Patan Dhoka Lalitpur-3, Nepal

३.१ आयकर ऐन, २०५८ मा आय आर्जन गर्ने व्यक्तिलाई आयकर लगाइने व्यवस्था छ । कर लगाउने प्रयोजनको लागि बसोबासको अवस्था (Residential Status) एवं आयको स्रोतलाई मुख्य आधार मानिएको छ । बासिन्दा व्यक्तिले संसारभर जहाँआय आर्जन गरेको भए तापनि नेपालमा आयकर तिर्नु पर्ने व्यवस्था रहेको छ । गैर बासिन्दा व्यक्तिले नेपालमा आय आर्जन गरेको वा नेपाल स्रोत मानिने आयमा मात्र कर तिर्नु पर्ने व्यवस्था रहेको छ । बासिन्दा व्यक्तिको वैदेशिक आय छ भने वैदेशिक आय भएको देशमा कर लागे पनि वा कर नलागे पनि त्यहाँबाट आर्जित आयमा नेपालमा कर लाग्दछ । यसरी नेपालमा भएको र विदेशमा भएको आय गणना गर्न कस्तोकस्तो आय वा खर्च नेपालको स्रोत मानिने र कस्तो कस्तो आय वा खर्च विदेशी स्रोत मानिने भन्ने सम्बन्धमा स्पष्ट गर्नु यस परिच्छेदको मुख्य उद्देश्य रहेको छ ।

३.२ नेपालमा कर लगाउने आधार

आयकर ऐन, २०५८ ले नेपालका बासिन्दा व्यक्तिकोसंसारभरको आयमा नेपालमा कर लाग्ने व्यवस्था गरेको छ । तर गैर बासिन्दाको हकमा भने नेपालमा स्रोत भएको आयमा मात्र कर लाग्ने व्यवस्था गरेको छ । ऐनको दफा ३ मा करको आधार अन्तर्गत कुनै व्यक्तिलाई निम्नानुसार कर लगाउने व्यवस्था छ :-

३. देहायका प्रत्येक व्यक्तिलाई प्रत्येक आय वर्षमा यस ऐन बमोजिम कर लगाई असुल उपर गरिनेछः–

(क) कुनै आय वर्षमा करयोग्य आय भएको व्यक्ति,

(ख) दफा ६८ को उपदफा (३) र (४) बमोजिम कुनै आय वर्षको आय विदेशमा पठाउने गैरबासिन्दा व्यक्तिको नेपालमा अवस्थित विदेशी स्थायी संस्थापन, र

(ग) कुनै आय वर्षमा अन्तिम रूपमा कर कट्टी भई भुक्तानी प्राप्त गर्ने व्यक्ति ।

उपर्युक्त अनुसार बासिन्दा व्यक्तिको हकमा खण्ड (क) को आय नेपाल वा जुनसुकै मुलुकको स्रोतको भए पनि र खण्ड (ख) र (ग) को आयमा नेपालमा कर लाग्छ । तर, गैर बासिन्दा व्यक्तिको हकमा नेपालमा स्रोत भएको आयमा मात्र नेपालमा कर लाग्छ ।

नेपालको कुनै बासिन्दा व्यक्तिले विदेशमा आर्जन गरेको आयमा आय आर्जन गरेको देशमा समेत कर तिर्नु पर्ने र उक्त आयमा नेपालमा पनि कर लाग्ने हुँदा दोहोरो कर लाग्न जाने अवस्था नहोस् भन्ने उद्देश्यले दफा ७१ मा वैदेशिक कर मिलान गर्ने सम्बन्धमा व्यवस्था गरेको छ । ऐनको उक्त दफाले नेपालको बासिन्दा व्यक्तिले विदेशमा आर्जित आयमा त्यस देशमा भुक्तानी गरेको कर नेपालमा विदेशी आय समेत समावेश गर्दा कायम हुने कर दायित्वमा समायोजन गर्न पाउने व्यवस्था गरेको छ । यसले गर्दा कुनै व्यक्तिको वैदेशिक आय भएको अवस्थामा समेत दोहोरो करबाट उन्मुक्ति दिने व्यवस्था गरेको छ । करका आधार एवं सो आधारका विविध पक्ष माथि विस्तृत व्याख्या यसै निर्देशिकाको परिच्छेद ४ मा गरिएको छ ।

३.३ आय, नोक्सानी, लाभ र भुक्तानीको स्रोत नेपाल मानिने अवस्था

आयकर ऐन २०५८ मा बासिन्दा व्यक्तिले नेपालमा वा विदेशमा आर्जन गरेको आयमा नेपालमा कर लाग्ने व्यवस्था गरेको छ । त्यस्तै गैर बासिन्दा व्यक्तिले नेपालमा गरेको आय वा  निजको नेपाल स्रोत मानिने आय रहेछ भने त्यस्तो आयमा नेपालमा कर तिर्नु पर्ने व्यवस्था रहेको छ । ऐनको दफा ६७ मा आय, नोक्सानी, लाभ र भुक्तानीको स्रोत नेपाल मानिने अवस्थाका बारेमा खुलाइएको छ ।

३.३.१ आयको स्रोत

ऐनको दफा ६७ को उपदफा (१) ले व्यक्तिको आयको स्रोतको सम्बन्धमा निम्नानुसार व्यवस्था गरेको छ:–

६७(१) कुनै व्यक्तिको कुनै रोजगारी, व्यवसाय वा लगानीबाट भएको आयको स्रोतमा खण्ड (ख) मा उल्लिखित रकमभन्दा खण्ड (क) मा उल्लिखित रकम बढी भएको भए त्यस्तो बढी भएको रकमको हदसम्म नेपालमा रहेको स्रोत मानिनेछ ।

(क) सो आय गणना गर्दा समावेश गरिएका नेपालमा स्रोत भएका रकमहरू,

(ख) सो आय गणना गर्दा कट्टी गरिएका नेपालमा स्रोत भएका रकमहरू ।

कुनै व्यक्तिले रोजगारी,व्यवसाय वा लगानीसँग सम्बन्धित कार्यमा संलग्न रही प्राप्त गरेको नेपालमा स्रोत भएको रकमलाई खण्ड (क) अनुसार उक्त व्यक्तिले आप्mनो आयमा समावेश गर्नु पर्दछ । खण्ड (क) अनुसार आय प्राप्त गर्नको लागि नेपालमा स्रोत भएका विभिन्न खर्चहरू खण्ड (ख) बमोजिम दाबी गर्नु पर्दछ । कुनै व्यक्तिको यस प्रकार आयमा समावेश हुने रकम आय आर्जन गर्ने सम्बन्धमा भएको खर्च भन्दा बढी भएको हदसम्मको रकम नेपालमा स्रोत भएको आय मानिन्छ ।

