपैयाँ र व्यवसायको कारोबार बीस लाख रूपैयाँ भन्दा बढी नभएको, र,
(ग) सो व्यक्तिले सो आय वर्षमा यो व्यवस्था लागू हुने गरी छनौट गरेको,
(घ) मूल्य अभिवृद्धि करमा दर्ता नभएको ।
निश्चित सीमासम्मको कारोबार गर्ने करदातालाई कर दाखिला सरलीकृत गरी पूर्वानुमानित  (Presumptive) रूपमा आयकर दायित्व यकिन गरी कर दाखिलालाई सहज बनाउनु यस उपदफाको उद्देश्य रहेको छ । यो व्यवस्था बासिन्दा प्राकृतिक व्यक्तिको नेपालमा स्रोत भएको आय मात्र भएमा लागूहुन्छ । साथै, यो व्यवस्था लागूहुन वार्षिक कारोबार बीस लाख रूपैयाँ र आय दुई लाख भन्दा बढी हुनु हुँदैन । यो व्यवस्था लागू गरी पाउँन करदाताले छनौट गर्नुपर्ने हुन्छ । यस प्रयोजनको निमित्त अनुसूची–१ को दफा १ को उपदफा (७) मा करको दायित्व निम्नानुसार हुने व्यवस्था रहेको छ ।
(क) महानगरपालिका वा उपमहानगरपालिका क्षेत्रमा व्यवसाय गर्ने प्राकृतिक व्यक्तिका हकमासात हजार पाँच सय रूपैयाँ,
(ख) नगरपालिका क्षेत्रमा व्यवसाय गर्ने प्राकृतिक व्यक्तिका हकमा चार हजार रूपैयाँ,
(ग) खण्ड (क) र (ख) मा उल्लिखित क्षेत्र बाहेक अन्य क्षेत्रमा व्यवसाय गर्ने प्राकृतिक व्यक्तिका हकमा दुई हजार पाँच सय रूपैयाँ ।
ऐनको उक्त व्यवस्था बमोजिम पूर्वानुमानित आयकर दाखिला गर्ने व्यक्तिले भुक्तानी प्राप्त गर्दा ऐनको दफा ८८ वा ८९ बमोजिम स्रोतमा कर कट्टी भएको कर रकम वा Medical Tax Credit आफ्नो कर दायित्वसँग मिलान गर्न सक्ने छैन ।

उदाहरण ५.५.४ः मानौं, मिण्टु जोनाथन भन्ने व्यक्तिको जेनिथ उद्योग नामको एकलौटी व्यवसाय (Proprietary Firm) काठमाडौंको बानेश्वरमा रहेछ । उक्त उद्योगले आ.व.  २०७६।७७ मा रु.१४ लाखको बिक्री गरेको रहेछ । उक्त उद्योगले सो वर्ष रु.१,४२,०००।– आय आर्जन गरेको रहेछ । उक्त आयमा सो उद्योगले बैंकबाट रु.१०,०००।– को १५ प्रतिशतले हुने रु.१,५००।– कर कट्टा गरी प्राप्त गरेको ब्याज रु.८,५००।– समेत समावेश रहेछ । सो वर्ष निजले औषधि उपचारमा रु.६,०००।– खर्च समेत गरेका रहेछन् । निज मिण्टु जोनाथनले ऐनको दफा ४ को व्यवस्था लागू हुने गरी छनौट गरेका रहेछन् भने निजको करको दायित्व अनुसूची–१ को दफा १ को उपदफा (७) बमोजिम रु.७,५००।– हुनेछ । तर, सो उद्योगको निक्षेपको ब्याज आम्दानीबाट कट्टा भई दाखिला भएको अग्रिम कर रु.१,५००।– निजले आफ्नो कर दायित्वसँग मिलान गर्न पाउने छैनन् तथा निजले औषधि उपचारमा खर्च गरेको भए पनि सो बापत ऐनको दफा ५१ बमोजिमकट्टी गर्न पाउने कर आफ्नो कर दायित्वसँग मिलान गर्न पाउने छैनन्।

