६.१ आयकर ऐन, २०५८ मा व्यक्तिको करयोग्य आयमा कर लगाउने व्यवस्था रहेको छ । यो ऐनले आयका शीर्षक एवं आयमा समावेश हुने रकमहरूका सम्बन्धमा स्पष्ट व्यवस्था गरेको छ । आय आर्जनका क्रियाकलापलाई रोजगारी, व्यवसाय, लगानी र आकस्मिक लाभका आय गरी चार भागमा विभाजन गरिएको छ । जसलाई यस ऐनको परिच्छेद ३ को दफा ७, ८ र ९ मा विस्तृत रूपमा वर्णन गरिएको छ । यसरी आयमा समावेश हुने रकमका व्यवस्थालाई प्रकाश पार्नु यस परिच्छेदको उद्देश्य रहेको छ ।
६.२ व्यवसायबाट भएको आयमा समावेश हुने रकमहरू
६.२.१ ऐनको दफा ७ को उपदफा (१) मा व्यवसायबाट भएको आयको गणनाको सम्बन्धमा निम्नानुसारको व्यवस्था रहेको छ:
७(१) कुनै व्यक्तिको कुनै आय वर्षमा कुनै व्यवसाय सञ्चालनबाट भएको मुनाफा र लाभहरू सो व्यक्तिको सो व्यवसायको सो वर्षको आय हुनेछ ।
आयकर ऐन, २०५८ को दफा २ (कज) अनुसार व्यवसाय भन्नाले“कुनै पनि प्रकारको उद्योग, व्यापार, पेशा वा यस्तै अन्य प्रकृतिका व्यावसायिक कारोबार सम्झनु पर्छ र सो शब्दले यस्तै प्रकारका विगत, वर्तमान वा भावी व्यवसायहरूलाई समेत जनाउँछ । तर यस शब्दले रोजगारीलाई जनाउने छैन ।” भनी परिभाषित गरिएको छ ।
यस्ता कुनै व्यवसाय सञ्चालनबाट प्राप्त भएको आम्दानीबाट खर्च घटाई बाँकी रहने मुनाफा र अन्य सम्पत्तिको निःसर्गबाट भएको लाभको कुल रकमलाई व्यवसायको आय मानिएको छ ।
६.२.२ व्यवसायको आयमा समावेश हुने रकमहरू
कुनै पनि व्यक्तिको व्यवसायको आय अर्थात मुनाफा र लाभको गणना गर्दा ऐनको दफा ७ को उपदफा (२) मा उल्लिखित निम्नानुसार रकमहरू समावेश गरी गर्नुपर्दछ:
७(२) कुनै व्यक्तिको कुनै आय वर्षमा व्यवसाय सञ्चालनबाट भएको मुनाफा र लाभको गणना गर्दा सो व्यक्तिले सो वर्षभित्र प्राप्त गरेको देहायका रकमहरू समावेश गरी गणना गर्नु पर्नेछ:-
७(२)(क) सेवा शुल्क,
सेवा शुल्क भन्नाले कुनै व्यक्तिले उपलब्ध गराएको सेवाबापत निजलाई बजार मूल्य अनुसार भुक्तानी गरिएको कुनै शुल्क सम्झनु पर्छ र सो शब्दले कमिशन, बैठक भत्ता, व्यवस्थापन शुल्क (Management Fee) वा प्राविधिक सेवा शुल्क (Technical Service Fee) लाई समेत जनाउँछ । उदाहरणको लागि, परामर्शदातालाई निजले सेवा उपलब्ध गराए बापत दिइने भुक्तानी (Technical Service Fee), लेखापरीक्षण सेवा उपलब्ध गराएबापत लेखापरीक्षकलाई दिइने पारिश्रमिक, तर कर्मचारी आन्तरिक लेखापरीक्षक भए निजलाई दिइने पारिश्रमिक भने तलब अन्तर्गत पर्दछ । त्यस्तै बिक्री प्रबन्धको लागि नियुक्त एजेण्ट (Sales Agent) लाई दिइने कमिशन सेवा शुल्क हुन्छ भने बिक्रीको लक्ष हासिल गरे बापत तोकिएका कर्मचारीलाई उपलब्ध हुने कमिशन भने तलब अन्तर्गत पर्दछ ।
ऐनको दफा २ को खण्ड (कम) मा सेवा शुल्कलाई निम्नानुसार परिभाषित गरिएको छ: “सेवा शुल्क” भन्नाले कुनै व्यक्तिले उपलब्ध गराएको सेवा बापत निजलाई बजार मूल्य अनुसार भुक्तानी गरिएको कुनै शुल्क सम्झनु पर्छ र सो शब्दले कमिशन, बैठक भत्ता, व्यवस्थापन शुल्क वा प्राविधिक सेवा शुल्कलाई समेत जनाउँछ ।
७(२)(ख) व्यापारिक मौज्दातको निःसर्गबाट प्राप्त रकम,
व्यापारिक मौज्दातको बिक्री वा अन्य कुनै किसिमले भएको निःसर्गबाट प्राप्त रकमलाई व्यवसायको आय गणना गर्दा समावेश गर्नु पर्दछ । यहाँ व्यापारिक मौज्दात भन्नाले बिक्रीयोग्य वस्तुलाई लिइएको छ । कुनै पनि व्यवसायको मुख्य कारोबारबाट प्राप्त हुने रकमलाई व्यापारिक मौज्दातको निःसर्गबाट प्राप्त गरिने रकम मानी गणना गर्नु पर्दछ । व्यवसायमा प्रत्यक्ष वा अप्रत्यक्ष (जस्तै, Packing Material)रूपमा बिक्रीको प्रयोजनको लागि राखिएका सम्पत्तिहरूलाई व्यापारिक मौज्दात भनिन्छ । त्यसैगरी उत्पादनको क्रममा रहेको कार्य प्रगति (Work-in progress) लाई पनि व्यापारिक मौज्दात भनिन्छ । व्यक्तिको व्यवसायको आधारमा यस्तो वस्तुको उदाहरण फरक फरक हुन सक्दछ । जस्तै, फर्निचर किनबेच गर्ने व्यक्तिको लागि फर्निचर व्यापारिक मौज्दात हुन्छ भने अन्य व्यक्तिको लागि भने सो ह्रासयोग्य सम्पत्ति मानिन्छ । ऐनको दफा २ को खण्ड (कञ) मा व्यापारिक मौज्दातलाई निम्नानुसार परिभाषित गरिएको छ :
“व्यापारिक मौज्दात” भन्नाले कुनै व्यक्तिको स्वामित्वमा रहेको निजद्वारा सञ्चालित नियमित व्यवसायको क्रममा बिक्री गरिने सम्पत्ति, कार्य प्रगतिमा रहेको सम्पत्ति र सम्पत्तिमा समाबिष्ट हुने सामाग्रीहरूको मौज्दात सम्झनु पर्छ ।
तर यस शब्दले विदेशी मुद्रामा रहेको सम्पत्तिलाई जनाउँने छैन ।
७(२)(ग) परिच्छेद–८ बमोजिम गणना गरिएको कुनै व्यक्तिको व्यावसायिक सम्पत्ति वा व्यावसायिक दायित्वको निःसर्गबाट प्राप्त खुद लाभ,
माथि खण्ड (क) मा उल्लिखित सेवा शुल्क र खण्ड (ख) मा उल्लिखित व्यापारिक मौज्दातको निःसर्गबाट प्राप्त रकमसमेत भुक्तानी पाएको वा भुक्तानी पाएको मानिने पुरै रकम (Gross Receipt) आयमा समावेश गर्नु पर्दछ भने खण्ड (ग) बमोजिम भुक्तानी भएको पुरै रकम आयमा समावेश नगरी ऐनको परिच्छेद ८ बमोजिम खुद लाभ वा नाफा गणना गरी खुद लाभ भएको रकम मात्र आयमा समावेश गर्नु पर्दछ ।
व्यावसायिक सम्पत्ति र दायित्वको निःसर्ग (Disposal) बाट हुने लाभ गणना यस ऐनको परिच्छेद–८ अनुसार गरिन्छ । सम्पत्तिको हकमा, बिक्री वा किस्ताबन्दीमा बिक्री गरी, अन्य सम्पत्ति वा दायित्वमा गाभिई, नासिई, हराई, अंशबण्डा वा हक हस्तान्तरण गरी, साटासाट गरी वा कुनै तवरबाट आफ्नो स्वामित्व हट्ने माध्यमलाई सम्पत्तिको निःसर्ग (Disposal) मानिन्छ । त्यस्तै, दायित्वको हकमा दायित्व भुक्तान गरी, दायित्वबाट मुक्त भई, अन्य सम्पत्ति वा दायित्वमा गाभिई, दायित्व रद्द भई वा कुनै पनि माध्यमबाट दायित्व मुक्त भएको खण्डमा दायित्वको निःसर्ग मानिन्छ । सम्पत्ति तथा दायित्वको निःसर्गका सम्बन्धमा थप व्याख्या यसै निर्देशिकाको परिच्छेद २२ मा गरिएको छ । उक्त परिच्छेद अनुसार गणना गरिएको खुद लाभ (Net Gain) लाई व्यावसायिक आय मानिने हुँदा यस दफा अनुसार व्यवसायको आय गणना गर्दा समावेश गर्नु पर्दछ । व्यावसायिक सम्पत्तिमा व्यापारिक मौज्दात वा व्यवसायको ह्रासयोग्य सम्पत्तिबाहेक अन्य सम्पत्ति, जस्तैः– शेयर, जग्गा, लिनु पर्ने रकम, पेश्की हिसाब, नगद तथा बैङ्क मौज्दात आदि पर्दछन्। ऐनको दफा २ को खण्ड (कट) मा व्यावसायिक सम्पत्तिलाई निम्नानुसार परिभाषित गरिएको छः “व्यावसायिक सम्पत्ति” भन्नाले कुनै व्यवसायमा प्रयोग गरिएको कुनै सम्पत्ति सम्झनु पर्छ ।
तर यस शब्दले व्यापारिक मौज्दात वा व्यवसायको ह्रासयोग्य सम्पत्तिलाई जनाउँने छैन ।
यसै निर्देशिकाको परिच्छेद २ मा व्यावसायिक सम्पत्तिबारे थप व्याख्या गरिएको छ ।
७(२)(घ) व्यवसायको ह्रासयोग्य सम्पत्तिको निःसर्गबाट अनुसूची–२ को दफा ४ को उपदफा (२) को खण्ड (क) बमोजिम प्राप्त गरेको मानिने रकम,