यस व्यवस्थालाई प्रष्ट पार्ने उदाहरण तल प्रस्तुत गरिएको छ ।

उदाहरण ३.३.१ः मानौं, राम प्रित सिंह नामको गैर बासिन्दा व्यक्तिले २०७५।७६ कोआय वर्षमा भृकुटी मण्डपमा आयोजना गरिएको दशैं मेलामा एउटा स्टल भाडामा लिई मसला बिक्री गर्ने कारोबार गरेका रहेछन् । निजले उक्त दशैं मेलामा रु.१० लाखको मसला बिक्री गरेका रहेछन्। निजले बिक्री गरेको मसला खरिद गर्न रु.७ लाख तथा स्टल भाडा बापत रु.१ लाख गरी जम्मा रु.८ लाख खर्च गरेका रहेछन् । यस अवस्थामा राम प्रित सिंहको आयमा समावेश गर्नु पर्ने रकम रु.१० लाख हुन्छ र उक्त आय प्राप्त गर्न भएको खर्च रु.८ लाख खर्चको रूपमा कट्टा गर्न पाउँछन् । राम प्रित सिंहको आयमा समावेश गर्नुपर्ने रकम रु.१० लाख खर्चको रूपमा कट्टा गर्न पाउँने रकम रु.८ लाख भन्दा रु.२ लाखले बढी भएकोले उक्त रु.२ लाख राम प्रित सिंहको नेपालमा स्रोत भएको आय मानिन्छ ।

३.३.२ नोक्सानीको स्रोत
कुनै व्यक्तिको आयको स्रोत सम्बन्धमा दफा ६७ को उपदफा (१) ले व्यवस्था गरेको छ भने उपदफा (२) ले नोक्सानीको स्रोत सम्बन्धमा व्यवस्था गरेको छ । ऐनको दफा ६७ को उपदफा (२) ले नोक्सानीको स्रोत सम्बन्धमा निम्नानुसार व्यवस्था गरेको छ:–
६७(२) कुनै व्यक्तिको कुनै व्यवसाय वा लगानीबाट हुन गएको नोक्सानीमा खण्ड (ख) मा उल्लिखित रकमभन्दा खण्ड (क) मा उल्लिखित रकम बढी भएको भए त्यस्तो बढी भएको रकमको हदसम्म नेपालमा रहेको स्रोत मानिनेछ ।
(क) सो व्यवसाय वा लगानीको आय गणना गर्दा कट्टी गरिने नेपालमा स्रोत भएका रकमहरू,
(ख) सो आय गणना गर्दा समावेश गरिएका नेपालमा स्रोत भएका रकमहरू ।

कुनै व्यक्तिले कुनै आय वर्षमा व्यवसाय वा लगानी कार्यमा संलग्न रही आय आर्जन गरेको छ र उक्त आय वर्षमा व्यक्तिको आयमा नेपालमा स्रोत भएका रकमहरू समावेश गर्दा हुने आय भन्दा उक्त आय आर्जन गर्न खर्चको रूपमा कट्टा गर्न पाउने नेपालमा स्रोत भएका रकमहरू बढी भएका कारणबाट नोक्सानी भएको छ भने त्यस्तो नोक्सानीको स्रोत नेपालमा भएको मानिन्छ ।

उदाहरण ३.३.२ः मानौं, भारतको लखनउ निवासी मोहमद हुसेनले २०७५।७६ को आय वर्षमा भृकुटी मण्डपमा आयोजना गरेको दशैं मेलामा खसी बिक्री गर्ने स्टल लिएका रहेछन् । उक्त स्टलमा बिक्रीको लागि ल्याएको १०० वटा खसीको लागि रु.५ लाख खर्च भएको रहेछ । मोहमद हुसेनले खसी राख्ने स्टलको लागि दशैं मेला आयोजकलाई रु.५० हजार भाडा भुक्तानी गरेका रहेछन्। निजले बिक्रीको लागि लखनउबाट खसी ल्याएकोमा लखनउ तथा काठमाडौंको हावापानी फरक भएको कारणबाट बिक्रीको लागि ल्याएको खसीमध्ये २० वटा खसी बिक्री गर्नु अगावै मरेका रहेछन् । मोहमद हुसेनले दशैं मेला अवधिमा बचेका ८० वटा खसी बिक्री गर्दा रु.४ लाख आय प्राप्त गरेछन्। यस अवस्थामा निजको आयमा समावेश हुने रकम रु.४ लाख भएको तथा खसीको लागत मोल तथा स्टल भाडा गरी कट्टा हुने खर्च रु.५ लाख ५० हजार भएकोले आयमा समावेश हुने रकम भन्दा खर्चको रूपमा कट्टा गर्न पाउने रकम रु.१ लाख ५० हजारले बढी भएको हुँदा नोक्सानी हुन गएको छ । यसरी नोक्सानी भएको रु. १ लाख ५० हजारको नोक्सानीको स्रोत नेपाल भएको मानिन्छ ।

३.३.३     लाभको स्रोत
कुनै व्यक्तिको नेपालमा भएको सम्पत्ति वा दायित्वको निःसर्गमा गणना गरिने लाभको स्रोतका सम्बन्धमा उपदफा (३) मा निम्नानुसार व्यवस्था रहेको छ ।
६७(३) आय गणना गर्दा समावेश गरिने रकमको देहायको अवस्थामा नेपालमा स्रोत भएको मानिनेछ :-

६७(३) (क) नेपालमा स्रोत रहेका सम्पत्ति वा दायित्वको निःसर्गबाट प्राप्त लाभबाट नेपालमा स्रोत रहेको सम्पत्ति वा दायित्वको निःसर्गबाट हुन गएको नोक्सानी घटाई हुन आउने दफा ७ को उपदफा (२) को खण्ड (ग) वा दफा ९ को उपदफा (२) को खण्ड (ख) बमोजिमका खूद लाभ,

यस दफाको उपदफा (३) मा कुनै व्यक्तिको व्यवसाय तथा लगानी सम्बन्धमा आय प्राप्त गर्न प्रयोग भएको ह्रासयोग्य सम्पत्तिको निःसर्ग तथा व्यक्तिको गैर व्यावसायिक करयोग्य सम्पत्तिको निःसर्गमा भएको लाभको स्रोतको सम्बन्धमा उल्लेख भएको छ । कुनै व्यक्तिको नेपालमा स्रोत रहेको सम्पत्ति तथा दायित्वको निःसर्गबाट भएको आयलाई नेपालमा स्रोतभएको मानिने व्यवस्था उपदफा(३)ले गरेको छ।