आर्थिक ऐन, २०७७ ले आ.व.२०७६।७७ मा लाग्ने करमा ७५ प्रतिशत छुट दिएकोले उक्त करदाताले सो आ.व.मा रु.१,८७५।– बुझाउनुपर्दछ ।
(४क) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको देहायका अवस्था पूरा गरेका दफा ३ को खण्ड (क) बमोजिमको बासिन्दा प्राकृतिक व्यक्तिले कुनै आय वर्षमा कारोबारको आधारमा दाखिला गर्नुपर्ने कर अनुसूची –१ को दफा १ को उपदफा  (१७) मा तोकिएको दर अनुसार गणना गरिएको रकम बराबर हुनेछ ः–
(क) सो आय वर्षमा सो व्यक्तिको नेपालमा स्रोत भएको व्यवसायबाट प्राप्त आयमात्र भएको,
(ख) व्यवसायको कारोबार वार्षिक बीस लाख रूपैयाँभन्दा बढी र पचास लाख रूपैयाँभन्दा घटी भएको,
(ग) मूल्य अभिवृद्धि करमा दर्ता नभएको, र
(घ) चिकित्सक, इञ्जिनियर, लेखापरीक्षक, कानुन व्यवसायी, खेलाडी, कलाकार, परामर्शदाता लगायतका प्राकृतिक व्यक्तिले प्रदान गर्ने परामर्श तथा विशेषज्ञ सेवा बापतको आय नभएको ।
उपर्युक्त बमोजिम कारोबार रकमको गणना गर्दा बीस लाख रूपैयाँसम्मको कारोबारमा ऐनको दफा ४ को उपदफा (४) बमोजिमको कर र सोभन्दा बढीको कारोबार रकममा निम्न बमोजिमको दरले कर लाग्ने व्यवस्था ऐनको अनुसुची–१ को दफा १ को उपदफा (१७) मा रहेको छ ।
(क) ग्याँस, चुरोट लगायतका तीन प्रतिशतसम्म कमिशन वा मूल्य थप गरी वस्तुको कारोबार गर्ने व्यक्तिलाई कारोबार रकमको शून्य दशमलब दुई पाँच प्रतिशत,
(ख) खण्ड (क) मा उल्लिखित व्यवसाय बाहेकको व्यवसाय गर्ने व्यक्तिलाई कारोबार रकमको शुन्य दशमलब सात पाँच प्रतिशत,
(ग) सेवा व्यवसाय गर्ने व्यक्तिलाई कारोबार रकमको दुई प्रतिशत । ५) दफा ३ को खण्ड (ख) बमोजिमको विदेशी स्थायी संस्थापनले दाखिला गर्नुपर्ने करको गणना गर्दा त्यस्तो संस्थापनले सो आय वर्षमा विदेश पठाएको आयमा अनुसूची–१ को दफा २ को उपदफा (६) मा उल्लिखित दर लगाई गणना गर्नु पर्नेछ ।
विदेशी स्थायी संस्थापनलाई बासिन्दा व्यक्ति सरह कर लगाइन्छ र विदेशमा पठाएको आयलाई लाभांश सरह मानिन्छ । नेपाल स्थित विदेशी स्थायी संस्थापनले विदेश पठाएको आयमा अनुसूची–१ को दफा २ को उपदफा (६) मा उल्लेख गरे अनुसारको पाँच प्रतिशतका दरले कर लाग्दछ ।
उदाहरण ५.५.५: मानौं, Global Life Insurance Company को शाखा कार्यालय सम्बन्धित निकायबाट इजाजत लिई नेपालमा व्यवसाय सञ्चालन गरिरहेको गैर बासिन्दा व्यक्तिको नेपाल स्थित स्थायी संस्थापन रहेछ । उक्त निकायले आर्थिक वर्ष २०७५।७६ मा नेपालमा लगानी बीमा व्यवसायबाट रु.तीन  करोड पचास लाख आय आर्जन गरेको रहेछ । सो वर्ष रु.दुई करोड आफ्नो Parent Company लाई पठाएको रहेछ । यसरी विदेशमा पठाएको आयमा अनुसूची–१ को दफा २ को उपदफा (६) बमोजिम ५ प्रतिशतले हुन आउने रकम रु.१० लाख कर दाखिला गर्नु पर्नेछ ।
(६) दफा ३ को खण्ड (ग) बमोजिमको व्यक्तिले दाखिला गर्नुपर्ने कर सो व्यक्तिले सो आय वर्षमा प्राप्त गरेको अन्तिम रूपमा कर कट्टी हुने प्रत्येक भुक्तानीको रकममा दफा ८७, ८८, ८८क. र ८९ मा उल्लिखित दर लगाई गणना गरिएको जम्मा रकम बराबर हुनेछ ।