समय एवम् उपभोगका आधारमा खर्च वा टुटफुट भएर जाने सम्पत्तिलाई ह्रासयोग्य सम्पत्ति मानिन्छ । व्यक्तिको व्यवसायको प्रकृतिको आधारमा यस्तो वस्तुको उदाहरण फरक फरक हुन सक्दछ । जस्तै, फर्निचर किनबेच गर्ने व्यक्तिको लागि फर्निचर व्यापारिक मौज्दात हुन्छ भने अन्य व्यवसाय वा लगानीमा त्यसको प्रयोग भएको छ भने सो ह्रासयोग्य सम्पत्ति मानिन्छ । सामान्यतयाः समय एवम्उपभोगका आधारमा खर्च वा टुटफुट भएर जाने सम्पत्तिको उपभोग गरी आय आर्जन गर्ने कार्य भएको छ भने त्यस्तो सम्पत्तिलाई ह्रासयोग्य सम्पत्ति भनिन्छ । ऐनको दफा २ को खण्ड (कर) मा ह्रासयोग्य सम्पत्तिलाई निम्नानुसार परिभाषित गरिएको छ:
“ह्रासयोग्य सम्पत्ति” भन्नाले कुनै व्यवसाय वा लगानीमा आय आर्जनको लागि प्रयोग गरिएका टुटफुट, पुरानो हुंदै गएको वा समय व्यतीत हुदै गएको कारणबाट मूल्यमा ह्रास हुने सम्पत्ति सम्झनु पर्छ ।
तर यस शब्दले व्यापारिक मौज्दातलाई जनाउँने छैन ।
ह्रासयोग्य सम्पत्तिको कुनै पनि वर्ग (Pool) मा रहेका सम्पूर्ण सम्पत्तिको ह्रासको आधार (ह्रास खर्च कट्टी गर्नु पूर्वको रकम) रकमलाई सोही वर्गको कुनै सम्पत्ति बिक्री वा निःसर्गबाट प्राप्त रकमबाट घटाउँदा सम्पत्तिको निःसर्गबाट प्राप्त रकमभन्दा उक्त वर्गको सम्पूर्ण सम्पत्तिको ह्रास आधार रकम कम भएमा बढी भएजतिको रकमलाई यस दफा अन्तर्गत लाभ मानी आय गणना गर्नु पर्दछ । जुन तल उल्लेख गरिएको उदाहरणहरूबाट प्रष्ट हुन्छ ।
उदाहरण ६.२.१ः मानौं, ब्द्यऋ कम्पनीको आ.व.२०६५।६६ को लागि ह्रासकट्टी गर्नुपूर्व “ख” वर्गमा पर्ने निम्नानुसारका सम्पत्तिहरू रहेछन्ः
वर्ग“ख” मा वर्षको सुरुमा फर्निचर र कम्प्युटर गरी सो वर्षको सुरुको ह्रास आधार रु. ९,००,०००।– रहेकोमा फर्निचर बिक्री रु.१०,००,०००।– भएमा मुनाफा र लाभमा समावेश हुने रकम निम्नानुसार रु.१,००,०००।– हुन्छ ।
“ख” वर्गको सम्पूर्ण सम्पत्तिको ह्रास आधार (अ) रु.९,००,०००।–
“ख” वर्गमा पर्ने सम्पत्तिमध्ये फर्निचरको निःसर्गबाट प्राप्त (आ) रु.१०,००,०००।–
लाभ (आ–अ): रु. १,००,०००।–
उदाहरण ६.२.२ः मानौं, माथि उदाहरण ६.२.१ मा उल्लेख गरिएको उदाहरणमा फर्निचर रु. ८,००,०००।– मा मात्रै बिक्री भएको अवस्थामा भने “ख” वर्गको सम्पत्तिको ह्रास
आधार रु. १,००,०००।– मात्रै हुन्छ र सोही अनुसार ह्रास खर्च दाबी गरिन्छ ।
“ख” वर्गको सम्पूर्ण सम्पत्तिको ह्रास आधार रु.९,००,०००।–
“ख” वर्गमा पर्ने सम्पत्तिमध्ये फर्निचरको निःसर्गबाट प्राप्त रकम रु.८,००,०००।–
ह्रासयोग्य आधार: रु.१,००,०००।–
फर्निचरको निःसर्गबाट कुनै नाफा भएमा करदाताको वित्तीय विवरणको नाफा नोक्सानी (Financial Accounting) हिसाबमा नाफामा समावेश गरिएता पनि आयकर प्रयोजनको लागि भने समूहगत आधारमा लाभ गणना गर्नुपर्ने हुन्छ । सम्पत्तिगत आधारमा भएको लाभलाई आयमा समावेश गर्नु पर्दैन । कुनै सम्पत्तिकोसमूहमा रहेका सबै सम्पत्ति निःसर्ग भएको अवस्थामा मात्र आयकर प्रयोजनका लागि लाभ वा नोक्सानीको गणना गरी आय विवरणमा आय वा खर्चको रूपमा समावेश गर्नु पर्दछ ।
उदाहरण ६.२.३ः माथि उल्लेख गरिएको उदाहरण नं. ६.२.१ मा उल्लेख भएको “ख” वर्गमा रहेका फर्निचर तथा कम्प्युटर सामान सम्पूर्णनै बिक्री भएको अवस्थामा उक्त पुल विघटन भएको मानिन्छ । मानौं, फर्निचर रु.१०,००,०००।– मा र कम्प्युटर रु.५,००,०००।– गरी जम्मा रु.१५,००,०००।– मा बिक्री भएको अवस्थामा उक्त समूहको विघटनको लाभ वा नोक्सान गणना निम्नानुसार गरिन्छ ।
सम्पत्ति समूह “ख” को निःसर्गबाट प्राप्त रकम रु.१५,००,०००।–
सम्पत्ति समूह “ख” को ह्रासकट्टी आधार रु.९,००,०००।–
सम्पत्ति समूह “ख” को विघटनबाट भएको लाभ: रु.६,००,०००।–
यसरी समूहको विघटनबाट भएको लाभलाई आय गणना गर्दा आयमा समावेश गर्नुपर्दछ ।
उदाहरण ६.२.४: माथि उदाहरण नं. ६.२.१ मा उल्लेख गरिए अनुसार कम्प्युटर बिग्रेर काम नलाग्ने भयो वा उक्त कम्प्युटर चोरी भयो । त्यस्तो अवस्थामा ऐनको दफा ४०
बमोजिम निःसर्ग भएको मानिन्छ र निम्नानुसार गणना गरिन्छ ।
ह्रास आधार रु.९,००,०००।–
निःसर्गबाट प्राप्त रकम ०।–
बाँकी ह्रास आधार रु.९,००,०००।–
उल्लिखित उदाहरणमा सम्पूर्ण “ख” वर्गको सम्पत्ति वर्ग विघटन नभएको हुँदा आगामी आय वर्षमा सोही बाँकी ह्रास आधार बमोजिम ह्रास खर्च दाबी गर्नुपर्दछ ।
(२)(ङ) व्यवसायका सम्बन्धमा कुनै व्यक्तिबाट प्राप्त गरेको उपहार,
व्यवसायका क्रममा कुनै व्यक्तिबाट प्राप्त गरेका उपहार छन् भने सो उपहारलाई पनि व्यवसायको आयमा समावेश गर्नु पर्दछ । उक्त अवस्था तलको उदाहरणमा खुलाइएको छः
उदाहरण ६.२.५ः मानौं, दिवाकर भन्ने व्यक्ति कुनै टि.भि. कम्पनीको डिलर रहेछन् । आ.व. २०६५।६६ मा सो टि.भि. कम्पनीले तोकेको लक्ष्य हासिल गर्न सकेकोले निजलाई सो कम्पनीले रु.५०,०००।– मूल्य पर्ने Music System उपहार उपलब्ध गराएको रहेछ । यसरी प्राप्त भएको थप प्रतिफललाई व्यवसायका सम्बन्धमा प्राप्त भएको उपहार मानिन्छ र त्यस्तो उपहारलाई व्यवसायको आयमा समावेश गर्नु पर्दछ ।
ऐनको दफा २ को खण्ड (ञ) मा उपहारलाई निम्नानुसार परिभाषित गरिएको छ :“उपहार” भन्नाले कुनै प्रतिफल बिनाको भुक्तानी वा प्रतिफल सहितको भुक्तानी भएमा प्रतिफलको बजार मूल्य भन्दा भुक्तानीको बजार मूल्य बढी भएमा बढी भएको हदसम्मको भुक्तानी सम्झनु पर्छ ।
७(२)(च) व्यवसाय सञ्चालनको सम्बन्धमा कुनै प्रतिबन्ध स्वीकार गरे बापत प्राप्त गरेको रकम,
व्यवसाय सञ्चालनको सम्बन्धमा कुनै प्रतिबन्ध स्वीकार गरेका सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट पारिएको छ ।
उदाहरण ६.२.६ः मानौं, नेपाल रसबेरी फ्याक्ट्री र जुसबेरी कं.प्रा.लि.बीचमा कमलादी क्षेत्रमा रसबेरीले आफ्नो उत्पादन बिक्री नगरे बापत जुसबेरीले मासिक रु.१ लाख दिने भन्ने सम्झौता (Contract) भएको रहेछ भने यस अवस्थामा रसबेरीले उक्त प्रतिबन्ध स्वीकार गरे बापत प्राप्त रु.१ लाख आफ्नो आयमा समावेश गर्नु पर्दछ ।(२)(ङ) व्यवसायका सम्बन्धमा कुनै व्यक्तिबाट प्राप्त गरेको उपहार,
व्यवसायका क्रममा कुनै व्यक्तिबाट प्राप्त गरेका उपहार छन् भने सो उपहारलाई पनि व्यवसायको आयमा समावेश गर्नु पर्दछ । उक्त अवस्था तलको उदाहरणमा खुलाइएको छः
उदाहरण ६.२.५ः मानौं, दिवाकर भन्ने व्यक्ति कुनै टि.भि. कम्पनीको डिलर रहेछन् । आ.व. २०६५।६६ मा सो टि.भि. कम्पनीले तोकेको लक्ष्य हासिल गर्न सकेकोले निजलाई सो कम्पनीले रु.५०,०००।– मूल्य पर्ने Music System उपहार उपलब्ध गराएको रहेछ । यसरी प्राप्त भएको थप प्रतिफललाई व्यवसायका सम्बन्धमा प्राप्त भएको उपहार मानिन्छ र त्यस्तो उपहारलाई व्यवसायको आयमा समावेश गर्नु पर्दछ ।
ऐनको दफा २ को खण्ड (ञ) मा उपहारलाई निम्नानुसार परिभाषित गरिएको छ :“उपहार” भन्नाले कुनै प्रतिफल बिनाको भुक्तानी वा प्रतिफल सहितको भुक्तानी भएमा प्रतिफलको बजार मूल्य भन्दा भुक्तानीको बजार मूल्य बढी भएमा बढी भएको हदसम्मको भुक्तानी सम्झनु पर्छ ।
७(२)(च) व्यवसाय सञ्चालनको सम्बन्धमा कुनै प्रतिबन्ध स्वीकार गरे बापत प्राप्त गरेको रकम,
व्यवसाय सञ्चालनको सम्बन्धमा कुनै प्रतिबन्ध स्वीकार गरेका सम्बन्धमा तलको उदाहरणबाट स्पष्ट पारिएको छ ।