उदाहरण ३.३.३ः मानौं, ब्रासिल ड्रिल लि. ब्राजिलको सुरुङ्ग निर्माण गर्ने कम्पनी रहेछ । उक्त कम्पनीले नेपालको त्रिशुली नदीमा जल विद्युत उत्पादन गर्ने नेपालको कम्पनीसँग सुरुङ्ग निर्माण गर्न ठेक्का लिएको रहेछ । ब्रासिल ड्रिल लि.ले सुरुङ्ग निर्माण कार्य सम्पन्न गर्नको लागि मुग्लिङ्गमा १० बिगाहा जग्गा रु.१० करोडमा निर्माण संयन्त्र तथा निर्माण सामाग्री राख्ने प्रयोजनको लागि खरिद गरेको रहेछ । कम्पनीले निर्माण कार्यमा प्रयोग हुने मेशिन तथा औजार खरिद गर्नको लागि बेलायतको GHI बैकसँग ५ लाख अमेरिकी डलर ऋण लिएको रहेछ । कम्पनीले आय वर्ष २०६४।६५ मा सुरुङ्ग निर्माण गर्ने कार्य सम्पन्न गरेको रहेछ र बेलायती बैंङ्कसँग लिएको ऋण बापत भुक्तानी गर्न बाँकी ५ लाख अमेरिकी डलर पनि आय वर्ष २०६४।६५ मा नै भुक्तानी गरेको रहेछ । ब्रासिल ड्रिल लि.ले ऋण लिँदा प्रति अमेरिकी डलरको रु.६० नेपालमा सटही दर थियो तर आय वर्ष २०६४।६५ मा ऋण रकम भुक्तानी गर्दा प्रति अमेरिकी डलरको सटही दर रु.७० प्रति अमेरिकन डलर रहेछ । निर्माण कार्य सम्पन्न भएकोले निर्माण संयन्त्र र निर्माण सामग्री राख्नको लागि खरिद गरेको जग्गा पनि कम्पनीको व्यावसायिक प्रयोजन समाप्त भएकोले आय वर्ष २०६४।६५ मा बिक्री गरेको रहेछ । उक्त जग्गा बिक्री गर्दा सो कम्पनीलाई रु.१५ करोड प्राप्त भएको रहेछ । यस अवस्थामा  ब्रासिल ड्रिल लि.को जग्गा बिक्री र व्यावसायिक सम्पत्ति बिक्री बापत लाभ भएको र व्यावसायीक प्रयोजनको लागि विदेशी मुद्रामा लिएको ऋण दायित्वको निःसर्ग गर्दा नोक्सानी हुन्छ ।

उपर्युक्त उदाहरणमा ब्रासिल ड्रिल लि. कम्पनीको जग्गा निःसर्गबापत रु.५ करोड लाभ हुन्छ । विदेशी मुद्रामा लिएको ऋण दायित्वको निःसर्ग गर्दा मुद्रा अवमूल्यनको कारणबाट अमेरिकी डलर ५ लाखको नेपाली सटही दर अनुसार रु.३ करोड ५० लाख भुक्तानी गर्नुपर्ने हुन्छ र ऋण दायित्व सिर्जना हुँदाको बखत उक्त ऋणको नेपाली मुद्रामा लेखाङ्कन गर्दा रु.३ करोड मात्र दायित्व थियो । यस अवस्थामा दायित्व निःसर्ग गर्दा रु.५० लाख नोक्सानी हुन्छ । ऐनको दफा ६७ को उपदफा (३) को व्यवस्था अनुसार ब्रासिल ड्रिल लि. को जग्गा अर्थात व्यावसायिक सम्पत्ति निःसर्गमा भएको लाभ रु.५ करोडबाट ऋण अर्थात व्यवसायिक दायित्व निःसर्गबापत भएको नोक्सानी रु. ५० लाख कट्टा गर्दा खुद लाभ रु.४ करोड ५०लाख हुन आउँछ । उक्त लाभ रु.४ करोड ५० लाखको स्रोत नेपाल मानिन्छ ।

उदाहरण ३.३.४ः मानौं,Mr. Ricky नेदरल्याण्डको बासिन्दा व्यक्ति रहेछन्। उनले बैकिङ्ग व्यवसायलाई उपयोगी हुने Software विकास गरेका रहेछन् । निजले उक्त Software नेपालको एक्जिम बैंङ्कलाई वार्षिक रु.१ करोड रोयल्टी लिने गरी प्रयोग गर्न दिएका रहेछन् । उनले उक्त रोयल्टी बापत प्राप्त गरेको रकम मध्येबाट आय वर्ष २०६२।६३ मा सोही बैंङ्कको रु.१ करोड बराबरको शेयर खरिद गरेका रहेछन् । Mr. Ricky ले सो शेयर आय वर्ष २०६४।६५ मा १ करोड ५० लाखमा बिक्री गरी निःसर्ग गरेको र सो बापतMr. Ricky लाई रु.५० लाख लाभ भएको रहेछ । Mr. Ricky प्राकृतिक व्यक्ति भएको र शेयर निःसर्ग बापत प्राप्त लाभलाई ऐनको दफा ९ को उपदफा (२) को खण्ड (ख) अनुसारको आय अर्थात गैर व्यावसायिक करयोग्य सम्पत्तिको निःसर्गबाट भएको लाभ हुन्छ । शेयर निःसर्ग बापत प्राप्त उक्त लाभ नेपालमा स्रोत भएको आय मानिन्छ ।

कुनै व्यक्तिले नेपालमा व्यवसाय तथा लगानी कार्यमा संलग्न रही आय आर्जन गर्ने प्रयोजनको लागि विभिन्न सम्पत्ति तथा दायित्व बहन गरेको हुन्छ । व्यवसाय वा लगानी कै क्रममा त्यस्ता सम्पत्ति तथा दायित्वको निःसर्ग हुन्छ । यसरी सम्पत्ति तथा दायित्वको निःसर्गको क्रममा भएको लाभ नेपालमा स्रोत भएको मानिनेछ । ऐनको दफा ६७ को उपदफा (३) को खण्ड (ख) मा ह्रासयोग्य सम्पत्तिको सम्बन्धमा निम्नानुसारको व्यवस्था उल्लेख भएको छ ।
 
६७(३)(ख) नेपालमा रहेका सम्पत्ति वा नेपालमा बहन गर्नुपर्ने दायित्व समावेश भएकोमा  दफा ७ को उपदफा (२) को खण्ड (घ) वा दफा ९ को उपदफा (२) को खण्ड ( ग) मा उल्लेख भए बमोजिम आय गणना गर्दा समावेश गरिने लाभ ररकमहरू,
 
ह्रासयोग्य सम्पत्ति बापत समावेश गरिने रकम ह्रासयोग्य सम्पत्तिको वर्गबाट कुनै वा सबै ह्रासयोग्य सम्पत्ति निःसर्ग भई खूद लाभ भएमा त्यस्तो लाभ व्यवसायको मुनाफा र लाभमा समावेश गरिने व्यवस्था अनुसूचि–२ को दफा ४ मा रहेको छ । माथि उल्लेख भए बमोजिम ह्रासयोग्य सम्पत्ति नेपालमा अवस्थित रहेमा सोको आय वा खर्चको स्रोत नेपालमा मानिन्छ । ह्रासयोग्य सम्पत्तिमा वर्षान्तमा वर्गको अस्तित्व बाँकी नरहेको तर ह्रास आधार बाँकी रहेका अवस्थामा अनुसूचि–२ को दफा ४(२) बमोजिम बाँकी रहेको रकम ह्रास खर्च (Terminal Depreciation) कट्टी पाउँदछ । वर्षको अन्त्यमा वर्गको अस्तित्व बाँकी रहे वा नरहे पनि ऋणात्मक ह्रास आधार भएमा वर्गको लागतभन्दा बढी आय प्राप्त भएकाले सो ऋणात्मक रकम (Balancing Charge) अनुसूचि–२ को दफा ४(२) को व्यवस्था बमोजिम गणना गरी दफा ७(२)(घ) बमोजिम व्यवसायको मुनाफा र लाभमा समावेश हुन्छ ।