ऐनको दफा ९२ मा उल्लेख गरिएको अन्तिम रूपमा कर कट्टी हुने भुक्तानीलाई आयमा समावेश गर्नुनपर्ने भएको कारण त्यस्ता भुक्तानीमा ऐनको दफा ८७, ८८, ८८क., र ८९ मा तोकिएको करको दर लगाई गणना गरिएको जम्मा रकमलाई कर दायित्व मानिन्छ । भुक्तानीमा गरिनुपर्ने कर कट्टी तथा अन्तिम कर कट्टी हुने भुक्तानी सम्बन्धी प्रावधान यसै निर्देशिकाको परिच्छेद १६ मा विस्तृत रूपमा व्याख्या गरिएको छ ।
 
५.५.२ व्यक्तिको करको दायित्व गणना गर्दा करयोग्य आयबाट ऐनको अनुसूची–१ को दफा १ वा दफा २ मा उल्लिखित व्यवस्था एवं दर प्रयोग गरी गर्नु पर्दछ । यसको व्यहोरा तल उल्लिखित तालिकामा खुलाइएको छ ।

प्राकृतिक व्यक्तिका लागि
दफा ५ करयोग्य आय
करको दर अनुसूचि– १ को दफा १
करयोग्य आयबाट घटाउने
उपदफा (१) व्यक्तिगत सीमा (एकलौटी फर्म भएमा समेत)
उपदफा (२) दम्पति वा आश्रित भएको विधुर विधवा सीमा (एकलौटी फर्म भएमा समेत)
उपदफा (५) दुर्गम भत्ता
उपदफा (६) वैदेशिक भत्ता
उपदफा (९) निवृत्तभरण सीमा(आ.व.२०७७।७८ मा हटाइएको ।
उपदफा (१०) अपाङ्गता सीमा
उपदफा (१२) जीवन बीमा
उपदफा (१६) स्वास्थ्य बीमा
अनुसूचि–१ को दर बाँकी करयोग्य आयमा
घटाउने उपदफा (११) महिला रोजगार कर मिलान
दफा ५१ औषधोपचार कर मिलान
दफा ७१ वैदेशिक कर मिलान
कर दायित्व
निकायका लागि
करयोग्य आय दफा ५
करको दर अनुसूचि–१ को दफा २
घटाउने
दफा ७१ वैदेशिक कर मिलान
करको दायित्व
नोटः तिर्न पर्ने बाँकी करमा निम्न कर मिलान गर्न पाइन्छः
१. गत वर्षसम्ममा भुक्तान गरेको करमध्ये बाँकी रहेको कर रकम,
२. अन्तिम रूपमा कर कट्टी हुने भुक्तानीबाहेक अन्य भुक्तानीमा कट्टा भएको कर रकम,
३. भुक्तानीमा कट्टा नभएको तर भुक्तानीकर्ताले जम्मा गरिदिएको कर,
४. किस्ताबन्दीमा तिरेको कर,
५. संशय कर निर्धारण भई तिरेको कर (आंशिक आय वर्षको), करको दर एवम् सो दर लागूहुने सम्बन्धमा यसै निर्देशिकाको परिच्छेद २३ मा विस्तृत वर्णन गरिएको छ ।