उदाहरण ६.२.६ः मानौं, नेपाल रसबेरी फ्याक्ट्री र जुसबेरी कं.प्रा.लि.बीचमा कमलादी क्षेत्रमा रसबेरीले आफ्नो उत्पादन बिक्री नगरे बापत जुसबेरीले मासिक रु.१ लाख दिने भन्ने सम्झौता (Contract) भएको रहेछ भने यस अवस्थामा रसबेरीले उक्त प्रतिबन्ध स्वीकार गरे बापत प्राप्त रु.१ लाख आफ्नो आयमा समावेश गर्नु पर्दछ ।
७(२)(छ) कुनै व्यक्तिले प्राप्त गरेको रकम लगानीबाट हुने आयमा समावेश हुने प्रकृतिको त्यस्तो व्यक्तिले आफ्नो व्यवसायसँग प्रत्यक्ष रूपमा सम्बन्धित भई प्राप्त गरेको रकम, र
केही अपवाद बाहेक कम्पनीको कारोबार व्यावसायिक कारोबार मात्र हुन्छ । अर्थात कम्पनीको लगानी वा रोजगारीको आय नभई व्यवसायको आय मात्र रहने हुन्छ । यसै सन्दर्भमा कारोबार लगानी जस्तो भए तापनि कम्पनीको लागि त्यस्तो कारोबार व्यावसायिक कारोबारको दायरामा नै आउँछ । जस्तै, बैङ्क तथा वित्तीय संस्थाहरूले कर्जा लगानीबाट प्राप्त गरेको ब्याज आयलाई यस दफा अन्तर्गत आय गणना गर्ने प्रयोजनको लागि यसै खण्ड अन्तर्गत समावेश गर्नु पर्दछ । वास्तवमा कर्जा लगानीबाट भएको आय सामान्यतया लगानीबाट गरिएको आर्जन भए तापनि व्यवसायको मुख्य कारोबार नै कर्जा लगानी भएको हुँदा यसै खण्डमा ब्याज आय समावेश गरी विवरण भर्नु पर्दछ ।
७(२)(ज) परिच्छेद–६ वा ७ वा दफा ५६ वा ६० बमोजिम समावेश गरिनुपर्ने अन्य रकमहरू ।
ऐनको परिच्छेद–६ मा उल्लेख भए बमोजिमकर प्रयोजनको लागि कुनै व्यक्तिको लेखाङ्कन तरिका विभागबाट स्वीकृति लिई परिवर्तन गरेको खण्डमा वा सोही परिच्छेदका अन्य दफामा भएको व्यवस्थाको कारणबाट लेखाङ्कन तरिका परिवर्तन भएमा परिवर्तन भएको आय वर्षमा सो व्यक्तिको आय गणना गर्दा समावेश भएको, कट्टा भएको वा समावेश हुने वा कट्टा हुने रकमहरूमा कुनै रकम नछुट्ने गरी वा दोहोरो नपर्ने गरी समायोजन गर्नु पर्नेछ । उक्त व्यहोरा तलको उदाहरणबाट स्पष्ट पारिएको छ :
उदाहरण ६.२.७ः मानौं, देवेन महरा एक कानुन व्यवसायी रहेछन्। निजले आफ्नो पेशाबाट प्राप्त हुने आय नगदको आधारमा लेखाङ्कन गरी आएका रहेछन् । निजले आ.व.२०६५।६६मा Cash Basis बाट Accrual Basis मा लेखाङ्कन तरिका परिवर्तन गर्न विभागसमक्ष निवेदन दिएका रहेछन्। हिसाब किताब प्रचलित लेखा सिद्वान्तसँग मेल खाने भएकोले विभागले समेत सो परिवर्तनलाई आ.व.२०६५।६६देखि लागू हुने गरी स्वीकृति दिएको रहेछ । यसरी लेखाङ्कन परिवर्तन हुनु अघिको अवस्थामा निजको हिसाब किताबको अवस्था निम्नानुसार रहेछ ।
१. २०६४।६५ सम्म सेवा दिइसकेको तर नगद प्राप्त नभएको हुँदा सो आ.व.मा आम्दानीमा समावेश नगरेको। रु.८०,०००।–
२. २०६४।६५सम्म सेवा बापत पेश्की तिरेको (सेवा प्रदान २०६५।६६) तर सेवा प्रदान गर्न बाँकी भए तापनि नगद आधारमा सो आ.व.मा आम्दानीमा समावेश गरेको। रु.३०,०००।–
३. २०६४ माघ देखि २०६५ पौष मसान्तसम्मको घरबहाल आ.व.२०६४।६५ मा भुक्तान गरेको र नगद आधारमा आ.व. २०६४।६५ का खर्च कट्टी दाबी गरी सकेको रु.४८,०००।–
उपर्युक्त अवस्थामा आ.व. २०६५।६६ मा निजले निम्नानुसार आय तथा कट्टी दाबी समायोजन गर्नुपर्ने हुन्छ ।
१. आ.व.२०६४।६५ सम्म सेवा प्रदान गरिसके बापत प्राप्त हुन बाँकी रु.८०,०००।– लाई Accrual Basisमा आ.व.२०६५।६६ मा आम्दानीमा समावेश गर्नुपर्ने ।
२. २०६४।६५सम्म सेवा प्रदान गर्नु अगावै पेश्की लिएको रकम आ.व.२०६५।६६मा सेवा प्रदान गरेता पनि आय २०६४।६५मा नै गणना भइसकेको हुँदा रु.३०,०००।– दोहोरो आय गणना गर्नु नपर्ने । अर्थात आ.व.२०६५।६६मा सेवा प्रदान भए तापनि सो आ.व.को आयमा समावेश गर्नु नपर्ने ।
३. घर बहाल खर्च पेश्की रु.४८,०००।– मध्ये ६ महिनाको रु.२४,०००।– आ.व.२०६५।६६ सँग सम्बन्धित भए तापनि नगद आधारमा आ.व.२०६४।६५मा नै कट्टी दाबी गरिसकेकोहुँदा आ.व.२०६५।६६ मा कट्टी दाबी गर्न नपाउने ।
आ.व.२०६५।६६मा यस्ता आय तथा कट्टी दाबी गर्ने खर्च रकमहरू दोहोरो नपर्ने गरी समायोजन गरे पश्चात त्यस पछिका आय वर्षमा भने Accrual Basisमा लेखाङ्कन गर्नु पर्दछ।
ऐनको परिच्छेद–७ मा उल्लेख भए बमोजिम कुनै व्यक्तिद्वारा गरिएको कारोबारको भुक्तानी नगदमा मात्र नभई सम्पत्तिको हस्तान्तरण गरी गरिएको भुक्तानीको हकमा त्यसरी हस्तान्तरित सम्पत्तिको बजार मूल्य बराबरको रकमलाई आयमा समावेश गर्नु पर्दछ । यसरी हस्तान्तरित सम्पत्तिको मूल्य दुई पक्षबीच भएको सम्झौतामा उल्लेख गरिएको मूल्य वा कितावी मूल्यलाई आधिकारिक कारोबार मूल्य नमानी सो बखत हस्तान्तरित सम्पत्तिको बजार अनुसार यकिन गरिएको मूल्यलाई ऐनको प्रयोजनको लागि आधिकारिक मूल्य मानी आयमा समावेश गर्नु पर्दछ । यसरी गरिएको कारोबार व्यवसायसँग सम्बन्धित भएको हुँदा व्यवसायको आय गणना गर्दा समावेश गर्नु पर्दछ । उक्त व्यहोरा तलको उदाहरणबाट स्पष्ट पारिएको छ :
उदाहरण ६.२.८ः मानौं, दिगम बान्तवा भन्ने व्यक्तिले स्कट नेपाल प्रा.लि.नामको संस्थालाई कुनै सेवा उपलब्ध गराएका रहेछन् । उक्त संस्थाले निज दिगमलाई सो सेवाको मूल्य नगदमा भुक्तानी नदिई एउटा टेलिभिजन दिएको रहेछ । उक्त टेलिभिजनको बजार मूल्य रु.५०,०००।– रहेछ भने सो अवस्थामा निज बान्तवाले रकम भुक्तानी नलिए पनि रु.५०,०००।– को भुक्तानी प्राप्त गरे सरह मानिनेछ ।
ऐनको दफा ५६ अनुसार निकाय र हिताधिकारी बीचको कारोबारमा भएको सम्पत्ति वा दायित्वको निःसर्गबाट हुने लाभलाई यस खण्ड अन्तर्गत आयमा समावेश गरी विवरण भर्नु पर्दछ । यस सम्बन्धी विस्तृत विवरण यसै निर्देशिकाको परिच्छेद १३ मा उल्लेख गरिएको छ ।
ऐनको दफा ६० अनुसार सामान्य बीमा व्यवसायबाट हुने आय यस खण्डमा समावेश गरी विवरण भर्नु पर्दछ । यस सम्बन्धमा विस्तृत विवरण यसै निर्देशिकाको परिच्छेद १९ मा उल्लेख गरिएको छ ।
६.२.३ व्यवसायको आयमा समावेश नहुने रकमहरू
ऐनको दफा ७ को उपदफा (३) मा व्यवसायको आयमा समावेश नहुने रकमहरूका सम्बन्धमा निम्नानुसारको व्यवस्था गरेको छः
७(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको दफा १०, ५४ र ६९ बमोजिम छुट पाउने रकम र अन्तिम रूपमा कर कट्टी हुने भुक्तानीहरू व्यवसाय सञ्चालनबाट भएको मुनाफा र लाभको गणना गर्दा समावेश गर्नुपर्ने छैन ।
ऐनको दफा १० बमोजिम निम्नानुसारको रकमहरूलाई आयमा समावेश गर्नु पर्दैन ।
१०(क) नेपाल सरकार र कुनै विदेशी राष्ट्र वा अन्तर्राष्ट्रिय संघ संस्थाको बीचमा भएको द्विपक्षीय वा बहुपक्षीय सन्धि वा सम्झौतामा उल्लेख भए बमोजिम कर छुटको सुविधा पाउने कुनै व्यक्तिले प्राप्त गरेको कर छुटको रकम,
नेपाल सरकार र अन्य कुनै पनि विदेशी राष्ट्र वा अन्तर्राष्ट्रिय संघ संस्थाको बीचमा भएको द्विपक्षीय सन्धिमा उल्लेख भए बमोजिम कर छुटको सुविधा पाउने व्यक्तिले सो सन्धिको अधीनमा रही प्राप्त गरेको रकम कर छुटको रकम हुनेछ ।
१०(छ) छुट पाउने संस्थाले देहायबापत प्राप्त गरेको रकमः–
(१) चन्दा, उपहार,
(२) दफा २ को खण्ड (ध) बमोजिमको छुट पाउने संस्थालाई प्रतिफल प्राप्त गर्ने वा प्रतिफलको आस नगरी त्यस्तो संस्थाको कार्यसँग प्रत्यक्ष रूपले सम्बन्धित अन्य योगदानहरू, वा
(३) .....................................