उपर्युक्त व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट थप प्रकाश पारिएको छ ।

उदाहरण ३.३.५ः मानौं, ब्रासिल ड्रिल लि.ले नेपालको त्रिशुली नदीमा जल विद्युत उत्पादन गर्ने नेपालको कम्पनीसँग सुरुङ्ग निर्माण गर्न ठेक्का लिएको रहेछ । आय वर्ष २०६४।६५ मा  सुरुङ्ग निर्माण गर्ने कार्य सम्पन्न भएको रहेछ । सुरुङ्ग निर्माण कार्य सम्पन्न भएपश्चात सुरुङ्ग निर्माणको लागि प्रयोग भएको सम्पूर्ण मेशिन तथा औजार उक्त कम्पनीले स्थानीय बजारमा रु.६ करोडमा बिक्री गरेको रहेछ । सुरुङ्ग निर्माणमा प्रयोग भएको मेशिन औजारलाई ऐनको अनुसूची—२ को दफा १ को खण्ड (घ) अन्तर्गत वर्गीकरण गरिएको र उक्त वर्गको आय वर्ष २०६४।६५को सुरु ह्रास आधार रु.५ करोड रहेछ । यस अवस्थामा उक्त वर्गको ह्रासयोग्य सम्पत्तिको निःसर्ग बापत रु.१ करोड लाभ (Balancing Charge) हुन्छ । यसरी सम्पत्तिको निःसर्गबाट भएको लाभ (Balancing Charge) लाई सो कम्पनीको नेपालमा स्रोत भएको आयमा समावेश हुने लाभ मानिन्छ ।

६७(३) (ग) खण्ड (क) र (ख) को अधीनमा रही नेपालमा स्रोत रहेका प्राप्त भुक्तानीहरू ।
माथि ऐनको दफा ६७ को उपदफा (३) को खण्ड (क) र (ख)मा उल्लेख गरिएका नेपालमा स्रोत रहेको आयमा समावेश हुने रकमका सन्दर्भमा प्राप्त गरिने अन्य भुक्तानीहरू पनि नेपालमा स्रोत रहेको आयमा समावेश हुने रकम मानिन्छ । उपर्युक्त व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट थप प्रकाश पारिएको छ ।

उदाहरण ३.३.६ः मानौं, ब्रासिल ड्रिल लि.ले नेपालको त्रिशुली नदीमा जल विद्युत उत्पादन गर्ने नेपालको कम्पनीसँग सुरुङ्ग निर्माण गर्न ठेक्का लिएको रहेछ । सुरुङ्ग निर्माण कार्यमा प्रयोग हुने मेशिनको बीमा सो कम्पनीले ब्राजिल स्थित बीमा कम्पनीमा गरेको रहेछ । सुरुङ्ग निर्माण गर्ने सिलसिलामा रु.१ करोड मूल्य पर्ने मेशिन दुर्घटनामा परी काम नलाग्ने गरि बिग्रिएकोरहेछ र सो बापत ब्राजिलस्थित बीमा कम्पनीले सोधभर्ना दिएको रहेछ । यसरी ब्राजिलस्थित बीमा कम्पनीबाट नेपालमा स्रोत रहेको जोखिमकोलागि प्राप्त क्षतिपूर्ति बापतको रकम नेपालमा स्रोत भएको मानिन्छ ।

६७(४) नेपालमा रहेका सम्पत्ति वा नेपालमा बहन गर्नुपर्ने दायित्व समावेश भएकोमा सो सम्पत्ति वा दायित्वको निःसर्गबाट हुन गएको लाभ वा नोक्सानीको स्रोत नेपालमा रहेको मानिनेछ।
उपर्युक्त व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट थप प्रकाश पारिएको छ ।

उदाहरण ३.३.७ः मानौं, कल्प ल्याब प्रा.लि. नेपालमा औषधी उत्पादन गर्ने कम्पनी रहेछ । सिंगापुरको Mr. Lee ले उक्त कम्पनीमा आय वर्ष २०६३।६४ मा वार्षिक १० प्रतिशतका दरले ब्याज प्राप्त गर्ने गरी रु.१ करोड ऋण दिएका रहेछन्। नेपालको कम्पनीलाई दिएको ऋण Mr. Lee को नेपालमा स्रोत रहेको सम्पत्ति मानिन्छ । आय वर्ष २०६४।६५मा कल्प ल्याब प्रा.लि.को आर्थिक अवस्था कमजोर भई औषधि उत्पादन गर्ने कार्यलाई निरन्तरता दिन नसक्ने निर्णय गरी कम्पनीलाई खारेजी (Liquidation) मा पठाउने निर्णय गरी सम्पत्ति तथा दायित्व बेचबिखन तथा असुली गरी खारेजी कार्य गर्नको लागि Liquidator नियुिक्त गरेको रहेछ । Liquidator ले सबै सम्पत्तिहरू बेचबिखन गरी प्राप्त भएको रकमले कम्पनीको सबैदायित्वहरूको भुक्तानी गर्न नपुगेकोले भुक्तानीको प्राथमिकता अनुसार दामासाहीले भुक्तानी गर्दा Mr. Lee ले दिएको ऋण रु. १ करोड मध्ये रु.५० लाख मात्र भुक्तानी प्राप्त गरेका रहेछन् । Mr. Lee ले नेपालमा लगानी गरेको ऋण बापत रु.५० लाख भुक्तानी प्राप्त गरेपश्चात उसको नेपालमा स्रोत रहेको सम्पत्ति  (ऋण लगानी) निःसर्ग हुन्छ । यसरी ऋण लगानी बापतको सम्पत्ति निःसर्ग हुँदा भएको दफा ३७ बमोजिमको नोक्सानी रु.५० लाख नेपालमा स्रोत भएको नोक्सानी मानिन्छ ।

कुनै व्यक्तिले नेपालमा व्यवसाय गरी आय आर्जन गर्दा उक्त आय आर्जन गर्नको लागि विभिन्न प्रकृतिका खर्चहरू गर्नुपर्ने हुन्छ । यसरी नेपालमा आय आर्जन गर्नको लागि मुख्य कार्यालय, शाखा, कारखाना, बिक्री कक्ष ९क्बभिक इगतभित० वा ९० दिनभन्दा बढी निर्माण,  जडान तथा स्थापना गर्ने कार्य आदिमा संलग्न भई वा जे जस्तो कारणबाट व्यवसाय गरेको भए तापनि व्यवसायको सञ्चालनको लागि भएको खर्च बापतको रकमको स्रोत नेपालमा  भएको मानिनेछ । यस्तो प्रकृतिको व्यवसायमा खर्च कट्टी गरिएको रकम नेपालको स्रोत हुने गरी ऐनको दफा ६७ को उपदफा (५) मा निम्नानुसारको व्यवस्था रहेको छ: 