छुट पाउने संस्थाले प्राप्त गरेको चन्दा, उपहार वा छुट पाउने संस्थाबाट प्रतिफल प्राप्त गर्ने वा प्रतिफलको आस नगरी त्यस्तो संस्थाको कार्यसँग प्रत्यक्ष रूपले सम्बन्धित अन्य योगदानहरू कर छुट हुने रकम मानिन्छ । उक्त अवस्था तलको उदाहरणमा खुलाइएको छ ।
उदाहरण ६.२.९ः मानौं, नेपाल दलित विकाश मञ्च विभागमा कर छुट पाउने संस्थाको रूपमा दर्ता भएको एक निकाय रहेछ । उक्त मञ्चलाई विभिन्न दाताहरूबाट रु.५ लाख चन्दा प्राप्त भएको रहेछ । त्यस्तै नेपाल सरकारबाट दलित उत्थान कार्यमा खर्च गर्ने गरी रु.१० लाख अनुदान प्राप्त भएको रहेछ भनेत्यस्तो दुवैरकम उक्त निकायको लागि कर छुट रकम मानिन्छ र आयकर प्रयोजनको निमित्त आयमा समावेश गर्नु पर्दैन ।
१०(ञ) नेपाल राष्ट्र बैंकले आफ्नो उद्देश्य अनुरूप आर्जन गरेको रकम । नेपाल राष्ट्र बैङ्कले आफ्नो उद्देश्य अनुरूप आर्जन गरेको रकम समेत कर छुट हुने रकम मानिने हुँदा उक्त रकम आयमा समावेश गर्नु पर्देन । उक्त अवस्था तलको उदाहरणमा खुलाइएको छ ।
उदाहरण ६.२.१०: मानौं, नेपाल राष्ट्र बैङ्कले बैकिङ्ग विकास कोषमा रु.२० करोड छुट्याएको रहेछ । उक्त कोषमा रहेको रकम विभिन्न बैङ्क तथा वित्तीय संस्थामा निक्षेपमा रहेको र सो निक्षेपबाट नेपाल राष्ट्र बैङ्कलाई रु.१ करोड ब्याज आम्दानी भएको रहेछ । यस्तो आय नेपाल राष्ट्र बैङ्कको उद्देश्य अनुसार खर्च गर्ने कोषको आय भएको हुँदा त्यस्तो आय छुट हुने आय मानिन्छ । ब्याज भुक्तानी गर्ने व्यक्तिले त्यस्तो ब्याज रकमको भुक्तानीमा समेत स्रोतमा कर कट्टी गर्नु पर्दैन ।
१०(ट) जलस्रोत ऐन,२०४९ बमोजिम दर्ता भएका खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आफ्नो उद्देश्य अनुरूप आर्जन गरेको रकम जलस्रोत ऐन,२०४९ बमोजिम दर्ता भएका खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आफ्नो उद्देश्य अनुरूप आर्जन गरेको रकम समेत कर छुट हुने रकम मानिने हुँदा उक्त रकम आयमा समावेश गर्नु पर्देन ।
ऐनको दफा ५४ अनुसार कम्पनी वा साझेदारी फर्मबाट वितरण गरिएको लाभांशमा अन्तिम रूपमा कर कट्टी गर्ने विधिद्वारा कर लगाइन्छ भने अन्य निकायले वितरण गरेमा कर नलाग्ने व्यवस्था छ । यस सम्बन्धमा विस्तृत व्यवस्था यसै निर्देशिकाको परिच्छेद १३ मा उल्लेख गरिएको छ ।
नियन्त्रित विदेशी निकायहरूद्वारा आर्जित आयमा ऐनको दफा ६९ अनुसार सोही आय वर्षमा नै कर निर्धारण भई सक्ने हुनाले त्यस्ता निकायबाट वास्तविक रूपमा वितरण हुने रकमहरू आय गणना गर्ने प्रयोजनको लागि समावेश गर्नु पर्दैन । यस सम्बन्धमा विस्तृत विवरण यसै निर्देशिकाको परिच्छेद १४ मा उल्लेख गरिएको छ ।
अन्तिम रूपमा कर कट्टी हुने ऐनको दफा ९२ अनुसारका भुक्तानीहरूमध्ये व्यवसायसँग सम्बन्धित भुक्तानी भए त्यस्तो भुक्तानीबाट प्राप्त भएको रकमलाई आयमा समावेश गर्नु पर्दैन । जस्तै, नेपाल स्रोत भएको भुक्तानीमा कर कट्टी गरी प्राप्त गरेको लाभांश रकमलाई ऐनको दफा ९२ अनुसार अन्तिम कर कट्टी गरी भुक्तानी गरिएको रकम मानिने हुँदा यस्तो भुक्तानी रकमलाई आयमा समावेश गर्नु पर्दैन । यस सम्बन्धमा विस्तृत विवरण यसै निर्देशिकाको परिच्छेद १६ मा उल्लेख गरिएको छ ।
६.३ रोजगारीबाट भएको आयमा समावेश हुने रकमहरूः
६.३.१ ऐनको दफा ८ को उपदफा (१) बमोजिम कुनै प्राकृतिक व्यक्तिले कुनै आय वर्षमा रोजगारीबाट प्राप्त गरेको पारिश्रमिक सो वर्षमा सो व्यक्तिको रोजगारीको आय मानी गणना गर्नु पर्नेछ ।
आयकर ऐन २०५८ को दफा २ को खण्ड (ज्ञ) अनुसार रोजगारी भन्नाले कुनै पनि किसिमको विगत, वर्तमान वा भावी रोजगारी सम्झनु पर्दछ ।
उक्त परिभाषा अनुसार कुनै पनि प्राकृतिक व्यक्तिले विगतमा गरेको वा वर्तमानमा गरिरहेको वा कुनै शर्त बमोजिम भविष्यमा गरिने रोजगारीलाई समेत जनाउँछ । रोजगारी आय भन्नाले कुनै पनि प्राकृतिक व्यक्तिले रोजगारीको शर्त अनुसार आफ्नो ज्ञान, अनुभव, सीप, जाँगर तथा श्रम प्रयोग गरी सेवा प्रदान गरे बापत प्राप्त गरिने नगद, जिन्सी तथा अन्य सुविधालाई जनाउँदछ ।
रोजगारीका सम्बन्धमा विस्तृत विवरण यसै निर्देशिकाको परिच्छेद १७ मा उल्लेख गरिएको छ ।
६.३.२ रोजगारीबाट भएको आयको गणनामा समावेश हुने रकमहरू
रोजगारीको आय गणना गर्दा रोजगारीको सिलसिलामा रोजगारदाताबाट रोजगारकर्ताले प्रत्यक्ष वा परोक्ष तरिकाले प्राप्त गरेको नगदी, जिन्सी, सेवा वा सुविधा बापतको रकमलाई समावेश गर्नुपर्छ । ऐनको दफा ८ को उपदफा (२) मा आयमा समावेश गर्ने सम्बन्धमा निम्नानुसार व्यवस्था रहेको छ :
कुनै आय वर्षमा प्राकृतिक व्यक्तिलाई दिइएका देहायका भुक्तानीहरू त्यस्तो प्राकृतिक व्यक्तिको सो आय वर्षको रोजगारीबाट प्राप्त पारिश्रमिक गणना गर्दा समावेश गर्नु पर्नेछः–
८(२)(क) ज्याला, तलब, बिदा बापतको रकम, अतिरिक्त समय काम गरेबापतको रकम, शुल्क, कमिशन, पुरस्कार, उपहार, बोनस र अन्य सुविधाहरू बापतको भुक्तानी,
८(२)(ख) महङ्गी भत्ता, जीवन निर्वाह खर्च, भाडा, मनोरन्जन वा यातायात भत्ता बापतको रकम लगायत कुनै पनि व्यक्तिगत भत्ताका भुक्तानी,
८(२)(ग) निज वा निजको सम्बद्घ व्यक्तिले व्यक्तिगत प्रयोजनको लागि गरेको खर्चको फछ्र्यौट वा सोधभर्ना बापत प्राप्त गरिएको भुक्तानी,
८(२)(घ) रोजगारीका कुनै शर्तमा सहमति जनाएबापत गरिएका भुक्तानी,
८(२)(ङ) रोजगारीको अन्त्य, नोक्सानी वा अनिवार्य अवकाश बापत गरिएका भुक्तानी,
८(२)(च) अवकाश भुक्तानी र रोजगारदाताले सो कर्मचारीको लागि अवकाश कोषमा जम्मा गरेको रकम समेतका अवकाश योगदान,
ऐनको दफा २ को खण्ड (ङ) बमोजिम“अवकाश भुक्तानी” भन्नाले देहायका व्यक्तिलाई दिइने भुक्तानी सम्झनु पर्छः–
(१) प्राकृतिक व्यक्तिले अवकाश लिएको अवस्थामा निजलाई दिइने भुक्तानी, वा
(२) प्राकृतिक व्यक्तिको मृत्यु भएको अवस्थामा निजको आश्रितलाई दिइने भुक्तानी ।
माथि उल्लिखित प्रावधान यसै निर्देशिकाको परिच्छेद १२ मा विस्तृत रूपमा उल्लेख गरिएका छन्।
८(२)(छ) रोजगारीका सम्बन्धमा गरिएका अन्य भुक्तानी,
रोजगारदाताले रोजगारकर्तालाई रोजगारीको सम्बन्धमा गरिएका माथि उल्लेख गरिएका बाहेक पनि अन्य भुक्तानी, जस्तै Holiday Trip, Shopping जस्ता व्यक्तिगत खर्चका भुक्तानीलाई समेत रोजगारीको आयमा समावेश गर्नु पर्दछ ।
८(२)(ज) परिच्छेद–६ वा परिच्छेद–७ बमोजिम समावेश गरिनु पर्ने अन्य रकमहरू ।
कुनै पनि व्यक्तिले रोजगारदाताले उपलब्ध गराएको विभिन्न सुविधाहरूलाई परिमाणीकरण एवम्चारित्रीकरण गरी आफ्नो आयमा समावेश गर्नु पर्दछ ।
६.३.३ रोजगारीको आयको कर लेखाङ्कन गर्ने तरिका र समयः
रोजगारीको आयको कर लेखाङ्कनऐनको दफा २२ को उपदफा (१) तथा (२) बमोजिम निम्नानुसार गरिनु पर्दछ:–
(१) कुनै व्यक्तिले कहिले कुनै आय प्राप्त गर्छ वा कुनै खर्च गर्छ भन्ने कुराको निर्धारण यस ऐनको अधीनमा रही लेखाको सर्वमान्य सिद्धान्त अनुरूप हुनेछ ।
(२) प्राकृतिक व्यक्तिले निजको रोजगारी तथा लगानीबाट प्राप्त हुने आयको गणना गर्दा कर
प्रयोजनको लागि नगद आधारमा लेखाङ्कन गर्नु पर्नेछ ।
ऐनको दफा २३ को खण्ड (क) तथा (ख) बमोजिम प्राकृतिक व्यक्तिले रोजगारीबाट प्राप्त हुने आयको गणना गर्दा कर प्रयोजनको लागि नगदको आधारमा देहाय बमोजिम लेखाङ्कन गर्नु पर्दछ:
(क) निजले भुक्तानी प्राप्त गर्दा वा निजलाई सो भुक्तानी उपलब्ध हुँदाका अवस्थामा मात्र निजको आयको गणनामा रकम प्राप्त गरेको मानी समावेश गर्नु पर्नेछ ।
(ख) निजले भुक्तानी गरेपछि मात्र सो गणनामा खर्च बापत कट्टी गर्नु पर्नेछ ।
यसमा खास गरिकन कुनै पनि रोजगारकर्ताले आपूmले प्राप्त गरेको नगद वा निजको खातामा जम्मा भएको अवस्थामा मात्रै आयमा समावेश गर्ने र भुक्तानी गरेपछि मात्रै खर्च दाबी गर्ने प्रणालीलाई नगदको आधारमा लेखाङ्कन गर्ने पद्दति मानिन्छ । कर लेखाङ्कन गर्ने तरिका र समय सम्बन्धी प्रावधान यसै निर्देशिकाको परिच्छेद ८ मा विस्तृत रूपमा उल्लेख गरिएको छ ।
६.३.४ रोजगारी आयमा समावेश गरिने सुविधा तथा चारित्रिकरणः
रकमहरूको परिमाणीकरण : नगद बाहेक अन्य किसिमले भुक्तानी पाएको अवस्थामा परिमाणीकरण गर्ने गरी ऐनको दफा २७ मा व्यवस्था गरिएको छ । उक्त दफामा व्यवस्था गरिएका सुविधाहरूलाई मौद्रिक रूपमा यकिन गरी सोही अनुसार रोजगारकर्ताको आयमा समावेश गर्नु पर्दछ । यसको अलावा ऐनको दफा ३१ बमोजिम क्षतिपूर्ति बापतको भुक्तानीको चारित्रीकरण गरी आयमा समावेश गर्नु पर्दछ ।
ऐनको दफा २७ को उपदफा (१) को खण्ड (क) देखि (ङ) सम्म भुक्तानीका रकमहरूलाई परिमाणीकरण (Quantification) निम्नानुसार गरिएको छ :
२७(१)(क) कुनै एक व्यक्तिले अर्को व्यक्तिलाईसम्पत्ति हस्तान्तरण गरी गरिएको भुक्तानीको हकमा हस्तान्तरित सम्पत्तिको बजार मूल्य बराबरको रकम ।
रोजगारदाताले आफ्नो कार्यालयमा कार्यरत कामदार तथा कर्मचारीका लागि नगद सुविधाको सट्टा चल वा अचल सम्पत्ति हस्तान्तरण गरी भुक्तानी गरेको अवस्थामा त्यसरी हस्तान्तरित सम्पत्तिको बजार मूल्य बराबरको रकम प्राप्तकर्ता अर्थात कर्मचारीको रोजगारीको आयमा समावेश गर्नु पर्दछ । ऐनको दफा २७ को उपदफा (२) बमोजिम भुक्तानी आर्जन गरेको, प्राप्त गरेको, दिएको, बहन गरेको वा कर प्रयोजनको लागि अन्य रूपमा हिसाब गरिएको समयलाई नै रकमको परिमाणीकरण भएको समय अर्थात सोही मितिमा भुक्तानी दिएको मानिनेछ ।
२७(१)(ख) देहायका कुरा उपलब्ध गराएबापत भएको भुक्तानीको लागि तोकिए बमोजिम निर्धारण हुने रकम वा रकम निर्धारण गर्ने व्यवस्था नगरिएकोमा खण्ड (ङ) अनुसार निर्धारण हुने रकमः–
२७(१)(ख)(१) भुक्तानी पाउने व्यक्तिको पूर्ण वा आंशिक रूपमा निजी प्रयोजनका लागि प्रयोग गरिएको वा प्रयोगको लागि उपलब्ध भएको सवारी साधन, वा
रोजगारदाताले नियमानुसार कामदार तथा कर्मचारीहरूलाई व्यक्तिगत प्रयोजनका लागि पूर्ण वा आंशिक रूपमा उपलब्ध गराएको सवारी साधन प्रयोग गरे बापत परिश्रमिक आय गणना गर्दा खाइपाई आएको तलब (सुरु तलव र ग्रेड) को ०.५ प्रतिशतले हुने रकम भुक्तानी पाए सरह मानी आयमा समावेश गर्नु पर्दछ ।
२७(१)(ख)(२)भुक्तानी पाउने व्यक्तिको लागि उपलब्ध गराइएको भवन ।
रोजगारदाताले मासिक पारिश्रमिक पाउने कामदार तथा कर्मचारीहरूलाई आफ्नै वा भाडामा लिई बासस्थानको व्यवस्था गरेमा उक्त सुविधा उपभोग गर्ने कर्मचारीको परिश्रमिक आय गणना गर्दा खाइपाई आएको तलब (सुरु तलव र ग्रेड) को २ प्रतिशतले हुने रकम भुक्तानी पाए सरह मानी आयमा समावेश गर्नु पर्दछ ।
२७(१)(ग) देहायका कुरा उपलब्ध गराएबापत भुक्तानी दिने व्यक्तिले गरेको खर्चबाट भुक्तानी प्राप्त गर्ने व्यक्तिको योगदान कटाई बाँकी हुन आएको रकमः–
(१) घरको रेखदेखकर्ता, भान्छे, सवारी चालक, माली वा अन्य घरेलु सहायकको सेवा,
(२) कुनै खाना, जलपान वा मनोरञ्जन, वा
(३) भुक्तानी प्राप्त गर्ने व्यक्तिको निवासस्थानमा जडान गरिएको धारा, बिजुली, टेलिफोन जस्ता सेवाहरू,
कुनै पनि निकायले आफ्नो कर्मचारीलाई निकायको नियमावली अनुसार निजको लागि घरको रेखदेखकर्ता, भान्छे, सवारी चालक, माली वा अन्य घरेलु सहायकको सेवा उपलब्ध गराएको अवस्थामा सुविधा प्राप्त गर्ने व्यक्तिले सो सुविधा प्राप्त गरे बापत कुनै भुक्तानी गरेको भए सो भुक्तानी गरेको रकम कटाई बाँकी हुन आउने रकम निजको रोजगारीको आय गणना गर्दा समावेश गर्नु पर्दछ ।
सुविधा प्राप्त गर्ने व्यक्तिको निवास स्थानमा जडान गरिएको धारा, बिजुली, टेलिफोन जस्ता सेवाहरू उपलव्ध गराए बापत निकायले उक्त सुविधा उपलव्ध गराए बापत तिरेको महसुल रकम भने सुविधा उपभोग गर्ने व्यक्तिको रोजगारीको आयमा समावेश गर्नु पर्दछ ।
२७(१)(घ) कुनै आय वर्षमा भुक्तानी प्राप्त गर्नुपर्ने कुनै व्यक्तिले ऋण बापत तिरेको ब्याज प्रचलित ब्याज दर अनुसार तिर्नु पर्ने ब्याज रकमभन्दा कम भएमा सो कम भएजति रकम र
कर्मचारीलाई रोजगारदाताले उपलब्ध गराउने निब्र्याजी वा कम ब्याज दरको कर्जाको ब्याज सहुलियत समेत आयमा समावेश गर्नु पर्दछ ।
२७(१)(ङ) खण्ड (क), (ख), (ग) र (घ) मा उल्लिखित भुक्तानी बाहेक अन्य भुक्तानीको सम्बन्धमा भुक्तानी पाउने व्यक्तिको सट्टा तेस्रो व्यक्तिले भुक्तानी पाएमा सामान्यतयाः पाउने फाइदाको मूल्य बराबरको रकम ।
सुविधा तथा चारित्रीकरण एवम्रकमहरूको परिमाणीकरण सम्बन्धी प्रावधान यसै निर्देशिकाको परिच्छेद ७ मा विस्तृत रूपमा उल्लेख गरिएको छ ।
६.३.५ रोजगारीको आयमा समावेश नगरिने आयहरू :
कुनै प्राकृतिक व्यक्तिले रोजगारीबाट प्राप्त गरेको रोजगारीको आयकोगणना गर्दा समावेश गर्नु नपर्ने रकमहरूको सन्दर्भमा ऐनको दफा ८ को उपदफा (३) मा निम्नानुसारको व्यवस्था रहेको छ:–
८(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको कुनै प्राकृतिक व्यक्तिले रोजगारीबाट प्राप्त गरेको पारिश्रमिकको गणना गर्दा देहायका कुराहरू समावेश गर्नुपर्ने छैन:–
८(३)(क) दफा १० बमोजिम छुट पाउने रकम र अन्तिम रूपमा कर कट्टी हुने भुक्तानी,
(१) ऐनको दफा १० मा उल्लेख भए अनुसार छुट पाउने रकमहरूः
ऐनको दफा १० को खण्ड (क) अनुसार नेपाल सरकार र कुनै विदेशी राष्ट्र वा अन्तर्राष्ट्रिय संघ संस्थाको बीचमा भएको द्विपक्षीय वा बहुपक्षीय सन्धि वा सम्झौतामा उल्लेख भएबमोजिम कर छुटको सुविधा पाउने कुनै व्यक्तिले प्राप्त गरेको कर छुटको रकम, उदाहरणको लागि संयुक्त राष्ट्र संघ, सार्क सचिवालय, एसियाली विकास बैंक जस्ता अन्तर्राष्ट्रिय निकायका कर्मचारीमध्ये सो निकायसँगको सन्धि वा सम्झौतामा उल्लेख भएका हदसम्मका कर्मचारीको आयमा आयकर लाग्दैन ।
ऐनको दफा १० को खण्ड (ख) अनुसार विदेशी राष्ट्रको सरकारी सेवामा रोजगारी गरेबापत कुनै प्राकृतिक व्यक्तिले प्राप्त गरेको रकम, तर,
(१) सो व्यक्ति रोजगारी गरेको कारणले मात्र बासिन्दा वा गैर बासिन्दा भएको हुनुपर्नेछ, र
(२) सो राष्ट्रको सरकारी कोषबाट त्यस्ता रकमहरू भुक्तानी गरिएको हुनु पर्नेछ ।
ऐनको दफा १० को खण्ड (ग) अनुसार रोजगारीको कारणले मात्र नेपालको बासिन्दा भएको गैर नेपाली नागरिक प्राकृतिक व्यक्ति वा निजको निकटस्थ परिवारको सदस्यले विदेशी राष्ट्रको सरकारी कोषबाट प्राप्त गरेका रकम,
ऐनको दफा १० को खण्ड (घ) अनुसार कर तिर्नु नपर्ने शर्तमा नेपाल सरकारको सेवामा नियुक्त भएका गैर नेपाली नागरिकले प्राप्त गरेको रकम,
ऐनको दफा १० को खण्ड (ङ) अनुसार नेपाल सरकार, प्रदेश वा स्थानीय तहबाट सामाजिक सुरक्षाको रूपमा दिइने सबै प्रकारको भत्ता,