६७(५)   आय निर्धारण गर्दा कट्टी गरिएका रकमहरूमा देहायका रकमहरू समावेश भएकोमा त्यस्ता रकमहरूको स्रोत नेपालमा भएको मानिनेछः–
(क) नेपालमा रहेका सम्पत्तिहरूका सम्बन्धमा दफा १५ को उपदफा (१) मा उल्लिखित लागतको खर्च कट्टी गर्न पाउने रकम,
(ख) नेपालमा रहेका सम्पत्तिका सम्बन्धमा दफा १६ को उपदफा (१) बमोजिमका खर्चहरू तथा दफा १९ बमोजिम कट्टी गर्न पाउने हदसम्मका खर्च रकमहरू, र
(ग) खण्ड (क) र (ख) का अधीनमा रही नेपालमा स्रोत रहेका भुक्तानीहरू ।

उपर्युक्तव्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट थप प्रकाश पारिएको छ ।


उदाहरण ३.३.८ः मानौं, ब्राजिलको ब्रासिल ड्रिल लि.त्रिशुली नदिमा बन्ने जलविद्युत आयोजनाको सुरुङ्ग निर्माण गर्ने कार्यमा संलग्न रहेको रहेछ । उक्त कम्पनीले आय वर्ष २०६४।६५ मा सुरुङ्ग निर्माणमा निर्माण सामाग्री बापत रु.१० करोड खर्च गरेको रहेछ । त्यस्तै निर्माण कार्यमा प्रयोग भएको मेशिनरी तथा औजारहरूको ह्रास खर्च बापतको खर्च रु.१ करोड रहेछ । त्यस्तै मेशिनरी तथा औजारहरू मर्मत तथा सुधारको लागि रु.५० लाख खर्च भएको रहेछ । यसरी निर्माण सामग्री खपत बापतको रु.१० करोड, ह्रास खर्च बापतको रु.१ करोड तथा मर्मत तथा सुधार बापतको खर्च रु.५० लाख आदि खर्चहरूको स्रोत नेपालमा रहेको मानिनेछ ।

३.३.४ भुक्तानीको स्रोत
माथिका बुँदाहरू अनुसार दफा ६७ को उपदफा १ ले आयमा समावेश हुने रकम तथा खर्च कट्टीको स्रोत नेपाल भएमा आय (व्यवसाय वा लगानी वा रोजगारी) को स्रोत नेपाल मानिने व्यवस्था गरेको छ । सम्पत्ति वा दायित्वबाट सिर्जना हुने आयको स्रोत वा खर्चको स्रोत नेपालमा मानिन दफा ६७ को उपदफा (३), (४) र (५) मा उल्लेख गरिए अनुसार निःसर्गको समयमा सो सम्पत्ति वा दायित्व रहेको स्थान नेपाल हुनु पर्दछ । सम्पत्ति र दायित्वको निःसर्ग बाहेकका अन्य कारोबारका सम्बन्धमा दफा ६७ को उपदफा (६) ले भुक्तानीको स्थानका आधारमा स्रोत मुलुक (Source Country) निर्धारण गरेको छ र अन्य विभिन्न भुक्तानीका स्रोत नेपाल मानिने विस्तृत विवरण समावेश गरेको छ । दफा ६७ को उपदफा ६ मा भुक्तानीको स्रोत मुलुक नेपाल मान्न दुई थरी आधार लिइएको छः

आधार १: बासिन्दाबाट भएका भुक्तानी (Residency Based Payments) ब्याज, लाभांश, वार्षिक वृत्ति, लगानी बीमाको लाभ, अवकाश भुक्तानी र सरकारी सेवा
आधार २: सम्पत्ति र दायित्वको निःसर्ग बाहेक जे बापतको भुक्तानी भएको हो सोको आधार स्थानको अवस्थिति नेपालमा रहेको (Location of Payment-base) बासिन्दाका आधारमा निर्धारण गरिने बाहेक सबैप्रकारका आम्दानी वा खर्च निर्धारण हुने भुक्तानीहरू (दफा ७, ८, ९ र १३) ऐनको दफा ६७ को उपदफा (६) बमोजिम देहायको भुक्तानीको स्रोत नेपालमा रहेको मानिनेछन्ः

६७(६)(क) बासिन्दा निकायबाट भुक्तानी दिएको लाभांशहरू,
नेपालको बासिन्दा कम्पनी वा साझेदारी फर्मले भुक्तानी गरेको लाभांशको स्रोत प्रापक शेयरधनी वा साझेदार बासिन्दा वा गैर बासिन्दा जे भए तापनि नेपालमा स्रोत रहेको मानिनेछ र यस्तो भुक्तानीमा अग्रिम कर कट्टी गरी बासिन्दा वा गैर बासिन्दा जसले प्राप्त गरे पनि नेपालमा कर दाखिला गर्नु पर्दछ ।

६७(६)(ख) बासिन्दा व्यक्तिबाट तिरिएको ब्याज,
बासिन्दा व्यक्तिले तिर्ने ऋण वा यस्तै कुनै रकम बापतको ब्याजको भुक्तानीको स्रोत नेपालमा रहेको मानिनेछ । यस्तो भुक्तानी बासिन्दा वा गैर बासिन्दा जसले प्राप्त गरे पनि नेपालमा कर दाखिला गर्नुपर्ने हुन्छ ।

६७(६)(ग) नेपालमा रहेको जमिनबाट प्राप्त प्राकृतिक स्रोतका सम्बन्धमा गरिएको वा त्यस्तो स्रोतको सन्दर्भमा गणना गरिएको प्राकृतिक स्रोत बापतको भुक्तानी,
नेपालमा रहेको जमिन वा त्यस्तै प्राकृतिक स्रोतको उपभोग बापत प्राप्त हुने रोयल्टी लगायतका भुक्तानीको स्रोत नेपालमा रहेको मानिनेछ । यस्तो भुक्तानी बासिन्दा वा गैर बासिन्दा जसले प्राप्त गरे पनि नेपालमा कर दाखिला गर्नुपर्ने हुन्छ ।

६७(६)(घ) नेपालमा रहेको कुनै सम्पत्तिको प्रयोग बापत भु्क्तानी गरेको बहाल रकम,
नेपालमा रहेको घरजग्गा बहाल बापत प्राप्त हुने आय (घर बहाल) वा नेपालमा जडित सम्पत्तिको बहालको स्रोत नेपालमा रहेको मानिनेछ । यस्तो भुक्तानी बासिन्दा वा गैर बासिन्दा जसले प्राप्त गरे पनि नेपालमा कर दाखिला गर्नुपर्ने हुन्छ ।