ऐनको दफा १० को खण्ड (ज) अनुसार विदेशी राष्ट्रको सेना वा प्रहरी सेवाबाट अवकाश प्राप्त गरेको नेपाली नागरिकले सो राष्ट्रको सरकारी कोषबाट प्राप्त गरेको निवृत्तभरण बापतको रकम । पारिश्रमिक आयमा समावेश नहुने आय सम्बन्धी प्रावधान यसै निर्देशिकाको परिच्छेद १७ मा विस्तृत रूपमा उल्लेख गरिएको छ ।
(२) अन्तिम रूपमा कर कट्टी हुने भुक्तानीः
ऐनको दफा ९२ मा अन्तिम रूपमा अग्रिम कर कट्टी हुने भुक्तानीहरूको व्यवस्था गरिएको छ । यसरी अन्तिम रूपमा कर कट्टी गरी प्राप्त गरिएको आयलाई रोजगारीको आय गणना गर्दा समावेश गर्नु पर्दैन । ती भुक्तानीहरू तल प्रस्तुत गरिएका छन्ः
- बासिन्दा कम्पनी वा साझेदारी फर्मलेभुक्तानी गरेको लाभांश,
- व्यवसाय सञ्चालन गरिरहेको बाहेक अन्य प्राकृतिक व्यक्तिलाई नेपालमा स्रोत भएको जग्गा वा घर र सोसँग गाँसिएका जडानहरू र उपकरणहरू बापत भुक्तानी गरेको भाडा,
- बासिन्दा व्यक्तिले लगानी बीमा बापत भुक्तानी गरेको लाभ,
- बासिन्दा व्यक्तिले तिरेको स्वीकृति नलिएको अवकाश कोषको हित बापत भुक्तानी गरेको लाभ,
- नेपालमा स्रोत भएको र व्यवसाय सञ्चालनसँग सम्बन्धित नभएको प्राकृतिक व्यक्तिलाई र कर छुट पाउने संस्थालाई भुक्तानी गरेको दफा ८८ को उपदफा (३) मा उल्लेख भए बमोजिम बैङ्क, वित्तीय संस्था, सहकारी वा ऋणपत्र जारी गर्ने अन्य कुनै निकाय वा प्रचलित कानुन बमोजिम सूचिकृत भएका कम्पनी वा सहकारीले भुक्तानी दिएको ब्याज,
- दफा ८७, ८८, ८८क. वा ८९ बमोजिम गैरबासिन्दा व्यक्तिलाई दिइएकोकर कट्टी हुनुपर्ने भुक्तानी,
-नेपाल सरकार वा स्वीकृत अवकाश कोष वा स्वीकृति नलिएको अवकाश कोषबाट भुक्तानी गरिएको अवकाश भुक्तानीहरू समेत सबै प्रकारका अवकाश भुक्तानीहरू (नियमित रूपमा भुक्तानी हुने निवृत्तभरण बाहेक),
- प्रति बैठक बीस हजार रूपैंयाँसम्मको बैठक भत्ता, पटके रूपमा अध्यापन गराए बापत, प्रश्नपत्र तयार गरे वा उत्तरपुस्तिका जाँच गरे बापतको भुक्तानी,
- आकस्मिक लाभ बापतको भुक्तानी,
- सामूहिक लगानी कोष (म्युच्यूअल फण्ड) बाट प्राकृतिक व्यक्तिलाई वितरण गरिने प्रतिफल रकम, तथा
- एकलौटी फर्म बाहेकका प्राकृतिक व्यक्तिको सवारी साधन वा ढुवानी सेवाको भाडा बापतको भुक्तानी ।
८(३)(ख) समान शर्तमा सबै कर्मचारीलाई उपलब्ध हुने गरी रोजगारदाताबाट कार्यस्थलमा कर्मचारीलाई उपलब्ध गराइएका खाना तथा खाजा,
८(३)(ग) कुनै कर्मचारीले गरेको देहायका खर्चको फछ्र्योट वा सोधभर्नाः–
(१) सो खर्चले रोजगारदाताको व्यवसाय प्रयोजन पूरा गरेमा, वा
(२) प्राकृतिक व्यक्तिको व्यवसाय वा लगानीबाट हुने आयको गणनामा छुट भएको वा छुट हुने खर्च ।
व्यवसायको प्रयोजन पूरा गर्नको लागि कर्मचारीले रोजगारदाताबाट प्राप्त गरेको रकमको फछ्र्योट वा सोधभर्ना कर्मचारीकोरोजगारी आयमा समावेश गर्नु पर्दैन ।
८(३)(घ) हिसाब किताब राख्न अव्यावहारिक वा प्रशासनिकरूपले कठिन हुने तोकिए बमोजिमको साना रकमको भुक्तानी ।
हिसाब किताब राख्न अव्यवहारिक तथा प्रशासनिक हिसाबले कठिन हुने साना तिना खर्चहरू एक पटकमा रु.५००।– सम्म भुक्तानी प्राप्त गर्ने रोजगारकर्ताले उक्त भुक्तानी रकम आयमा समावेश गर्नु पर्दैन । सानातिना खर्चहरू आयकर नियमावलीको नियम ६ मा उल्लेख गरिएको छ ।
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “भुक्तानी” भन्नाले देहाय बमोजिम भएको भुक्तानी सम्झनु पर्छ ः–
(क) रोजगारदाताबाट भएको,
(ख) रोजगारदाताको सम्बद्ध व्यक्तिबाट भएको, र
(ग) रोजगादाता वा निजको सम्बद्ध व्यक्तिसँग भएको सम्झौता अनुसारको कुनै तेस्रो व्यक्तिबाट भएको ।
माथि उल्लिखित व्यवस्थाका सम्बन्धमा विस्तृत व्याख्या यस निर्देशिकाको परिच्छेद १७ मा गरिएको छ ।
६.४ लगानीबाट भएको आयमा समावेश हुने रकमहरूः
६.४.१ लगानी भन्नाले एक वा एक भन्दा बढी सम्पत्ति धारण गर्ने वा सम्पत्ति लगानी गर्ने कार्यलाई सम्झनु पर्दछ । ऐनको दफा २ को खण्ड (कख) मा लगानीलाई निम्नानुसार परिभाषित गरिएको छः
“लगानी” भन्नाले देहाय बमोजिम बाहेक एक वा एक भन्दा बढी सम्पत्ति धारण गर्ने वा त्यस्तो सम्पत्ति लगानी गर्ने कार्य सम्झनु पर्छः–
(१) सम्पत्तिमा स्वामित्व राख्ने व्यक्तिबाट निजी प्रयोगमा ल्याइएको सम्पत्ति राख्ने कार्य,
(२) रोजगारी वा व्यवसाय ।
तर गैर व्यावसायिक करयोग्य सम्पत्ति राख्ने कार्य लगानी मानिने छ ।
सम्पत्ति धारण (Holding) गरी आय आर्जन गर्ने कार्यलाई लगानी भनिन्छ । सम्पत्तिमा स्वामित्व राख्ने व्यक्तिबाट निजी प्रयोगमा ल्याइएको सम्पत्ति राख्ने कार्य वा रोजगारी वा व्यवसायमा प्रयोग गरिएको सम्पत्ति बाहेकका सम्पत्तिमा स्वामित्व राख्ने एवम् गैर व्यावसायिक करयोग्य सम्पत्ति राख्ने जस्ता कार्यलाई लगानी भनिन्छ । सामान्यतयाः लगानीको आय आर्जन गर्ने कार्यमा आय आर्जन गर्ने व्यक्तिको निरन्तर सहभागिता (Active Engagement) रहदैन । लाभांश, ब्याज, प्राकृतिक स्रोत बापतको भुक्तानी, भाडा, रोयल्टी, लगानी बीमाबाट प्राप्त लाभ, स्वीकृति प्राप्त नगरेको अवकाश कोषको हितबाट प्राप्त लाभ वा स्वीकृत अवकाश कोषबाट गरिएको अवकाश भुक्तानी, गैर व्यावसायिक करयोग्य सम्पत्तिको निःसर्ग (Disposal) बाट प्राप्त खुद लाभ जस्ता आय लगानीको आय वा प्रतिफल हुन्छ । सामान्यतयाः यस्ता आय आर्जन गर्ने व्यक्तिको सो आय आर्जन गर्ने सन्दर्भमा निरन्तर सहभागिता अनिवार्य छैन ।
६.४.२ गैर व्यावसायिक करयोग्य सम्पत्ति
ऐनको दफा २ को खण्ड (द) अनुसार “गैर व्यावसायिक करयोग्य सम्पत्ति” भन्नाले देहायका सम्पत्ति बाहेकका जग्गा, भवन तथा कुनै निकायमा रहेको हित वा सुरक्षण सम्झनु पर्छः–
२(द)(१) व्यावसायिक सम्पत्ति, ह्रासयोग्य सम्पत्ति वा व्यापारिक मौज्दात,
(क) व्यावसायिक सम्पत्तिः व्यवसायिक सम्पत्ति भन्नाले व्यवसायमा प्रयोग गरिएका सम्पूर्ण सम्पत्तिलाई जनाउँछ । तर, त्चबमष्लन कतयअप अर्थात बिक्रीको प्रयोजनको लागि रहेको सम्पत्ति र ह्रासयोग्य सम्पत्तिलाई व्यावसायिक सम्पत्ति मानिदैन ।
(ख) ह्रासयोग्य सम्पत्तिः ह्रासयोग्य सम्पत्ति भन्नाले कुनै लगानीमा आय आर्जनको लागि प्रयोग गरिएका टुटफुट वा पुरानो हँुदै गएको वा समय व्यतित हुदै गएको कारणबाट मूल्यमा ह्रास हुने सम्पत्तिलाई सम्झनु पर्दछ । तर, यस शब्दले व्यापारिक मौज्दातलाई भने जनाउँदैन ।
(ग) व्यापारिक मौज्दात (Trading Stock)–बिक्री गर्ने वा उत्पादन गर्नको लागि उपभोग गरिने उद्देश्यले राखिएको सम्पत्तिलाई व्यापारिक मौज्दात भनिन्छ । कुनै व्यक्तिको स्वामित्वमा रहेको एवम्निजद्वारा सञ्चालित नियमित व्यवसायको क्रममा बिक्री गरिने सम्पत्ति, कार्य प्रगतिमा रहेको सम्पत्ति (Work in Progress) र यस्ता सम्पत्तिमा प्रयोग हुने सामग्री, जस्तै एबअपष्लन Packing Material मौज्दातलाई व्यापारिक मौज्दात मानिन्छ । उक्त व्यवस्था तलको उदाहरणमा खुलाइएको छ ।
उदाहरण ६.४.१ः मानौं, हाडा फर्निचर प्रा.लि.ले फर्निचर खरिद बिक्री गर्ने कार्य गर्दछ । निजले आ.व.२०७०÷०७१ मा रु.१००,०००।– को दश वटा मेच खरिद गरेको रहेछ र सोमध्ये ६ वटा मेच रु.७०,०००।– मा बिक्री गरेको रहेछ भने सो आ.व.मा बिक्रीको लागि राखिएको १० वटा मेच उक्त प्रा.लि.को व्यापारिक मौज्दात हो।
२(द)(२) कुनै प्राकृतिक व्यक्तिको निम्न अवस्थाको निजी भवन –
(क) अविच्छिन्न दश वर्ष वा सोभन्दा बढी अवधि स्वामित्वमा रहेको, र
(ख) सो व्यक्तिले अविच्छिन्न वा पटक पटक गरी कुल दश वर्ष वा दश वर्ष भन्दा सोभन्दा बढी बसोबास गरेको,
स्पष्टीकरणः यस खण्डको प्रयोजनका लागि “निजी भवन” भन्नाले भवन र भवनले ओगटेको क्षेत्रफल बराबरको जग्गा वा एक रोपनी जग्गा मध्ये जुन घटी हुन्छ त्यसलाई सम्झनु पर्छ ।
कुनै प्राकृतिक व्यक्तिको अविच्छिन्न (लगातार) दश वर्ष वा दश वर्ष भन्दा बढी स्वामित्व (Ownership) रहेको र सो व्यक्तिले अविच्छिन्न वा पटक पटक गरी कुल दश वर्ष वा सोभन्दा बढी बसोबास गरेको निजी भवन ९एभचकयलब िज्यगकभ० लाई कर नलाग्ने सम्पत्ति मानिएको छ । कुनै व्यक्तिको निजी भवन गैर व्यावसायिक करयोग्य सम्पत्ति नमानिन सो व्यक्तिले सो भवन अविच्छिन्न दश वर्ष वा सो भन्दा बढी आफ्नो स्वामित्व (Ownership) मा राखेको हुनुपर्ने र सो व्यक्ति सो भवनमा अविच्छिन्न वा पटक पटक गरी दश वर्ष वा सो भन्दा बढी बसोबास गरेको (दुवैअवस्था पूरा गरेको) हुनु अनिवार्य रहेको छ । यस प्रयोजनका लागि निजी भवन भन्नाले भवन र भवनले ओगटेकोक्षेत्रफल बराबरको जग्गा वा १ रोपनी (५४७६ वर्गफूट वा ५०८.७४ बर्गमिटर) मध्ये जुन घटी हुन्छ सोलाई बुझाउँछ । गैर व्यावसायिक करयोग्य सम्पत्ति सम्बन्धमा विस्तृत व्याख्या यस निर्देशिकाको परिच्छेद २ मा गरिएको छ ।
२(द)(३) कुनै हिताधिकारीको अवकाश कोषमा रहेको हित,
अवकाश कोषमा योगदान गर्ने हरेक व्यक्ति अवकाश कोषमा रहेको लगानीकोसन्दर्भमा हिताधिकारी हुन्छन् । यसरी हिताधिकारीको उक्त अवकाश कोषमा रहेको हितलाई गैर व्यावसायिक करयोग्य सम्पत्ति मानिदैंन । उक्त व्यक्तिको अवकाश कोष बाहेक अन्यत्र निकायमा रहेको लगानीलाई गैर व्यावसायिक करयोग्य सम्पत्ति मानिन्छ । उक्त अवस्था तलको उदाहरणमा खुलाइएकोछ ।
उदाहरण ६.४.२ः मानौं, रामप्रसादले कुनै अवकाश कोषमा हरेक महिना रु.४,०००।– योगदान गर्ने गरेका रहेछन् । साथै, निजले कुनै एक वित्तीय सस्थाको रु.१ लाखको शेयर खरिद गरेका रहेछन् भने अवकाश कोषमा योगदान गरी जम्मा रहेको रकमलाई गैर व्यावसायिक सम्पत्ति मानिदंैन । तर, निजको वित्तीय संस्थाको शेयरमा गरेकोलगानी भने गैर व्यावसायिक करयोग्य सम्पत्ति मानिन्छ ।
२(द)(४) कुनै प्राकृतिक व्यक्तिको दश लाख रूपैयाँ भन्दा कम मूल्यमा निःसर्ग गरेको जग्गा, घरजग्गा तथा निजी भवन, वा
कुनै प्राकृतिक व्यक्तिले जग्गा तथा निजी घर निःसर्ग गर्दा रु.१० लाख भन्दा कम मूल्यमा निःसर्ग गरेको छ भने त्यस्तो सम्पत्ति गैर व्यावसायिक करयोग्य सम्पत्ति मानिदैन । सो भन्दा बढी मूल्यमा निःसर्ग गरेको भए सो सम्पत्तिलाई गैर व्यावसायिक करयोग्य सम्पत्ति मानिन्छ । उक्त अवस्था तलको उदाहरणमा खुलाइएको छ ।
उदाहरण ६.४.३ः मानौं, सुरेशले मिति २०६३।०३।३२ मा रु.२० लाखमा एक घर किनेका रहेछन्र उक्त घर मिति २०७५।१०।५ मा रु.८० लाखमा बिक्री गरेका रहेछन्भने यसरी रु.१० लाख भन्दा बढी मूल्यमा निःसर्ग गरेको उक्त घर निजको गैर व्यवसायिक करयोग्य सम्पत्ति मानिन्छ र उक्त घर निःसर्ग हुँदा प्राप्त रकमलाई गैर व्यावसायिक करयोग्य आय मानिन्छ र ऐनको परिच्छेद ८ अनुसार लाभ गणना गरी हुन आउने खुद लाभलाई गैर व्यावसायिक करयोग्य आय मानी लगानीको आय गणना गर्दा समावेश गर्नुपर्दछ । सो घर निजलेदश वर्ष वा सो भन्दा अगाडि खरिद गरेका एवं अविच्छिन्न वा पटकपटक गरी कुल दश वर्ष वा सोभन्दा बढी बसोबास गरेका रहेछन् भने त्यस्तो घर गैर व्यावसायिक करयोग्य सम्पत्ति मानिदैन र त्यस्तो सम्पत्तिको निःसर्गबाट प्राप्त लाभ निजको लगानीको आयमा समावेश गर्नु पर्दैन ।
२(द)(५) तीन पुस्ताभित्र भएको खरिद बिक्री बाहेक अन्य किसिमले हस्तान्तरण गरी निःसर्ग गरेको सम्पत्ति ।
साधारणतया तीनपुस्ताभित्र खरिद बिक्री नभई अंशबण्डा, बकशपत्र आदि मार्फत सम्पत्तिको हस्तान्तरण गर्ने गरिन्छ । तर कहिलेकाँही तीनपुस्ताभित्र सम्पत्तिको खरिद बिक्री हुने हुँदा यसरी बिक्री गरिएको सम्पत्तिको बिक्री मूल्य रकमलाई गैर व्यावसायिक करयोग्य आय मानिन्छ भने तीन पुस्ताभित्र सम्पत्ति खरिद बिक्री बाहेक अन्य किसिमले हस्तान्तरण भएको भए यस्तो कारोबारलाई गैर व्यावसायिक करयोग्य आय तथा कर प्रयोजनको लागि लगानी मानिंदैन । तर तीन पुस्ताभित्र बिक्री गरिएको भए तापनि सम्पत्तिको मूल्य रु.१० लाख भन्दा कम भएमा पनि सो सम्पत्तिलाई गैर व्यावसायिक करयोग्य सम्पत्ति मानिदैन ।
६.४.३ लगानीबाट भएको आयको गणनामा समावेश हुने रकमहरू
मुनाफा तथा लाभ गणना गर्दा लगानीबाट प्राप्त हुने लाभांश, ब्याज, भाडा, रोयल्टी, गैर व्यावसायिक करयोग्य सम्पत्तिको निःसर्गबाट प्राप्त लाभ आदि समावेश गरिन्छ । कुनै पनि व्यक्तिको लगानीको आय गणना गर्दा ऐनको दफा ९ को उपदफा (२) मा उल्लिखित निम्नानुसार रकमहरू समावेश गरी गर्नु पर्दछ:
९(२ः कुनै व्यक्तिले कुनै आय वर्षमा लगानी गरे बापत गरेको मुनाफा र लाभको गणना गर्दा सो व्यक्तिले सो वर्षमा प्राप्त गरेका देहायका रकमहरू समावेश गर्नु पर्नेछः
–
९(२)(क) सो लगानीबाट प्राप्त लाभांश, ब्याज, प्राकृतिक स्रोत बापतको भुक्तानी, भाडा, रोयल्टी, लगानी बीमाबाट प्राप्त लाभ, दफा ६३ को उपदफा (१) बमोजिम स्वीकृति प्राप्त नगरेको अवकाश कोषको हितबाट प्राप्त लाभ वा स्वीकृत अवकाश कोषबाट गरिएको अवकाश भुक्तानी,
कुनै व्यक्तिले शेयर लगानी गरे बापत प्राप्त गर्ने लाभांश, निक्षेप जम्मा गरे बापत वा कर्जा लगानी गरे बापत प्राप्त गरिने ब्याज, भाडा, स्वीकृति प्राप्त नगरेको अवकाश कोषबाट प्राप्त लाभ वा स्वीकृत अवकाश कोषबाट प्राप्त गरिएको अवकाश भुक्तानी आदि सबै लगानीको आय गणना गर्ने प्रयोजनको लागि आयमा समावेश गर्नु पर्दछ । एवम् प्रकारले कुनै निकायले पेट्रोलियम उत्खनन्गर्नकालागि स्वीकृति प्रदान गरे बापत प्राप्त गरिने रकम वा कुनै प्राविधिक सहयोग वा ट्रेडमार्क प्रयोग गरे बापत भुक्तानी प्राप्त गरिने रोयल्टी जस्ता रकम पनि लगानीको आयमा समावेश गर्नु पर्दछ । तर, लाभांश बापत प्राप्त गरेको रकम, प्राकृतिक व्यक्तिले व्यावसायिक तवरले बाहेक प्राप्त गरेको ब्याज र भाडा, लगानी बीमाबाट प्राप्त लाभ, अवकाश कोषबाट प्राप्त अवकाश भुक्तानीहरू ऐनको दफा ८८ अनुसार अग्रिम कर कट्टी गरी भुक्तानी प्राप्त गरेको रकम ऐनको दफा ९२ अनुसार अन्तिम कर कट्टी गरी भुक्तानी भएकोमानिने हुँदा उक्त रकमलाई लगानीको आयमा समावेश गर्नु पर्दैन । तर गैर बासिन्दाबाट भुक्तानी भएको अवस्थामा उक्त आम्दानीहरू (गैर बासिन्दा निकाय दफा ६९ को नियन्त्रित विदेशी निकाय भएका अवस्थामा लाभांश बाहेक) मुनाफा र लाभमा समावेश गर्नु पर्दछ । उक्त अवस्था तलको उदाहरणमा खुलाइएको छ:–
उदाहरण ६.४.४ः मानौं, हरिस एण्ड कं. ले ABC Company Ltd मा १० प्रतिशत ब्याज आउने गरी रु.१,००,०००।– कर्जा लगानी गरेको रहेछ । उक्त कम्पनीले सो बापत १० प्रतिशतले हुन आउने ब्याज रु.१०,०००।– मा ऐनको दफा ८८ (१) अनुसार १५ प्रतिशतका दरले हुने रु.१,५००।– अग्रिम कर कट्टी गरी बाँकी रु.८,५००।– भुक्तान गरेको रहेछ । यस अवस्थामा निज हरिस एण्ड कं.ले पूरै रकम रु.१०,०००।–लाई लगानीको आयमा समावेश गर्नु पर्दछ । त्यस्तै यदि हरिस भन्ने व्यक्तिले आफ्नो व्यक्तिगत सम्पत्तिको रूपमा रहेको रकम ऋणपत्र जारी गर्ने स्वीकृति नभएको निकाय ABC Company Ltd मा १० प्रतिशत ब्याज आउने गरी रु.१,००,०००।– लगानी गरेका रहेछन्र सो कम्पनीले ब्याज बापत भुक्तानी गरेकोरु.१०,०००।– मा ऐनको दफा ८८ (१) अनुसार १५ प्रतिशतका दरले हुने रु.१,५००।– अग्रिम कर कट्टी गरी बाँकी रु.८,५००।– भुक्तान गरेको रहेछ भने यस अवस्थामा निज हरिसले पुरै रकम रु.१०,०००।–लाई लगानीको आयमा समावेश गरी आय विवरण पेश गर्नु पर्दछ । तर, निजले सो रकम कुनै बैङ्कमा वा ऋणपत्र जारी गर्ने स्वीकृति भएको निकायमा जम्मा गरी ब्याज प्राप्त गरेका रहेछन्भने त्यस्तो कर कट्टी गरी प्राप्त ब्याज अन्तिम रूपमा कर कट्टी हुने भुक्तानी मानिने हुनाले सो ब्याज आयलाई हरिसले लगानीको आयमा समावेश गर्नु पर्दैन ।