६७(६)(ङ) कुनै व्यक्तिले नेपालमा रहेका कुनै सम्पत्तिको प्रयोग कसैलाई गर्न दिए बापत वा सम्पत्ति प्रयोग गर्न अधिकार वा त्यस्तो सम्पत्ति प्रयोग नगर्ने बन्देज माने बापत प्राप्त गरेको रोयल्टी,
कुनै व्यक्तिले आफ्नो नेपालमा रहेको Patent, Brand, Formula लगायतको आफ्ना मूर्त वा अमूर्त सम्पत्तिहरू कुनै व्यक्तिलाई प्रयोग गर्न दिए बापत प्राप्त गर्ने रोयल्टी बापतको भुक्तानीको स्रोत नेपाल रहेको मानिनेछ । त्यस्तै कुनै व्यक्ति (बासिन्दा वा गैर बासिन्दा) ले कुनै व्यक्तिसँग सम्झौता गरी नेपालमा रहेको कुनै सम्पत्ति प्रयोग नगरे बापत कुनै रकम प्राप्त गर्दछ भने त्यस बापत प्राप्त गरेको भुक्तानीको स्रोत पनि नेपाल हुन्छ । उपर्युक्त व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट थप प्रकाश पारिएको छ ।

उदाहरण ३.३.९ः मानौं, कुनै नेपाली चलचित्र निर्माताले नेपालमा निर्माण गरेको चलचित्र प्रदर्शन गर्न कुनै व्यक्तिलाई अधिकार दिएकोमा यसरी अधिकार दिएबापत निज निर्माताले प्राप्त गर्ने रोयल्टीको स्रोत नेपालमा रहेको मानिन्छ ।

उदाहरण ३.३.१०ः मानौं, उदाहरण ३.३.९ का निर्माताले सो व्यक्ति बाहेक अन्य कसैलाई प्रदर्शन गर्न नदिने शर्तमा सो व्यक्तिबाट कुनै भुक्तानी पाएमा त्यस्तो भुक्तानीको स्रोत नेपालमा रहेको मानिन्छ ।

६७(६)(च) कुनै व्यक्तिबाट नेपालमा रहेको जोखिमको बीमा सम्बन्धमा भुक्तानी गरिएको साधारण बीमा बापतको रकम र सो व्यक्तिलाई साधारण बीमा बापत बुझाइएको प्रिमियम,

उपर्युक्त व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट प्रकाश पारिएको छ ।
उदाहरण ३.३.११ः मानौं, भारतको बीमा कम्पनीले नेपालमा रहेको कुनै कारखानाको जोखिमको बीमा गरेको रहेछ । उक्त कारखानाले सो भारतीय बीमा कम्पनीलाई भुक्तान गर्ने बीमा प्रिमियमको स्रोत नेपाल रहेको मानिन्छ ।
 
६७(६)(छ) कुनै व्यक्तिले अन्तर चलान (ट्रान्ससिपमेन्ट) गरेको परिमाण स्वरूप बाहेक  नेपालमा स्थल, सामुद्रिक वा हवाई यातायात वा चार्टर सेवा व्यवसाय सञ्चालन गरी देहाय बमोजिम प्राप्त गरेको भुक्तानीः–
 (१) प्रस्थान गर्ने यात्रुहरूको ओसारपसार गर्ने, वा
 (२) डाँक, पशुपंक्षि वा अन्य प्रत्यक्ष चल सम्पत्ति चलान गर्ने ।

कुनै व्यक्तिले नेपालमा हवाई सेवा सञ्चालन गरी यात्रु तथा सामान ओसारपसार गर्दछ भने नेपालबाट प्रस्थान सुरु गर्ने यात्रुहरूले हवाई यात्रा बापत विमान कम्पनीलाई भुक्तानी गरेको रकमको स्रोत नेपालमा रहेको मानिन्छ । त्यस्तै, कुनै व्यक्तिले नेपालबाट बाहिर पठाएको सामान ढुवानी गरे बापत हवाई कम्पनीले प्राप्त गरेको भुक्तानी रकमको स्रोत समेत नेपाल रहेको मानिन्छ । नेपालबाट सामान निर्यात गर्दा नेपालको निर्यात कम्पनीले निर्यात हुने देश (Final Destination) सम्म पु¥याउने गरी स्थलमार्ग मार्फत ढुवानी गर्दछ भने सो ढुवानी बापत प्राप्त भुक्तानीको स्रोत नेपालको रहन्छ । कुनै जहाज कम्पनीले नेपालबाट निर्यात हुने सामान सामुन्द्रिक मार्ग मार्फत पठाउनको लागि नेपालबाट स्थलमार्ग र बन्दरगाह हुँदै निर्यात हुने देशसम्म सामुन्द्रिक मार्गबाट पठाउने गरी भुक्तानी प्राप्त गरेको छ भने सोको भुक्तानीको स्रोत नेपालमा नै रहेको मानिन्छ ।

६७(६)(ज) तार, रेडियो, अप्टिकल फाईवर वा भू–उपग्रह जस्ता सञ्चारको माध्यमबाट खबर  वा सूचना संप्रेषण गर्ने व्यवसाय सञ्चालन गर्ने व्यक्तिले त्यस्ता खबर वा सूचना  नेपालमा उत्पत्ति भएको वा नभएको जे भएपनि नेपालमा स्थापित संयन्त्रहरूबाट  खबर वा सूचनाको संप्रेषणका सम्बन्धमा सो व्यक्तिले प्राप्त गरेको भुक्तानी,
यस खण्डको व्यवस्था विशेष गरी सूचना एवं खबर सम्प्रेषणसँग सम्बन्धित छ । सूचना तथा खबरको उद्गम विन्दु तथा त्यसको सम्प्रेषण गर्ने व्यक्तिको पहिचान गर्न कठिन हुन्छ । यस्ता सूचना तथा खबरको सम्प्रेषण सम्प्रेषक आफै मात्र संलग्न नभई बीचमा अन्य व्यक्तिहरूको समेत संलग्नता हुन्छ । यस अवस्थामा सूचना तथा खबर सम्प्रेषणको स्थान यकिन गर्न कठिनाई रहन्छ । यस्तै कठिनाईलाई मध्यनजर गरी ऐनको यस व्यवस्थाले नेपालमा रहेको संयन्त्र मार्फत खबर वा सूचना सम्प्रेषण भएको छ र उक्त सूचना वा खबर बापत भुक्तानी गरेको छ भने त्यस्तो भुक्तानीको स्रोत नेपालमा रहेको मानिन्छ । उपर्युक्त व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट प्रकाश पारिएको छ ।

उदाहरण ३.३.१२ः मानौं, दक्षिण अफ्रिकामा सञ्चालन भएको Cricket को प्रत्यक्ष प्रसारण सोही देशको Star Africa Channelले गर्दोरहेछ । उक्त Star Africa Channelले प्रसारण गरेको Cricket को प्रत्यक्ष प्रसारण गरी नेपाली दर्शकसमक्ष पुर्याउन नेपालको Fly Cable TV लाई अधिकार दिएको रहेछ । यसरी Fly Cable TV ले आफ्नो ग्राहकलाई सेवा पुर्याउने गरेको रहेछ । यसरी Cricket को प्रत्यक्ष प्रसारण गर्ने अधिकार प्राप्त Star Africa Channel लाई Fly Cable TV ले आफ्नो नेपालमा जडान भएको संयन्त्र प्रयोग गरी प्रसारण गरे बापत दिइने भुक्तानीको स्रोत नेपाल रहेको मानिन्छ ।