९(२)(ख) परिच्छेद–८ बमोजिम गणना गरिएको सो व्यक्तिको सो लगानीको गैर व्यावसायिक करयोग्य सम्पत्तिको निःसर्गबाट प्राप्त खुद लाभ,
गैर व्यावसायिक करयोग्य सम्पत्ति अर्थात व्यवसाय वा लगानीमा प्रत्यक्षरूपले प्रयोग नगरिएको तथा गैर व्यावसायिक करयोग्य सम्पत्तिमा पर्ने जग्गा, भवन तथा कुनै निकायमा रहेको हितको निःसर्ग भएमा त्यस्तो निःसर्गको समयमा निःसर्ग बापत प्राप्त खुद लाभलाई आयमा समावेश गर्नुपर्दछ । यस्तो खुद लाभ गणना गर्दा आम्दानीबाट खर्च घटाई बाँकी रहने लाभबाट कुनै कट्टी नभएको नोक्सानी भए सो समेत घटाई बाँकी रहने रकम खुद लाभ हुन्छ ।
९(२)(ग) सो व्यक्तिले गरेको लगानीको ह्रासयोग्य सम्पत्ति निःसर्ग गर्दा अनुसूची–२ को दफा ४ को उपदफा (२) को खण्ड (क) बमोजिम ह्रासयोग्य सम्पत्तिको समूहमा भएका सम्पत्तिको लागि गरिएको खर्चहरू (आउटगोइङ्गस) सहितको बाँकी मूल्य भन्दा प्राप्त हुने आम्दानीहरू (इनकमिङ्गस) बढी भएमा सो बढी भएजति रकम,
लगानीमा उपभोग गरिएको ह्रासयोग्य सम्पत्ति निःसर्ग गर्दा लाभ भए त्यस्तो लाभलाई लगानीको आयमा समावेश गर्नु पर्दछ ।
९(२)(घ) लगानीका सम्बन्धमा सो व्यक्तिले प्राप्त गरेको उपहार,
लगानीको सन्दर्भमा प्राप्त उपहारलाई लगानीको आयमा समावेश गर्नु पर्दछ । उक्त व्यवस्था तलको उदाहरणमा खुलाइएको छ ।
उदाहरण ६.४.५ः मानौं, हरिसले सम्पन्न बैङ्क लि.मा रु.२ करोड शेयर लगानी गरेका रहेछन् । कुनै आय वर्षमा बैङ्कले रु.१ करोड भन्दा बढी शेयर लगानी गर्ने शेयरधनीलाई दशैंमा एक तोलाको सुनको सिक्का उपहार स्वरूप दिएकोरहेछ भने निजले प्राप्त गरेको उक्त सुनको सिक्का लगानी गरेर उपहार पाएको हुँदा सो उपहार बजार मूल्यमा मूल्यांकन गरी लगानीको आयमा समावेश गर्नु पर्दछ ।
९(२)(ङ) सो लगानीका सम्बन्धमा गरिएको अवकाश भुक्तानी र सो व्यक्तिको लागि अवकाश कोषमा जम्मा गरिएको रकम समेतको अवकाश योगदान,
लगानी गरे बापत प्राप्त हुने अवकाश भुक्तानी तथा त्यस्तो भुक्तानी पाउनको लागि अवकाश कोषमा गरिने योगदानलाई समेत लगानीको आयमा समावेश गर्नु पर्दछ ।
९(२)(च) लगानीका सम्बन्धमा कुनै प्रतिबन्ध स्वीकार गरे बापत प्राप्त गरिएका रकमहरू, र
लगानी नगर्ने शर्तमा वा यस्तै कुनै शर्त वा बन्देजका कारण प्राप्त रकमहरू लगानीको आयमा समावेश गर्नुपर्दछ ।
९(२)(छ) परिच्छेद–६ वा ७ वा दफा ५६ बमोजिम समावेश गरिनु पर्ने अन्य रकमहरू ।
ऐनको परिच्छेद–६ मा उल्लेख भए बमोजिम कर प्रयोजनको लागि कुनै व्यक्तिको लेखाङ्कन तरिका विभागबाट स्वीकृति लिई परिवर्तन गरेको खण्डमा वा सोही परिच्छेदका अन्य दफामा भएको व्यवस्थाको कारणबाट लेखाङ्कन तरिका परिवर्तन भएमा परिवर्तन भएको आय वर्षमा सो व्यक्तिको आय गणना गर्दा समावेश भएको, कट्टा भएको वा समावेश हुने वा कट्टा हुने रकमहरूमा कुनै रकम नछुट्ने गरी वा दोहोरो नपर्ने गरी समायोजन गर्नु पर्नेछ । ऐनको परिच्छेद–७ मा उल्लेख भए बमोजिम कुनैव्यक्तिद्वारा गरिएको कारोबारको भुक्तानी नगदमा मात्र नभई सम्पत्तिको हस्तान्तरण गरी गरिएको भुक्तानीको हकमा त्यसरी हस्तान्तरित सम्पत्तिको बजार मूल्य बराबरको रकमलाई आयमा समावेश गर्नु पर्दछ । यसरी हस्तान्तरित सम्पत्तिको मूल्य दुई पक्षबीच भएको सम्झौंतामा उल्लेख गरिएको मूल्य वा कितावी मूल्यलाई आधिकारीक कारोबार मूल्य नमानी सो बखत हस्तान्तरित सम्पत्तिको बजार अनुसार यकिन गरिएको मूल्यलाई ऐनको प्रयोजनको लागि आधिकारिक मूल्य मानी लगानीको आयमा समावेश गर्नुपर्दछ ।
ऐनको दफा ५६ अनुसार निकाय र हिताधिकारी बीचको कारोबारमा भएको सम्पत्ति वा दायित्वको निःसर्गबाट हुने लाभलाई यस खण्ड अन्तर्गत आयमा समावेश गर्नुपर्दछ । यस सम्बन्धी विस्तृत विवरण यसै निर्देशिकाको परिच्छेद १३ मा उल्लेख गरिएको छ ।
६.४.४ लगानीबाट भएको आयको गणनामा समावेश नहुने रकमहरू
९(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको कुनै व्यक्तिले लगानीबाट प्राप्त गर्ने मुनाफा तथा लाभको गणना गर्दा देहायका कुराहरू समावेश गरिने छैन्नः–
९(३)(क) दफा १०, ५४, र ६९ बमोजिम छुट पाउने रकम र अन्तिम रूपमा कर कट्टी हुने भुक्तानी, र
ऐनको दफा १० बमोजिम निम्नानुसारको रकमहरूलाई आयमा समावेश गर्नु पर्दैन ।
१०(क) नेपाल सरकार र कुनै विदेशी राष्ट्र वा अन्तर्राष्ट्रिय संघ संस्थाको बीचमा भएको द्विपक्षीय वा बहुपक्षीय सन्धि वा सम्झौतामा उल्लेख भए बमोजिम कर छुटको सुविधा पाउने कुनै व्यक्तिले प्राप्त गरेको कर छुटको रकम,
नेपाल सरकार र अन्य कुनै पनि विदेशी राष्ट्र वा अन्तर्राष्ट्रिय संघ संस्थाको बीचमा भएको द्विपक्षीय वा बहुपक्षिय सन्धिमा वा सम्झौंतामा उल्लेख भए बमोजिम कर छुटको सुविधा पाउने व्यक्तिले सो सन्धि वा सम्झौताको अधीनमा रही प्राप्त गरेको रकम कर छुटको रकम हुनेछ ।
ऐनको दफा ५४ अनुसार कम्पनी तथा साझेदारी फर्मबाट वितरण गरिएको लाभांशमा अन्तिम रूपमा कर कट्टी गर्ने विधिद्वारा कर लगाइन्छ भने अन्य निकायले वितरण गरेमा कर नलाग्ने व्यवस्था छ । यस सम्बन्धी विस्तृत विवरण यसै निर्देशिकाको परिच्छेद १३ मा उल्लेख गरिएको छ ।
नियन्त्रित विदेशी निकायहरूद्वारा ऐनको दफा ६९ अनुसार वितरण हुने रकमहरू आय गणना गर्ने प्रयोजनको लागि समावेश गर्नु पर्दैन । यस सम्बन्धमा विस्तृत विवरण यसै निर्देशिकाको परिच्छेद १४ मा उल्लेख गरिएको छ । अन्तिम रूपमा कर कट्टी हुने ऐनको दफा ९२ अनुसारका भुक्तानीहरूमध्ये लगानीसँग सम्बन्धित भुक्तानी भए त्यस्तो भुक्तानीबाट प्राप्त भएको रकमलाई आयमा समावेश गर्नु पर्दैन । जस्तै, नेपाल स्रोत भएको भुक्तानीमा कर कट्टी गरी प्राप्त गरेको लाभांश रकमलाई ऐनको दफा ९२ अनुसार अन्तिम कर कट्टी गरी भुक्तानी गरिएको रकम भएको हुँदा यस्तो भुक्तानी रकमलाई आयमा समावेश गर्नु पर्दैन । यस सम्बन्धमा विस्तृत विवरण यसै निर्देशिकाको परिच्छेद १६ मा उल्लेख गरिएको छ ।
९(३)(ख) सो व्यक्तिले रोजगारी वा व्यवसायबाट आर्जन गर्ने आयको गणना गर्दा समावेश गरिने रकम ।
कुनै व्यक्तिको आय गणना गर्ने प्रयोजनको लागि समावेश गरिने रकमहरू दोहोरो नपर्ने गरी सो व्यक्तिले रोजगारी वा व्यवसायबाट आर्जन गर्ने आयको गणना गर्दा समावेश गरिने रकम लगानीको आयमा समावेश गर्नु पर्दैन । ऐनको दफा ७ अनुसार व्यवसायको आय गणना गर्दा समावेश गरिएको आयहरू र दफा ८ अनुसार रोजगारीको आय गणना गर्दा समावेश गरिएका आयहरूलाई लगानीको आय गणना गर्दा समावेश गर्नु पर्दैन । यस प्रकार लगानीको आय एक अवशिष्ट (Residual) आय हो जुन रोजगारी र व्यवसायबाट भएको आयको गणना पश्चात मात्र गणना वा परिभाषित गरिन्छ ।