६७(६)(झ) रोजगार गर्न वा सेवा प्रदान गर्न वा सो कार्यहरूमा बन्देज माने बापत खण्ड (छ)  वा
 (ज) मा उल्लेख नगरिएका किसिमका सेवा शुल्क लगायतका देहायका अवस्थाका भुक्तानीहरूः–
 (१) भुक्तानीको स्थान जहाँसुकै भए पनि नेपालमा सो कार्यहरू भएमा, वा
 (२) रोजगार जहाँसुकै भए पनि नेपाल सरकारले भुक्तानी दिने भएमा ।

ऐनको यस व्यवस्थाले रोजगारी वा सेवा प्रदान गरे बापत कुनै व्यक्तिले प्राप्त गरेको भुक्तानी नेपालमा रोजगारी वा सेवा प्रदान गरेको कारणबाट आय प्राप्त गरेको छ भने त्यस्ता भुक्तानीको स्थान जहाँसुकै भए पनि सोको स्रोत नेपालमा भएको मानिन्छ । त्यस्तै नेपाल सरकारले रोजगारी बापतको रकम भुक्तानी गरेको छ भने रोजगारी नेपाल बाहिर गरे पनि त्यस्तो भुक्तानीको स्रोत नेपाल मानिन्छ । उपर्युक्त व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट प्रकाश पारिएको छ ।

उदाहरण ३.३.१३ः मानौं, नेदरल्याण्डको IMGD कम्पनीले नेपालको राजस्व प्रशासनमा कार्यरत कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्न तालिम दिने कार्य सञ्चालन गरेको रहेछ । उक्त कार्यक्रमलाई Danish Government ले आर्थिक सहयोग गरेको रहेछ । उक्त कम्पनीले नेपालमा नै कर्मचारीहरूलाई तालिम दिने गरेको रहेछ र उक्त तालिम दिए बापतको सेवा शुल्क नेदरल्याण्डमा नै भुक्तानी गर्ने प्रबन्ध रहेछ । यस अवस्थामा तालिम सञ्चालन कार्य नेपालमा  भएकोले IMGD ले सेवा शुल्क बापत प्राप्त गरेको भुक्तानीको स्रोत नेपालमा भएको मानिनेछ ।

उदाहरण ३.३.१४ः फ्रान्समा नेपाल सरकारले आवासिय राजदुतावास खोलेको रहेछ । उक्त दुतावासमा रोजगारी गर्ने व्यक्तिहरूलाई नेपाल सरकारले रोजगारी बापतको पारिश्रमिक भुक्तानी गर्दछ । यसरी फ्रान्समा रहेको राजदुतावासमा कार्यरत रहेतापनि उक्त रोजगारीको भुक्तानी नेपाल सरकारले गरेकोले उक्त भुक्तानीको स्रोत नेपालमा रहेको मानिन्छ ।

६७(६)(ञ) बासिन्दा व्यक्तिबाट भुक्तानी गरिएका खण्ड (झ) भित्र नपर्ने वार्षिक वृत्तिको रकम,  लगानी बीमा बापतको रकम र अवकाश भुक्तानीको रकम तथा त्यस्तो रकमहरू  सुनिश्चित गर्न बासिन्दा व्यक्तिलाई दिएको कुनै प्रिमियम वा अन्य भुक्तानी,

बासिन्दा व्यक्तिले भुक्तानी गरेको वार्षिक वृत्ति (Annuity) को रकम, लगानी बीमा बापतको भुक्तानी एवं अवकाश भुक्तानी आदिलाई नेपालमा स्रोत भएको भुक्तानी मानिन्छ । उपर्युक्त व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट प्रकाश पारिएको छ ।
उदाहरण ३.३.१५ः मानौं, कुनै व्यक्ति रोजगारीबाट निवृत्त भएछन् । निजले आप्mनो रोजगारीको समयमा नागरिक लगानी कोष (बासिन्दा व्यक्ति) मा योगदान गर्ने गरेका रहेछन्। रोजगारीबाट निवृत्त भएपछि निजलाई नागरिक लगानी कोषले अवकाश भुक्तानी गरेको रहेछ । यस अवस्थामा नागरिक लगानी कोषले गरेको अवकाश भुक्तानीको स्रोत नेपालमा रहेको मानिन्छ । यसका साथै अवकाश भुक्तानी सुनिश्चित गर्न रोजगारीको समयमा सो रोजगारकर्ताले नागरिक लगानी कोष (बासिन्दा व्यक्ति) लाई गरेको अवकाश योगदानको स्रोत पनि नेपालमा रहेको मानिन्छ ।

६७(६)(ट) नेपालमा रहेको सम्पत्तिबाट सञ्चालित व्यवसाय वा लगानीका सम्बन्धमा प्राप्त गरिएका उपहारहरू, र
नेपालमा रहेको सम्पत्तिबाट सञ्चालित व्यवसाय वा लगानीका सम्बन्धमा प्राप्त गरिएका उपहारहरू जहाँसुकै प्राप्त गरेको भएपनि यस्ता उपहारहरूको स्रोत नेपाल रहेको मानिन्छ ।उपर्युक्त व्यवस्थाका सम्बन्धमा तलको उदाहरणबाट थप प्रकाश पारिएको छ ।
उदाहरण ३.३.१६ः मानौं, Fukuda & Co भन्ने जापानी कम्पनीको काठमाडौंमा एक पुष्प बाटिकामा लगानी रहेछ । उक्त पुष्प बाटिकामा बोट बिरुवाका सम्बन्धमा विभिन्न किसिमका Research समेत हुने गरेको रहेछ । नेपालमा बोट बिरुवा सम्बन्धी Research मा उल्लेखनीय योगदान पुर्याए बापत Fukuda & Co लाई जापानको Botanical Association बाट जापानमा नै १० लाख जापानी येन उपहार प्राप्त भएको रहेछ । उक्त कम्पनीले नेपालमा रहेको व्यवसायको सम्बन्धमा प्राप्त उक्त उपहारको स्रोत नेपाल भएको मानिनेछ ।

६७(६)(ठ) माथि खण्ड (क), (ख), (ग), (घ), (ङ), (च), (छ), (ज), (झ), (ञ) र (ट) मा उल्लेख भए बाहेकका देहायका भुक्तानीहरूः
(१) नेपालमा रहेको सम्पत्तिको निःसर्गको सम्बन्धमा वा नेपालमा बहन गर्नुपर्ने दायित्व प्राप्त गर्ने सम्बन्धमा गरिएका भुक्तानीहरू, वा
(२) नेपालमा सञ्चालित क्रियाकलापका सम्बन्धमा गरिएका भुक्तानीहरू ।
ऐनको दफा ६७ को उपदफा (६) को खण्ड (क) देखि (ट) सम्म विभिन्न प्रकारको भुक्तानीको स्रोतको उल्लेख गरिएको छ । उपर्युक्त भुक्तानीको स्रोतको अतिरिक्त नेपालमा सञ्चालित सबै क्रियाकलापहरूको (व्यवसाय वा लगानी) भुक्तानीको स्रोत समेत नेपालमा रहेको मानिन्छ । त्यस्तै नेपालमा रहेको जुनसुकै सम्पत्तिको निःसर्ग गर्दा वा कुनै दायित्व प्राप्त गर्दा भएको भुक्तानीको स्रोत पनि नेपालमा रहेको मानिन्छ । उपर्युक्त व्यवस्थाको सम्बन्धमा तलको उदाहरणबाट थप प्रकाश पारिएको छ ।

उदाहरण ३.३.१७ः मानौं, उदाहरण ३.३.१६ मा उल्लिखित Fukuda & Co ले पुष्प बाटिकामा गरेको शेयर लगानी अर्को जापानी कम्पनीलाई बिक्री गरेको रहेछ ।Fukuda & Co बिक्री गरेको उक्त शेयरको स्रोत नेपाल भएको मानिन्छ र दफा ३६ बमोजिम गणना गरिएको सो बिक्रीबाट प्राप्त आयको स्रोत नेपाल भएको मानिनेछ ।

३.४ आयको स्रोत नेपाल नमानिने
ऐनको दफा ६७ को उपदफा (१) देखि (६) सम्म कुनै व्यक्तिको नेपालमा रहेको आयको स्रोत,  नोक्सानीको स्रोत, रकमको स्रोत, लाभको स्रोत तथा भुक्तानीको स्रोत सम्बन्धमा उल्लेख भएको छ । उपदफा (१) देखि (६) सम्म उल्लेख भएका बाहेकका आय, नोक्सानी, रकम, लाभ एवं भुक्तानीको स्रोतलाई विदेशी स्रोत मानिनेछ । यसरी विदेशी स्रोत मानिने रकमलाई नेपालमा जे जस्तो अवस्थामा नेपालको स्रोत मानिन्छ त्यस्तै आधारमा सोही मुलुकको स्रोत मानिन्छ । जस्तो नेपालमा रहेको सम्पत्ति बापत प्राप्त आय नेपालको स्रोत मानिन्छ भने जापानमा रहेकोसम्पत्ति बापत प्राप्त आयको स्रोत जापान मानिन्छ । यस सम्बन्धमा उपदफा (७) मा निम्न व्यवस्था रहेकोछ ।

६७(७)  माथिका उपदफाहरूमा लेखिए बमोजिम नेपालमा स्रोत भएका मानिने बाहेक कुनै आय,  नोक्सानी, रकम, लाभ वा भुक्तानीलाई विदेशी स्रोत भएको मानिनेछ र त्यस्तो आय,  नोक्सानी, रकम, लाभ वा भुक्तानीको स्रोत कुन विदेशी मुलुकमा रहेको छ भन्ने कुरा यकिन गर्ने प्रयोजनका लागि यस ऐनमा नेपाल भनी उल्लेख भएका सन्दर्भहरू कुनै खास विदेशी मुलुकको हकमा उल्लेख भएको सन्दर्भ सरह मानी लागू हुनेछन् ।

ऐनको दफा ६७ को उपदफा (१) देखि (६) मा उल्लिखित अवस्थाहरूमा नेपालको स्रोत मानिने व्यवस्था गरेको छ भने सो बाहेक अन्य अवस्थामा भने अन्य देशको स्रोत भएको मानिन्छ । उपर्युक्त सम्बन्धमा तलको उदाहरणबाट थप प्रकाश पारिएको छ ।

उदाहरण ३.४.१ः मानौं, दिवाकर थापा भन्ने नेपाली नागरिक क्यानाडामा बासिन्दा भई सोही स्थानमा व्यवसाय गरिआएका रहेछन्। निजले नेपाल बाहेक क्यानाडा लगायत अन्य मुलुकमा कारोबार गरी आय आर्जन गरेका रहेछन्भने त्यस्तो आयको स्रोत नेपाल भएको मानिदैन । ऐनमा दफा ६७ को प्रयोजनका लागि नेपालमा रहेको सम्पत्ति तथा नेपालमा बहन गर्नुपर्ने दायित्वका सम्बन्धमा निम्नानुसारको स्पष्टीकरण दिइएको छ ।

(क) “नेपालमा रहेको सम्पत्ति” भन्नाले नेपालमा रहेका जग्गा जमिन वा भवनहरू तथा बासिन्दा व्यक्तिको कुनै विदेशी राष्ट्रमा रहेका जग्गा जमिन वा भवन बाहेकका सम्पत्ति वा सो व्यक्ति दफा ६९ बमोजिम नियन्त्रित विदेशी निकायसँग सम्बद्ध रहेमा सो निकायमा रहेको निजको हित समेत सम्झनु पर्छ ।

(ख) “नेपालमा बहन गर्नुपर्ने दायित्व” भन्नाले बासिन्दा व्यक्तिको दायित्व सम्झनु पर्छ ।
नेपालमा रहेको दायित्व भन्नाले बासिन्दा व्यक्तिले बहन गर्नुपर्ने दायित्वलाई बुझाउँछ । उदाहरणको लागि, बासिन्दा व्यक्तिले कुनै वस्तु वा सेवा खरिद गरेबापत नेपालमा वा विदेशमा भुक्तान गर्नुपर्ने दायित्व, नेपाल वा विदेशबाट लिएको कर्जा रकम, जस्ता दायित्वलाई लिन सकिन्छ । उपर्युक्त सम्बन्धमा तलको उदाहरणबाट थप प्रकाश पारिएको छ ।

उदाहरण ३.४.२ः मानौं, Golden Investment Inc., USA ले सुनाखरी प्रा.लि.नामको बासिन्दा कम्पनीलाई १ लाख अमेरिकी डलर कर्जा लगानी गरेका रहेछन् । सुनाखरी प्रा.लि.ले Golden Investment Inc., USA लाई गर्ने ब्याज भुक्तानी (आय) को स्रोत नेपाल भएको मानिन्छ ।

उदाहरण ३.४.३ः मानौं, दिवाकर थापा भन्ने नेपाली नागरिक क्यानाडाको बासिन्दा भई सोही स्थानमा व्यवसाय गरिआएका रहेछन् । निजले नेपालको एक बैङ्कबाट रु.१ करोडको व्यक्तिगत कर्जा लिएका रहेछन् । निजले लिएको उक्त कर्जा चुक्ता गर्न नसकेको कारण कर्जा असुली गर्ने सन्दर्भमा बैङ्कले रु.१० लाख मिन्हा दिई निजको कर्जा राफसाफ गरेको रहेछ । दिवाकर थापाले नेपालमा रहेको रु.१ करोडको दायित्व रु.९० लाखमा निःसर्ग गरेकोले रु.१० लाख बचत (आय) भएको र त्यस्तो आयको स्रोत नेपाल भएको मानिन्छ ।